नयाँ वर्षमा घुम्ने संस्कृति बढदै गएको छ । नयाँ बर्षमा घुम्नको लागि धेरै पर्यटकहरू पोखरा पुग्दछन । पोखरा पर्यटनको राजधानी मानिन्छ । पोखरा जादा पर्यटकहरू घान्द्रुक गाउँमा पुग्न खोज्दछन । घान्द्रुक गाउँ पोखरादेखि ४२ कि.मि. उत्तरमा पर्दछ । घान्द्रुकमा पर्यटकहरूले प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा पाउछन । जुन कारणले पर्यटकले घान्द्रुक गाउँमा अलौकिक आनन्दको अनुभूति गर्दछन । घान्द्रुक गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । घान्द्रुक गाउँमा खासगरि गुरुङ संस्कृति र हिमालको अनुपम दृश्यमा रमाउन पर्यटकहरूले सक्दछन । घान्द्रुकबाट अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली जस्ता हिमश्रृखलाहरु नजिकबाट अवलोकन गर्न पाउदा पर्यटकहरू रमाउछन ।

अन्नपूर्ण हिमालको काखमा रहेको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त संग्रहालय पनि हो । जहाँ ढुङ्गाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन । घान्द्रुक गुरुङ संस्कृतिको एउटा धरोहर हो, यहाँका घरहरूको वास्तुकला अद्वितीय छ । ढुङ्गाले बनेका र स्लेटले छाएका परम्परागत घरहरूले गाउँलाई मौलिक रुप दिएको छ । सफा र चिटिक्क परेका ढुङ्गे गल्लीहरूमा हिँडदा पर्यटकहरूलाई बेग्लै आभास हुन्छ । घान्द्रुकमा पर्यटकहरूलाई हिमश्रृखला, चियावगान, मेश्रमबराहसँगै गाउँमा रहेको पुरानो गुरुङ सग्रहालय आकर्षणको केन्द्र बन्दछ । जहाँ गुरुङ जातिको ऐतिहासिक रहनसहन, प्रयोग गरिने सामग्रीहरू र वेशभूषाहरूको पर्यटकहरूले अवलोकन गर्न सक्दछन । साँझपख आमा समूहहरूले प्रस्तुत गर्ने परम्परागत सांस्कृतिक नाच घाँटु, सोरठीले पर्यटकहरूलाई गुरुङ संस्कृति नजिकबाट साक्षात्कार गराउँछ । घान्द्रुकमा प्राकृतिक सुन्दरता मात्र होइन, लोकजीवन, संस्कृति, अर्गानिक कृषि र महिलाहरूको आत्मनिर्भरता पनि पर्यटकहरूका लागि छुट्टै अनुभव हुन्छ ।

अन्नपूर्ण हिमश्रृखलाको काखमा फैलिएको घान्द्रुक गाउँ प्राकृतिक सौन्दर्यका लागि चर्चित छ । पर्यटकहरूलाई घरकै सदस्यझैँ सत्कार गर्ने गुरुङ परिवारहरूले घान्द्रुकलाई पर्यटनका लागि अनौठो र आत्मीय ठाउँ बनाएका छन । घान्द्रुक जादा पर्यटकहरूले गुरुङ संस्कृति र जीवनशैलीको समेत अध्ययन गर्न सक्दछन । घान्द्रुकमा परम्परागत घर, पोशाक, नाचगान र अतिथि सत्कारले पर्यटकहरू लोभिने गर्दछन । घान्द्रुक गाउँमा पर्यटकहरूलाई बस्न र खान समस्या हुँदैन । पर्यटकहरूले होटल अथवा होमस्टेमा ढिँडो, गुन्द्रुक, सिस्नो, सेलरोटी जस्ता परिकारको स्वाद लिन सक्छन । घान्द्रुकमा स्थानीय घरमै बसेर उनीहरूको दैनिक जीवनशैली अनुभव गर्न पाइने होमस्टे पर्यटकका लागि लोकप्रिय बनेको छ । कतिपय पर्यटक गाउँको वास्तविक जीवनसँग नजिक हुन केहिदिन होमस्टेमा बस्दछन । घान्द्रुक गाउँमा स्वदेशि भन्दा पनि विदेशी पर्यटकहरू धेरै पुग्दछन । घान्द्रुकमा पर्यटकहरूलाई हिमालको काखमा बसेको अनुभव हुन्छ । होमस्टेबाट बिहानै निस्कँदा चराका आवाजसँगै माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण हिमाल अवलोकन गर्न सक्दछन । घान्द्रुकको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृखलाको सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने गर्दछ ।

