
लिस्बन(पोर्चुगल)– यहाँ स्थित ‘लमजुङ समाज पोर्चुगल’को अध्यक्षमा देवी घिमिरे र महासचिवमा विश्वविनोद सर्वसम्मत रुपमा चयन हुनु भएको छ । समाज पोर्चुगलको बैशाख १३ गते अर्थात २६ अप्रिल २०२६ मा यहाँ भव्यताका साथ सम्पन्न भएको पाँचौँ ऐतिहासिक महाधिवेशनले घिमिरेद्वयलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
‘लमजुङ समाज पोर्चुगल’ यहाँ क्रियाशील नेपालीहरूको प्रतिष्ठित साझा संस्थाको रुपमा परिचित छ । समाजको पाँचौँ ऐतिहासिक महाधिवेशनले आगामी कार्यकाल (२०२६–२०२८) का लागि देवी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विमल राज पौडेल चयन हुनुभएको छ । उपाध्यक्षहरूमा कुमार घले, श्याम गुरुङ र राज गुरुङ निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा लक्ष्मी गुरुङ चयन हुनुभएको छ । संस्थाको महासचिव पदमा विश्व विनोद घिमिरे, सचिवमा खेम राज घले, कोषाध्यक्षमा प्रेम जंग गुरुङ र सह–कोषाध्यक्षमा अनिल गुरुङ चयन हुनुभएको छ ।
अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न राज कुमार गुरुङको संयोजकत्वमा सुभास पौडेल र शान्ता थापा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सोही समितिले नयाँ कार्यसमितिको अन्तिम नामावली घोषणा गरेको हो ।
नवनिर्वाचित अध्यक्ष देवी घिमिरेले निवर्तमान कार्यसमितिका कामहरूको प्रशंसा गर्दै आगामी दिनमा पोर्चुगलमा रहेका लमजुङबासीहरूलाई एकीकृत गरी उनीहरूको सुख–दुःखमा साथ दिने र संस्थालाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय यस समाजले युवा तथा खेलकुद संयोजकमा डिल बहादुर गुरुङ र सांस्कृतिक संयोजकमा मिलन राज गुरुङलाई जिम्मेवारी सुम्पेको छ । कार्यसमिति सदस्यहरूमा कृष्ण गुरुङ, बुद्धि माया गुरुङ, धन बहादुर गुरुङ, सरिता थापा, सपना रानाभाट र यम गुरुङ रहनुभएको नवनिर्वाचित महासचिव घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगतदेखि नै लमजुङ समाज पोर्चुगलले मौलिक संस्कृति संरक्षणका लागि ल्होसार र तीज जस्ता पर्वहरू भव्य रूपमा मनाउँदै आएको छ । साथै, लमजुङ घर भई पोर्चुगलमा विभिन्न कारणले समस्यामा परेका नेपालीहरूको आपतकालीन उद्धार र बिरामी तथा घाइतेहरूलाई आर्थिक सहयोग पु¥याउने मानवीय कार्यमा पनि संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ ।
महाधिवेशनमा निवर्तमान अध्यक्ष गम्भीर जङ्ग गुरुङ र संस्थाका सल्लाहकार लक्षिन घले लगायत पोर्चुगलस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८३ बैशाख १४, सोमबार २१:५४ गते