गोरखाबजार– गण्डकी प्रदेशको मौलिक संस्कृतिको एक उत्कृष्ठ विधाका रुपमा रहेको तर लोपोन्मुख ठाडोभाका यहाँ खु्ला प्रतियोगिता गरिएको छ । सो प्रतियोगितामा लमजुङ पहिलो र तेस्रो, आयोजक गोरखा दोस्रो बन्न सफल भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङसँग आवद्ध छ टिम सहित लमजुङबाट आठ टिमले भाग लिएका थिए । गोरखामा सात टिमले भाग लिएका थिए भने तनहुँ र कास्कीको सहभागिताको अपेक्षा गरेपछि सहभागी भने नआएको आयोजकले बताए ।
आयोजकका अनुसार लमजुङका मानसिंह दुरा र लीला दुराको टोली पहिलो भयो । मानसिंह दुरा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो प्रतियोगिता २०७७ मा पहिलो हुनु भएको थियो । यसैगरी, आयोजक गोरखा अजिरकोटकी लीलामाया तामाङ र दूधपोखरी– २ लमजुङका डम्बर घलेको टोली दोस्रो भयो ।
समय अभावको कारणले तेस्रो छुट्याउन नसकिएका कारण तेस्रो र चौथो हुने दुवै टिमलाई तेस्रो घोषणा गर्ने काम आयोजक, निर्णायक र सहभागीको सहमतिमा भएको थियो । ती दुवै स्थान ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपमहासचिव आशबहादुर विक र कार्यकारी सदस्य रमाना भण्डारी नेतृत्वको टोलीले प्राप्त गर्न सफल भयो । उहाँहरूलाई २०÷२० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पहिलो हुने टिमका लागि पुरस्कार राशि ८० हजार रुपैयाँ थियो भने दोस्रो पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको आयोजकको भनाइ छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् महानायक बुद्धिमान दुरा ‘धम्पु’ समापन कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँका साथ निर्णायक समितिका संयोजक अमर विरही गुरुङ,
आयोजक संस्थाका अध्यक्ष पृथ्वी गुरुङ, तथा आयोजक संस्थाका सल्लाहकार हरिमाया गुरुङ, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष एवम् ठाडोभाका महातारा सीतादेवी दुराले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रतियोगिता टिम लिएर ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी उदघाटन सत्रमा भाग लिन पुग्नु भएको थियो । उहाँका अनुसार ठाडोभाकाको प्रतियोगितामा एक टिममा महिला र पुरुषतर्फ गरी ३÷३ जनाले भाग लिनुु पर्ने हुन्छ ।
सो प्रतियोगिता ठाडोभाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाको आयोजनामा भएको हो । गोरखा जिल्लामा यसअघि सोही जिल्लाको सिराञ्चोकमा चार वर्ष अघि खुला ठाडोभाका प्रतियोगिता भएको छ ।
सो प्रतियोगिताको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले उदघाटन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ बैशाख १५, मंगलवार ०७:५३ गते