
जलजला(रोल्पा)– रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप वैशाख १७ गते दिउँसो दुर्घटना हुँदा भारी संख्यामा मानिसहरूको निधन हुन गएको प्रहरीले जनाएको छ ।
भौगोलिक विकटताका कारण शव संकलन गरी घटनास्थल नजिकै राखिएको छ । उद्धार कार्यमा हेलिकप्टर समेत प्रयोग गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै शवको संकलन भइसकेको जानकारी दिँदै उनले उद्धार कार्य सकिए पश्चात् आज नै सबैको पहिचान गरी परिवारको जिम्मा दिइने छ ।’
आज बिहानैबाट सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित भइसकेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार आज शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम सुरु हुने छ । उहाँले भन्नुभयो, ‘आज बिहानैदेखि तीनै तहका सुरक्षाकर्मी परिचालन गरेर उद्धार कार्य अघि बढाइएको छ ।’
सो दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । सबै शव सडकसम्म ल्याएपछि मात्र पहिचान प्रक्रिया सहज हुने प्रजिअ क्षेत्रीले बताउनुभयो ।
रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै रुकुम पूर्व अस्पतालबाट बाहिर रिफर गरिएको छ ।
खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताउनुभयो । उहाँका अनुसार जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका– १ सल्यापको सडकबाट लु १ ज ४१६७ नम्बरको जिप झन्डै आठ सय मिटरतल खसेको थियो ।
उहाँले भन्नुभयो, ‘रूकुम पूर्वको सिस्ने गाउँपालिका– ५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको छ । बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार उनी उछिट्टिएर घाइते अवस्थामा फेला परेका हुन् । उहाँले भन्नुभयो, ‘दुर्घटनामा परेको जिप सिस्ने गाउँपालिका– ५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए ।’
दुर्घटनास्थल अत्यन्तै अप्ठ्यारो भएकाले शवहरू सडकसम्म ल्याउन कठिन भइरहेको छ । हालसम्म ३ वटा शव मात्रै सडकमा ल्याइएको छ भने अन्यको उद्धार कार्य जारी रहेको प्रहरी भनाइ छ ।
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू वैशाख पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए । उहाँले भन्नुभयो, ‘सो जिप दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु, १ जना घाइते अवस्थामा उद्धारको क्रममा फेला परेका थिए ।’
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको डिएसपी विश्वकर्माले जानकारी दिनु भयो ।
छानबिन गर्न समिति गठन :
यसैबीच, गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका– १ सल्यापमा हिजो भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सचिवस्तरको निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
सो समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहनुभएको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले बताउनु भयो ।
उहाँका अनुसार समितिलाई घटनाको सत्य तथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । उहाँले भन्नुभयो, ‘समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ ।’
प्रकाशित मिति २०८३ बैशाख १८, शुक्रबार ०९:३९ गते