चुनाव अघि टिकट बाड्नेलाई कारबाही : रास्वपा

चुनाव अघि टिकट बाड्नेलाई कारबाही : रास्वपा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख १६ गते बिहिबार ०८:३०

‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास भएको स्मरण गर्दै ‘अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन, यो आवश्यक सुधारको लागि हो, यो कदम कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो ।’ रविले भन्नुभयो ।

मालिक बन्न खोज्नेको लागि रास्वपा हैन, यो दल सेवक र सहजकर्ताहरूको लागि हो : सभापति रवि

काठमाडौं– चुनाव आउनु अघि नै कसैलाई पनि टिकट दिने प्रतिबद्धता व्यक्त नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । पार्टी संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन वैशाख १६ गते दिनु भएको हो ।
‘आउँदो निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास हुँदैछ । तसर्थ, कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै पनि प्रतिबद्धता नगर्न निर्देशन छ’ रास्वपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ । उहाँका अनुसार कतै त्यस्तो गलत अभ्यास भेटिए कारबाहीको भागिदार हुनुपर्ने चेतावनी पनि दिएको छ ।
रास्वपाका प्रवक्ता झाले रास्वपाको सबै सांसदहरूको लेटरहेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन दिइएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न पनि रास्वपाले निर्देशन दिएको छ । ‘प्रवक्ता झाले भन्नुभयो, ‘धेरै कुराहरू सिक्न बाँकी छ तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ ।’
सभापति रवि लामिछाने संसदीय दल बैठकमा ः
रास्वपाका सभापति रवि लामिछानले संसदीय दलको अनौपचारिक छलफलमा सहभागी हुनु भएको छ । उहाँले आफ्नो दलबाट विजयी सांसदहरूलाई १२ वटा निर्देशन दिनु भएको छ । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकमा सभापति रविले सरकारले सिफारिस गरेको पाँच अध्यादेश, सुकुम्बासी बस्तीमा डोजर चलाइएको र सांसदहरूको भूमिकालगायतका विषयमा निर्देशन दिनु भएको हो ।
सभापति रविको निर्देशन सारसंक्षेपमा :
१) सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिव सहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ ।
२) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ । यो अबको महत्त्वपूर्ण प्राथमिकता हो ।
३) मालिक बन्न खोज्नेको लागि रास्वपा हैन, यो दल सेवक र सहजकर्ताहरूको लागि हो ।
४) हेल्लो सरकारलाई अझै बढी प्रभावकारी बनाउने र गुनासोबारे हुँदै गरेको काम कारवाहीबारे अवस्था ट्रयाक गर्न मिल्ने हुने गरि काम हुँदैछ ।
५) सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो तर त्यो क्रममा आफै कानुन बन्न खोज्ने हैन ।
६) अन्तर्जातीय विवाहको बहानामा समाजमा हुदै आएको विभेद र दुर्घटना रोक्न आवश्यक छ, यसको लागि पहल गर्न निर्देशन । तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा नबिर्सनु ।
७) खाडी द्वन्द्वले बजार मुल्यमा परेको असर वारे सरकार जानकार छ, ध्यान पुगेको छ । हामी गम्भीर हुँदै काम गर्दैछौं ।
८) संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपूर्वक लाग्न सबैलाई अनुरोध छ ।
९) जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ । लगत संकलन र व्यवस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ । कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ । ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो । देशैभरी रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र काम गरिने छ । तर यो क्रममा सरकारले कसैलाई घरबारविहीन बनाउने छैन। सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ । सरकारले कोही सुकुम्बासीहरूलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ । तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर भोट बैंकको राजनीति गर्नु गलत हो ।
१०) अध्यादेशको बारेमा– बिगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिँदैन । ‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास भएको स्मरण गर्दै ‘अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन, यो आवश्यक सुधारको लागि हो’ भन्नुभयो । उहाँले भन्नुभयो, ‘यो कदम कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो ।’
सभापति रविले कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति रास्वपा कति गम्भीर छ भन्ने सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाएको भन्दै आशंका नगर्न आग्रह गर्नुभयो । हामी त्यो सच्याउन चाहन्थ्यौं, इमानदार भएर बढौं ।
११) कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन । धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन । जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ ।
१२) नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असम्जस वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधै उपलब्ध छु । सधैं बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ । पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ ।
अर्को एक प्रसङ्गमा सभापति रवि लामिछानेले सरकारले कुनै पनि सुकुम्बासीलाई घरबार विहीन नबनाउने बताउनु भएको छ । उहाँले त्यो विषयमा अनावश्यक राजनीतिकरण नगर्नसमेत आग्रह गर्नु भएको छ । उहाँले मालिक बन्न खोज्नेका लागि रास्वपा होइन, सेवकका लागि मात्र हो भन्ने पुनः दोहोर्याउनु भएको छ ।

प्रकाशित मिति २०८३ बैशाख १७, बिहीबार ०८:३० गते
हजुरको प्रतिक्रिया