
बन्दीपुर(तनहुँ)– गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले होमस्टे व्यवसाय मात्र होइन, गाउँ फर्किने जनशक्ति निर्माण गर्ने महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ । उहाँ आयोजना भएको दुई दिने होमस्टे पर्यटन मार्टको उद्घाटन गर्दै उहाँले बैशाख १८ गते त्यस्तो बताउनु भएको हो ।
मन्त्री रिमालको दृष्टिमा होमस्टे केवल व्यवसाय मात्र होइन, गाउँ फर्किने जनशक्ति निर्माण गर्ने महत्वपूर्ण माध्यम हो भन्नुहुँदै यसले शहरतर्फ पलायन भइरहेको युवा जनशक्तिलाई गाउँमै अवसर दिएर रोक्न र फर्काउन सक्ने बताउनुभयो । साथै, बाँझो जमिन उपयोग गर्दै कृषि र पर्यटनलाई जोडेर गाउँलाई हराभरा र आत्मनिर्भर बनाउन सकिने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री रिमालले होमस्टेले गाउँको आर्थिक अवस्था परिवर्तन गर्न थालेको बताउनु भयो । उहाँले यो अभियानलाई अझ प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकार एक्लैले मात्र सबै सम्भव हुँदैन, त्यसैले स्थानीयस्तरमा रोजगारी सिर्जना, सेवा सुधार, प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक छ उहाँले भन्नुभयो । मन्त्री रिमालले यसप्रकार होमस्टेले आर्थिक सुधारसँगै सामाजिक पुनर्जागरणमा समेत योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
ग्रामीण पर्यटनको विशेषतामा प्रकाश पार्दै उहाँले भन्नुभयो ‘स्थानीयपन जोगाउनुु, पाहुनालाई आफ्नै संस्कृति देखाउनु र आफ्नै उत्पादन खुवाउनु हो, यसमा थप उत्साहका साथ लाग्नु हुनेछ ।’
होमस्टे मार्टमा गण्डकी प्रदेश भर विभन्नि जिल्लामा सञ्चालन भएका २९ वटा होमस्टे र १ वटा फार्मस्टे गरी कुल ३० वटा स्टल राखिएको थियो ।
लमजुङको पुरानकोट र काउलेपानी होमस्टेको प्रदर्शनी :
उक्त कार्यक्रममा लमजुङको पुरानकोट र काउलेपानी होमस्टेको समेत प्रदर्शनी भएको थियो । पुरानकोट सामुदायिक होमस्टेकी अध्यक्ष कन्याकाशी गुरूङले आफ्नो स्टलमा राखेका परिकारहरूबारे जानकारी दिदै भन्नुभयो, ‘हामीले बेच्ने भनेको खाना मात्र होइन, हाम्रो जीवनशैली हो ।’ ग्रामीण जीवनशैली र संस्कृतिको सम्मान गर्छ र नयाँ अनुभूति गर्न सक्ने उहाँको भनाइ छ । उहाँ होमस्टेमा बस्न आउने ग्राहक नभएर पाहुनाको खोजीमा हुनुहुन्थ्यो ।
काउलेपानी होमस्टे सञ्चालक समितिकी उपाध्यक्ष तिलमाया गुरुङले आफ्नो स्थानीय गाउँका विभिन्न उत्पादन नमूनाका लागि ल्याएको हो हिजो माग्नु हुँदा दिएनौं, आज कसैले किनेमा बेच्नु पर्ला भन्नुभयो । उहाँका अनुसार मार्सी चालम, कोलो बोडी, कोदोको पिठो, सिस्नोको धुलो, स्थानीय रक्सी, मायाको चिनो, मकैको च्याख्ला र पिठो आदि ल्याएका छौं ।
यसैगरी, पुरानकोट सामुदायिक होमस्टेकी अध्यक्ष कन्याकाशी गुरुङले प्रचार प्रसारको राम्रो काम भयो, खुशी लागेको छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘कति कुरा सिक्ने मौका समेत पायौं ।’ उहाँका अनुसार स्थानीय रक्सी २८ बोतल ल्याएको थियो, हिजै सकियो । कसरी विक्री गर्नुभयो ? भन्ने जिज्ञासामा एक लिटरको दुई सय रुपैयाँमा दिएको हो उहाँले जानकारी दिनुभयो । सो टोलीमा उपाध्यक्ष ओममाया गुरुङ र सचिव खुन्दुरी गुरुङसमेत रहेको उहाँले बताउनु भयो ।