घान्द्रुक अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार पनि हो । पदयात्रामा रमाउने पर्यटकहरू घान्द्रुकबाट पदयात्रामा रमाउछन । घान्द्रुकबाट सुरु हुने पदयात्राले पर्यटकलाई हिमाली जीवन, जंगल र खोलाहरू पार गर्दै उच्च हिमाली क्षेत्रमा पु¥याउँछ । घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्दछ । यसले घान्द्रुकको पर्यटनलाई दिगो र व्यवस्थित बनाएको छ । फोहोर व्यवस्थापन, वन संरक्षण र स्थानीय समुदायको सहभागिताले घान्द्रुकको वातावरण स्वच्छ र सुरक्षित छ । घान्द्रुकका स्थानीय बासिन्दा अत्यन्तै आतिथ्यशील छन । उनीहरूको सरलता र आत्मीयताले घान्द्रुकमा जाने पर्यटकहरूलाई घरजस्तो अनुभव गराउँछ । घान्द्रुक पुग्ने पर्यटनका लागि ट्रेकिङका अलावा घान्द्रुकमा हाइकिङ, फोटोग्राफी, बर्ड वाचिङ जस्ता गतिविधिहरू पनि लोकप्रिय बनेको छ । घान्द्रुक प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र साहसिक अनुभवको संगम पनि हो । पर्यटकहरूले घान्द्रुकमा हिमालको सौदर्यता, गुरुङ संस्कृतिको आत्मीयता र प्रकृतिसँगको निकट सम्बन्धको अनुभव गर्न सक्छन ।

घान्द्रुकमा पर्यटकहरूले तौजीवराह, पोज नेबवराह, कोट डाँडा, गुम्बा, ङयोवराह ताल आदि अवललोकन गर्न सक्दछन । घान्द्रुकको प्रकृतिसँग जति रमाए पनि पर्यटकहरू अघाउँदैन । घान्द्रुकको स्वच्छ हावा, रमणीय वातावरण र गुरुङ जातीय भेसभुसाले पर्यटकहरू रमाउछन । घान्द्रुकमा मुख्य सात गाउँ छन । जहाँ ७० प्रतिशत गुरुङ जातिहरूको घर पर्दछ । कोट गाउँ, माझ गाउँ, ध्यागोयार गाउँ, अड्डादाइयार गाउँ, तल्लो गाउँ, डाँडागाउँ र गैरी गाउँ । गुरुङ भाषामा घान्द्रुकलाई कोंडनास भनिन्छ । कोंको अर्थ अग्लो, ढोको अर्थ बसोवास र नासको अर्थ गाउँ भन्ने बुझिन्छ । पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक पदयात्रा पर्यटनका लागि विश्व सामु प्रसिद्ध छ । अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्र्छे, अन्नपूर्ण आधारशिवीर घान्द्रुक गाउँ हुँदै जान सकिन्छ । घान्द्रुक—घोरेपानी पदयात्रा पनि विश्व पर्यटन माझा लोकप्रिय पदयात्रा मार्ग हो । अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल जोडने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी, वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक पुग्न सकिन्छ भने, घान्द्रुक, छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत पुग्न सकिन्छ ।

