राइनासकोटा(लमजुङ)– गैर सरकारी संस्था महासंघको जिल्लास्तरीय १६ औं बार्षीक साधारण सभा सम्पन्न भएको छ । महासंघको गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहाडीको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा यहाँ बैशाख १४ गते सम्पन्न भएको हो ।
साधारण सभाको उदघाटन गर्दै प्रमुख अतिथि पहाडीले महासंघको केन्द्रले आफै कार्यक्रम र बजेट प्रदेश वा शाखा समितिलाई दिने गर्दैन, यसले संस्थाहरूका पक्षमा पैरवी हो भन्नुभयो । केन्द्रले संस्थाहरूका लागि डिजिटल तथा लेखा तालिम लगायतका क्षमता अभिवृद्धि कार्र्य गर्दछ उहाँले जानकारी दिनुभयो । कुनै कार्यक्रमका लागि सहयोग नगरेपनि अभियानका लागि भने सहयोग गर्छ उहाँले उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेश सरकारलाई गैसस महासंघको ‘सामाजिक सेवा ऐन’को मस्यौदा तयार गरेर बुझाएको जानकारी दिनुभयो । त्यो ऐन पारित भइआएमा थप सहज हुने बताउनु भयो । उहाँले राइनास नगरपालिकाको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नु हुँदै आफ्ना साथीहरूलाई यस क्षेत्रको भ्रमणमा पठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा गैसस गण्डकी प्रदेशका सदस्य डा. बुद्धि थापाले २०७२ सालको भूकम्प अघिको जस्तो गैससका लागि विदेशबाट सहयोग आउने क्रम रोकिएको बताउनु भयो । ‘फण्ड रेञ्ज’का लागि गर्न सकिने कार्यका बारेमा प्रकाश पार्नु हुँदै उहाँले हामीले नागरिक समाजको प्रतिनिधित्व गर्ने हो, उनीहरूका कुरा सरकार सामु पुर्याउने हो भन्नुभयो । हामीहरूले असल शासनका लागि कार्य गर्नु पर्नेमा जोड दिदै उहाँले त्यसका लागि हामीहरू आफैले असल काम गर्नु पर्ने हुन्छ भन्ने उदाहरण सहित प्रष्ट्याउनु भएको थियो ।
गैरसरकारी संस्था महासंघ गण्डकीका अर्का सदस्य एवम् लमजुङ इन्चार्ज सिताराम श्रेष्ठ(गोरखा)ले नेपालमा गैरसरकारी संस्था महासंघ सबैभन्दा ठूलो संस्था भएको बताउनु भयो । उहाँले मुलुकमा ३७ हजार गैरसरकारी संस्था छन् भनिन्छ । तीमध्ये धेरै एक पटक दर्ता भएर नवीकरण नभई गणनामा नगण्य रहेका धेरै संस्थाहरू भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नियमित नविकरण गर्ने गैर सरकारी संस्था मुलुकभर सात हजार हाराहारी छन्, तीमध्ये छ हजार तीन सय महासंघमा आवद्ध छन् ।’ यसबाट पनि नेपालको सबैभन्दा ठूलो संस्था गैसस महासंघ भएको सिद्ध हुन्छ भन्ने जानकारी दिनु भएका थियो ।
कार्यक्रममा गैसस महासंघ गोरखाका सचिव प्रमिला अधिकारीले गोरखा जिल्लामा र लमजुङको वस्तुस्थितिको तथ्यगत विश्लेषण प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी, गैसस महासंघ लमजुङका पूर्वअध्यक्ष तथा आरसिडीका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले सुशासन र क्षमता बृद्धिका लागि मिलेर काम गर्न सकिने बताउनु भयो । उहाँले गैससहरूको दर्ता सामाजिक ऐन २०३४ का आधारमा जिल्ला प्रशासन कार्यालयमा र समाज कल्याण ऐन र राष्ट्रिय निर्देशन ऐन २०५१ अन्तरगत दर्ता भएका छन् । ती संस्थाको प्रकृति फरक भएको जानकारी दिनुभयो ।
बोहराले लमजुङमा पछिल्लो पटक २०८२ सालको बैशाख २३ गते सम्पन्न पाँचौं अधिवेशनले सुशीला गुरुङको नेतृत्वमा गैससको जिल्ला समिति चयन भएको जानकारी दिनु हुँदै आजको अधिवेशनले गरेका निर्णयलाई अभिलेखिकरण गर्नु हुँदै जानकारी दिनु भएको थियो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले संस्थागत पहिचानका लागि पनि गतिविधि गर्न जरुरी छ भन्नुभयो । उहाँले आकर्षक कार्यक्रम ल्याउन सक्ने हो भने बजेटको अभाव हुन्छ भन्ने लाग्दैन भन्नुभयो । उहाँले केन्द्र र प्रदेश समितिले पनि अभिभावकत्व ग्रहण गर्न सक्नु पर्ने भन्दै जिल्लाको संस्थाका संरक्षक हुन सक्नु पर्छ भन्ने लाग्छ भन्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष, सुशीलचन्द्र अधिकारी, कोषाध्यक्ष हुमा गुरुङ, सदस्य विमला हिमालीलगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।
अपाङ्ग सरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले कार्यक्रम गरौं बजेटको खाँचो हुँदेन भन्ने उदाहरणसहित प्रष्ट्याउदै उर्जाशील धारणा व्यक्त गर्नु भएको थियो ।

तीन जना केन्द्रीय प्रतिनिधि छनौट :
सम्पन्न साधारण सभाले यही बैशाख ३० र ३१ गते हुने केन्द्रीय सभाका लागि तीनजना प्रतिनिधि छनौट गरेको छ । जसमा अध्यक्ष सुशीला गुरुङ संस्थागत प्रतिनिधिहरूमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी र अपाङ्ग संरक्षण समाजका सचिव एवम् महासंघका कार्यकारी सदस्य सिताराम बसेललाई चयन गरेको बोहराले बताउनु भयो ।
उहाँका अनुसार सो सभाले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आउँदो वर्षका लागि वार्षिक क्यालेण्ड तयार गर्ने, जिल्ला समितिका कुनै पदाधिकारी वा सदस्यले विधानको पालना नगरेमा त्यसका लागि आवश्यक कारवाही गर्न जिल्ला समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
उक्त अबसरमा ११ संस्थाले गैसस महासंघको सदस्यता नवीकरण गरेको जानकारी कोषाध्यक्ष हुमा गुरुङले दिनु भएको थियो । आयोजक सस्थाका अध्यक्ष सुशीला गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सदस्य तुला दनाईले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ बैशाख १५, मंगलवार २१:२२ गते