
काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरेको प्रेस विज्ञप्ति जारी गर्दै निगमले वैशाख १७ गते जनाएको हो ।
निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमका अनुसार अब ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
एलपी ग्यासको मूल्य बढेसँगै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढ्ने भएको आंकलन गरिएको छ । मुलुकमा उत्पादिन विद्युतको खपतका लागि पनि विद्युतीय चुल्होको प्रयोग जरुरी देखिन्छ ।
यसैबीच, निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जनाएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।
प्रकाशित मिति २०८३ बैशाख १८, शुक्रबार ०६:२९ गते