पदयात्रामा रमाउन खोज्ने पर्यटकहरू घान्द्रुकबाट घोडेपानी अर्थात पुनहिल पुग्न खोज्दछन । घान्द्रुकबाट सुरु हुने पदयात्रा केवल भौगोलिक दूरी पार गर्ने यात्रा मात्र हुदैन । पर्यटनको लागि त्यो मन, प्रकृति र अनुभूतिको एक अदभुत समागम हुन्छ । विशेषतः पुनहिल सम्मको पदमार्गले पर्यटकलाई नयाँ संवेदनशीलता र सौन्दर्यबोधसँग साक्षात्कार गराउँछ । पदयात्रामा उकालो लाग्दै जाँदा बाटो केवल ढुंगे सिँढी र गोरेटो मात्र रहँदैन त्यो क्रमशः एउटा जीवित चित्रजस्तै खुल्दै जान्छ । वनजंगलको हरियालीबीच जब लालीगुराँसका रङ्गीचङ्गी फूलहरू फक्रिएका देखिन्छन । लालीगुराँस फुल्ने समयमा त्यो दृश्यले यात्रालाई अझ सजीव बनाइदिन्छ । हिमाल र गुराँसकै कारण घोडेपानी अर्थात पुनहिल संसारभरी चिनिएको छ । प्रकृतिको सदाबहार सौन्दर्य, हिमश्रृखलाहरुको चुम्वकीय आकर्षण र स्थानीयको सहयोगी र सेवा प्रधान भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिदै गएको छ । घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । घोडेपानीमा जति पनि पूर्वाधारहरू निर्माण भएका छन् त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी छ ।
पदयात्रामा जाने पर्यटकहरूको आवास र खानाको लागि घोडेपानीमा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । पर्यटक आगमन बढदै गएपछि होटल व्यवसायीले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेका छन । पुनहिलबाट शान्त वातावरण र दर्जनौँ मनोरम हिमश्रृखलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा पर्यटकहरू रमाउछन् । बिहानमा झुल्कने सूर्यको उषाकिरणले पुनहिल अगाडि उभिएका सेताम्मे हिमालचुलीलाई मोतीझँै टल्काउँदा पुनहिल पुग्ने पर्यटक प्राकृतिक सौन्दर्यले मोहित हुन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोडने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । असोज– कार्तिक र चैत– वैशाख महिनामा घान्द्रुक र पुनहिल जानको लागि राम्रो मौसम मानिन्छ । पुस–माघमा हिउँ खेल्न र चैत–वैशाखमा पहाडभरी ढकमक्क फुल्ने गुराँस पुनहिल पुग्ने पर्यटकको लागि अर्को आकर्षण बन्दछ । पुनहिल पुगेपछि प्राकृतिक सौन्दर्यले मनमस्तिष्कमा दिगो छाप नपर्ने कमै पर्यटक भेटिन्छन् । पुनहिल पुगेका पर्यटक फेरि अर्कोपटक साथीहरूलाई लिएर घुम्न आउने गरेका छन ।

पर्यटनका लागि प्रसिद्ध अन्नपूर्ण वेस क्याम्प, मर्दी हिमाल र घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्दछन । भगवान शिवले अन्नको महत्व बुझेपछि आफ्नी पत्नी पार्वतीबाट अन्नको दान मागेको हुँदा पार्वतीको अर्को नाम अन्नपूर्ण रहन गएको हो । नेपालमा सबैभन्दा बढी पानी पर्ने लुम्ले यहीँ क्षेत्रमा पर्ने हुँदा आध्यात्मिक शक्तिमा विश्वास गर्ने आधार तय भएको छ । सर्वप्रथम सन १९५० को जुन ३ तारिखमा फ्रान्सेली पर्वतारोही मौरिस हरजोगको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि पदयात्राका लागि आउने युरोपेली, अमेरिकी पर्यटकको सख्या बर्षेनी बढ्दै गयो । पर्यटकको सुविधाका लागि घान्द्रुक गाउँमा सर्वप्रथम सन १९७० मा होटल खुलेको थियो । सन १९८६ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लागू गरी घान्द्रुक गाउँबाट पाइलट प्रोजेक्टका कार्यक्रम सुरु भएको थियो । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीय क्षेत्रलाई समेटेको अन्नपूर्ण सेञ्चुरी पदमार्गमा निर्माण भएको छ । पोखराको नजिक पर्ने भएकाले छोटो समयको पदयात्रा गर्ने पर्यटकहरू अहिले सेञ्चुरी पदमार्गको यात्रामा पुग्दछन ।
पर्यटकहरूले आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको श्रृखलामा पर्ने २० भन्दा बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु घान्द्रुकको खास विशेषता हो । तर पनि घान्द्रुकमा बढेको आकर्षण भने समुदायमा आधारित पर्यटनलाई दिनुपर्छ । नजिकैबाट देख्न सकिने हिमश्रृंखला, सूर्योदय, हिमालचुलीमा सूर्यको किरणले मुस्कुराएको आभास हुने दृश्य, सुन्दर युवतीको केशमा बनाइएको सिउँदो जस्तो चिटिक्कको कुदेका ढुङ्गाले छापिएका सिढीबाटो, नयाँ पुराना घरको समिश्रण, गुजुमुज्ज परेका होमस्टे, ढुंगाकै स्लेट छापिएका आँगन र एउटा बाटो पक्रेपछि सबैको आँगन पुग्न सकिने बनोट गुरुङ जातिको फरक संस्कृति, वनजंंंगल र बान्कि परेको खेतका गह्राहरू, मनोरम भूगोलको अवलोकन गर्न घान्द्रुक पुग्नैपर्ने गाउँ हो ।