बन्दिपुरको पुरानो बजार परम्परागत उत्सवमा रूपान्तरित भएको छ । जहाँ थरीथरीका संस्कृति एकै थलोमा देखिएको छ । सो मेलामा परम्परागत पोशाकमा सजिएका मानिसहरूको समूहले थरीथरी बाजागाजा बजाए । कतिले गीत गाए । कति नाचे र रमाउने कामसमेत गरे ।
बन्दिपुरमा आयोजना गरिएको यो एक प्रदर्शन मात्र तथा पाहुनाको खोजी मात्र नभई होमस्टेका सुधार योजना र एक अर्कासँग सिक्ने अवसर समेत छ । पुरानो बजारको छेउछाउमा राखिएका साना स्टलहरूमा गण्डकी प्रदेशका १० जिल्लाबाट आएका होमस्टे सञ्चालकहरू सहभागी भएका छन् ।
ब्रोसर र पम्प्लेटका पाना पल्टाउँदै पर्यटक र पर्यटन व्यवसायी यी गाउँहरूमा जाने र पर्यटक पठाउने योजना बुन्दै थिए । आउजाउ गर्न लाग्ने समय र बाटोका रूट सोधिरहेका देखिन्थे । गण्डकी प्रदेशभरका २९ होमस्टे र एउटा फार्मस्टे गरी ३० वटा स्टलमा गाउँलेहरूले आफ्नो परिचय बोकेका ब्रोसर र पम्प्लेटहरू पनि सँगै ल्याएका छन् ।
विश्व पर्यटनको बदलिँदो प्रवृत्तितर्फ ध्यान खिच्छन् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले भन्नुभयो । उहाँका अनुसार अहिलेका यात्रू केवल हेर्न होइन, बुझ्न र जोडिन चाहन्छ ।
उहाँले भन्नुभयो, ‘नयाँ अनुभूति गर्ने र समुदायसँग इन्गेज हुने ट्रेन्ड विश्वभर बढेको छ, यसका लागि पर्यटन चेतनाको विस्तार, खोज र अभ्यासलाई तीव्रता दिनुपर्छ ।’
‘होमस्टे मार्ट’ गाउँका कुरा गाउँमै गर्न बन्दिपुर रोजिएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने बताउनु भयो । उहाँका अनुसार सबै कुरा पोखरामै केन्द्रित हुनु पर्दैन, यसपटक हामी होमस्टे मार्ट लिएर बन्दिपुर आएका हौं । उहाँले भन्नुभयो, ‘होमस्टे मार्टलाई पोखराबाट बन्दिपुर स्थानान्तरण मात्र नभएर विकेन्द्रिकरण गरेको, पर्यटनलाई विकेन्द्रित गर्ने र गाउँ गाउँसम्म पुर्याउने लक्ष्य नेपाल पर्यटन बोर्डले लिएको छ ।’
होमस्टे सञ्चालक समितिका उपाध्यक्ष रिमबहादुर कार्कीले भन्नुभयो, ‘होटलले सुविधा दिन्छ । तर हामीले दिने अनुभव फरक हुन्छ । त्यो ‘फरक’ के हो भने— एकै घरमा बसेर खाना खानु, अगेनामा आगो ताप्दै गफ गर्नु, बिहानै चराचुरूङ्गीका आवाजसँगै ब्युँझिनु आदि ।’ उहाँले थप भन्नुभयो, ‘बाल्यकाल, हजुरबुबाको घर, वा बिर्सिँदै गएको गाउँ। विदेशीहरूका लागि भने, यो एउटा नयाँ संसार हो ।’
‘पर्यटन भनेको केवल सुविधा होइन, हाम्रो संस्कृति पनि हो ।’ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीकी अध्यक्ष शोभा सापकोटाले भन्नुभयो । उनका अनुसार गण्डकीका होमस्टेहरूले यही कुरा प्रमाणित गरेका छन्—स्थानीयता नै सबैभन्दा ठूलो आकर्षण हुन सक्छ ।
मेलाको समापन कार्यक्रम आज १९ गते हुने भएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८३ बैशाख १९, शनिबार १०:५० गते