आज २५७० औं बुद्धजयन्ती : विविध कार्यक्रमका साथ मनाइँदै

आज २५७० औं बुद्धजयन्ती : विविध कार्यक्रमका साथ मनाइँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख १७ गते शुक्रबार ०७:२१

बैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म वोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नु भएको महत्वपूर्ण तीनवटा संयोग परेकोले पनि बैशाख पूर्णिमाको अत्यन्तै महत्व भएको हो ।

बुद्धको जन्म इशापूर्व ५६३ मा नेपालको लुम्बिनीमा भएको थियो ।

बेसीशहर– २५७० औं बुद्धजयन्ती आज विश्वभर विविध कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी छ । सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण दिवस त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई बुद्धजयन्ती मनाउने गरिन्छ । यो वर्ष वैशाख १८ गते यो पर्व परेको छ ।
संयुक्त राष्ट्र संघले समेत वैशाख पूर्णिमा बुद्ध जयन्तीका दिन शान्ति दिवसरुपमा मनाउन बिदा दिएर बुद्ध जयन्तीको गरिमा बढाइदिएको छ । यस पर्वलाई विश्वभरिका शान्तिप्रेमीले विशेष महत्व दिएर बुद्धको गुण स्मरण गर्ने पर्वको रुपमा परापूर्वकालदेखि मनाउँदै आएका छन् ।
यसै सन्दर्भमा धर्मोदय सभा लमजुङले आज यहाँ विशेष कार्यक्रमको आयोजना गरेको छ । घोषित कार्यक्रम अनुसार अहिले विहान चण्डिडाँडा स्थित गुम्बा र तामाङ गुम्बा क्याम्पस रोडमा पुजा चलिरहेको छ ।
विहान ११ बजे मनाङे चौताराबाट शान्ति र्यालीको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष भरत गुरुङले जनाकारी दिनु भयो । उहाँका अनुसार बेसीशहर बजारको मुख्य सडक हुँदै सेरा चोकमा पुगेर भित्री बाटो हुँदै शान्ति टोल स्थित तमू आमा तथा बाबा भवनमा प्रवचन लगायतको मञ्चको कार्यक्रम हुनेछ ।
सो अवसरमा त्रिपिटकको प्रदर्शन, साँझ बुद्ध दर्शनमा आधारित चलचित्रको प्रदर्शन, लामाहरूको प्रवचन आदि गरिने छ । सो कार्यक्रमका लागि बेसीशहरमा रहेका सधै धार्मिक एवम् जातीय संघसंस्था, जिल्लाका राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको उहाँको भनाइ छ ।
विश्वको सबैतिर अरबौंको संख्यामा रहेका बौद्धमार्गीहरुले व्यापक रुपमा यो पूर्णिमाका दिन बुद्ध जयन्ती अतन्तै श्रद्धाभावले मान्दछन् र गौतम बुद्ध र उहाँका ज्ञानको चर्चा परिचर्चा गर्छन् । विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदुत गौतम बुद्धलाई सम्झेर श्रद्धापूर्वक नमन गर्दछन् ।
बुद्ध जयन्तीलाई बैशाख पूर्णिमा पनि भनिन्छ । यस दिन बौद्ध धर्मवलम्बीहरूले मान्दै आइरहेको बुद्ध जयन्तीको ठूलो महत्व छ । बैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म वोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नु भएको महत्वपूर्ण तीनवटा संयोग परेकोले पनि बैशाख पूर्णिमाको अत्यन्तै महत्व भएको हो ।
विभिन्न कार्यक्रम गरेर भव्यरुपमा बुद्ध जयन्ती मनाइन्छ । यसमा देशी तथा विदेशी बौद्धमार्गीहरू सम्मिलित भई श्रद्धापूर्वक बुद्धजयन्ती मनाइन्छ ।
नेपालमा देशभरि रहेका चैत्य स्तुप, गुम्बा र विहारहरुमा बुद्धको पुजा गरिन्छ । साथै व्यापक रुपमा विभिन्न कार्यक्रमहरू गरेर विश्व शान्तिको कामना पनि गरिन्छ । भगवान बुद्धका मूर्ति भएका ठाउँमा मेला पनि लाग्छ । गौतम बुद्धका जन्म भएको स्थान नेपालको लुम्बिनीमा ठूलो मेला लाग्छ ।
बौद्ध झण्डामा भएका पाँचथरी रङ्ग पञ्चतत्व आकाश जल, पृथ्वी अग्नि र हावालाई लिईएको छ । त्यस्तै निलो सेतो, पहेंलो गेरु र रातो रङ्ग भएको बौद्ध झण्डा पञ्चबुद्धको प्रतिकको रुपमा बौद्धधर्ममा मानिन्छ । विश्व ब्रहाण्ड चराचर जीवजगतमा यिनै पाँच तत्व नै व्याप्त भइरहेको छ । संसारमा जति पनि प्राणीहरु छन् ती सबै पञ्चतत्ववाटै श्रृष्टि भएर त्यसैमा विलिन भई जाने गर्दछ ।
त्यसैले प्राणी मात्रको जीवनचक्रमा जन्म र मृत्यु भइरहने हो । भगवान गौतम बुद्धले मानिसहरुको दुःख हुनु, जन्ममृत्युको चक्रमा परिरहनु र त्यसको उद्धारका लागि सबैले बुझ्ने गरी विभिन्न किसिमको ज्ञान दिनु भएको छ । यो संसारमा मानिसहरु भौतिक सुख सुविधाले सम्पन्न हुनु र गरिब हुनाले माग सुख र दुःख हुने होइन । वास्तवमा मानिसहरुमा भएका दुषित चित्रले गर्दा नै दुःख हुने हो । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारले नै मानिसहरुलाई दुःख भइरहने हो ।
पञ्चशिल र अष्टाङ्गशील जस्ता अत्यन्तै महत्वपूर्ण लोककल्याणका लागि ज्ञान दिनु भएको छ । भगवान गौतम बुद्धले दिनु भएको मार्गमा आगाडी बढ्दै विश्वशान्तिको कामना गर्नु नै गौतम बुद्धले दिनु भएको सार्थक हुने छ ।
यहि चित्तको विकारले गर्दा नै मानिसहरू जन्म भइरहनु पर्ने अनि मरिरहनु पर्ने हो । यसरी जन्म र मृत्युको दुःखको चक्रमा मानिसहरू अल्झिरहन्छन् । मानिसहरू जन्मिनु पनि दुःख, विरामी हुनु पनि दुःख, वृद्ध हुनु दुःख, आफ्ना प्रियजनहरूसँग छुट्टिएर बस्नु पर्ने पनि दुःख, मन नपर्नेहरूसँग बस्नु पर्ने पनि दुःख अनि अन्तिममा मर्नु पर्ने पनि दुःख । यिनै सम्पूर्ण दुःखको वास्तविकताबाट पार पाउन नै सजिलो मार्ग अष्टाङ् मार्ग हो भने भगवान गौतम बुद्धले बाटो देखाउनु भएको छ ।
त्यस्तै, देशभरका विभिन्न गुम्बा, चैत्य, विहार, स्तुपालगाययतका ठाउँमा बुद्धको पूजा तथा दीप प्रज्वलन, प्रवचनजस्ता कार्यक्रम हुने गर्छन् ।
बुद्धको जन्म इशापूर्व ५६३ मा नेपालको लुम्बिनीमा भएको थियो ।

प्रकाशित मिति २०८३ बैशाख १८, शुक्रबार ०७:२१ गते
हजुरको प्रतिक्रिया