पोखराबाट घान्दुकतर्फको यात्रा रोमाञ्च हुन्छ । हेम्जा, नौडाँडा, लुम्ले र काँडे जस्ता स्थानहरू यस यात्रालाई बहुआयामिक बनाउने प्रमुख बिन्दुहरू हुन । यात्रामा यी स्थानहरूले प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र सांस्कृतिक वातावरणलाई एकै सूत्रमा बाँध्दै पर्यटकलाई क्रमशः आकर्षित गरिरहेको हुन्छ । सबैभन्दा पहिले, हेम्जाबाट यात्रा अघि बढदा शहरी कोलाहल विस्तारै ग्रामीण शान्ततामा रुपान्तरित हुँदै जान्छ । यहाँका हरियाली फाँट, माछापुच्छ्रे हिमालको टाढाबाट देखिने छायाँ, र सेती नदीको बहावले पर्यटकहरूको मनलाई क्रमशः प्रकृतिसँग जोडन थाल्छ । त्यसपछि आउने नौडाँडा भनेको दृश्यावलोकनका लागि अत्यन्तै महत्वपूर्ण स्थल हो । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमश्रृंखलाको मनोरम दृश्य देखिन्छ । लुम्ले र काँडे क्षेत्रमा पुग्दा प्रकृतिको रुप अझ घना र जीवन्त बन्छ । यहाँको हरियो वनस्पति, चिसो हावा र उकालो–ओरालो बाटोले यात्रामा एउटा साहसिक स्वाद थपिदिन्छ । विशेषगरी नाउँडाँडाबाट देखिने हिमश्रृंखला र तल फैलिएको पोखरा उपत्यकाको दृश्यले पर्यटकलाई केही समय रोकिन बाध्य बनाउँछ । जब नयाँपुलदेखि घान्दु्रकतर्फको यात्रा सुरु हुन्छ, तब यात्राको स्वरुप अझै गहिरो र रोमाञ्चक बन्छ । घान्दु्रक पुग्दा अन्नपूर्ण हिमालको काखमा बसेको गाउँले दिने आत्मीयता र शान्तिले सम्पूर्ण यात्रालाई सार्थक बनाउँछ ।
घान्द्रुक गाउँ समुन्द्री सतहबाट २०१२ मिटरको उचाइमा पर्दछ । घान्द्रुक आफैंमा अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल र हिमालचुलीको काख हो । पर्यटकीय चहलपहल बढे पछि घान्द्रुकको मौलिक पहिचान गुम्न थालेको छ । ढुंगैढुंगाले छाएको घर भएकाले अझै पनि घान्द्रुकलाई ढुंगेनी गाउँ नामले चिनिन्छ । तर, घान्द्रुक गाउँ पहिला जस्तो छैन । केही वर्षयता होटल तथा रेस्टुरेन्टका लागि सिमेन्ट, रड र इँटाको प्रयोगबाट ठूला भवन बन्दा गाउँको मौलिकता हराउँदै गइरहेको छ । गाउँको जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप भने खलबलिएको छ । पर्यटकको आवतजावत बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । अहिले घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन भने पैँतीस वटा घरबास छन । पर्यटन व्यवसायमा अर्बौको लगानी छ । सयौँले रोजगारी पाएका छन । भारतीय, चिनियाँदेखि युरोप, अमेरिकासम्मका पर्यटकहरू घान्द्रुकमा पुग्ने गरेका छन । तर घान्द्रुक गाउँको मौलिक पहिचान हराउदै जाने हो भने पर्यटकहरू के हेर्नका लागि घान्द्रुक जान्छन ? यो कुरा घान्द्रुक बासीले बुझन पर्ने भएको छ ।

घान्द्रुक कसरी पुग्ने ?
पोखरा–बागलुङ राजमार्गको ह्याम्जा, सुइखेत, नाउडाँडा, काँडे, लुम्ले, चन्द्रकोट हुदै नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै घान्द्रुक पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको ग्रामीण पर्यटनका क्षेत्रमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ बैशाख १६, बुधबार ०८:३८ गते