
देवघाट(चितवन)– विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारी ८६ वर्षको उमेरमा पुत्र शोकमा पर्नु भएको छ । उहाँका एकमात्र छोरा ४२ वर्षीय सुवासको अप्रत्यासित रुपमा भएको निधनसँगै उहाँ शोकमा पर्नु भएको हो । मृतक सुवासको बैशाख १२ गते यहाँ अन्तिम संस्कार गरिएको छ ।
पूर्वस्वास्थ्य सहायक मन्त्री समेत रहनु भएको डा. अधिकारी २०४६ साल पूर्व लमजुङमा काँग्रेसको पर्यायका रुपमा परिचित हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्रको पुनः स्थापनापछि दुई पटक सांसद हुनु भएका उहाँ आफूभन्दा जुनियर रामबहादुर गुरुङ पटक पटक राज्यमन्त्री हुँदा पनि मन्त्री बन्न सक्नु भएन । पछि स्वास्थ्य सहायकमन्त्रीमा चित्त बुझाउन बाध्य हुनु भयो । त्यसपछि विस्तारै राजनीतिबाट पलायन हुनु भएका उहाँ यतिबेला विश्व हिन्दू महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उमेरले ८६ वर्ष पार गर्न लाग्नु भएका उहाँ उर्जाशील व्यक्तित्वका धनी हुनुहुन्छ । नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने उहाँको उदघोष र अभियान भने उस्तो सार्थक हुन सकेको छैन ।
यही क्रममा उहाँ बैशाख ११ गते साँझ औपचरिक रुपमा पुत्र शोकमा पर्नु भएको हो । उहाँका छोरा सुवास ४२ वर्षको उमेरमा हिजो चितवनको रामनगरको सडक किनारामा बेवारिसे अवस्थामा फेला परेपछि उपचारका लागि प्रहरीले अस्पतालमा पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको पहिचान खुलेपछि डा. अधिकारी सपरिवार चितवन पुगेर हिजो राती ८ बजे उनको पहिचान गर्नु भएको चितवन प्रहरीले जनाएकोछ ।
पारिवारिक स्रोतका अनुसार सुवास यसअघि पनि १,२, ३ दिनसम्म बिना सूचना घरबाट गायव हुने र घरमा आउने गर्दथे यो पटक गत शनिबार अर्थात वैशाख ५ गते उनी घर नजिकै रहेको मन्दिरमा सपरिवार पुजा गर्न गएको बेला पुजापछि हराएका थिए । तीन दिनसम्म उनी घरमा नफर्केपछि उनको खोजी कार्यका लागि तिब्रता दिन प्रहरीमा उजुर गरी सुरु गरिएको थियो । यही क्रममा सुवास त्यो अवस्थामा फेला परेका हुन् । सिसिटिभी क्यामेरामा उनी काठमाडौं सामाखुशीबाट माछापोखरीतर्फ जाने नगरबस चढेको देखिएको त्यसपछिको स्थिति पत्ता लाग्न नसकेको अवस्थामा हिजो वेवारिसे अवस्थामा यहाँ आई पुगेको पाइएको हो । उनी कसरी त्यहाँ पुगे भन्ने प्रष्ट हुन सकेको छैन ।
मृतकको आज विहान पोष्टमार्टम गरी आवश्यक कागजी प्रक्रिया पुरा गरी प्रहरीले शव परिवारजनलाई बुझाएको जनाएको छ । उनको आजै देवघाटमा अन्तिम संस्कार गरिएको छ ।
सुवासका दुई छोरा सुशान्त १४ वर्षका र निशान्त नौ वर्षका छन् । उनीहरू क्रमशः कक्षा– ९ र ३ मा अध्ययन गर्दछन् । दुवै छोराको ब्रतबन्ध गरिएको हुदा सुभासको चितामा उनीहरूले दागबत्ती दिएका थिए ।
सुवासको निधनको सो घट्नासँगै मृतकका बाबा डा. अधिकारीका अतिरिक्त आमा, दिदीहरू, दुई छोरा तथा श्रीमती सुनितासमेत शोकमा पर्नु भएको छ ।
प्रकाशित मिति २०८३ बैशाख १२, शनिबार २१:२० गते