ठाडोभाकाका दुई कार्यक्रम : ठाडोभाका तीन दिवसीय मेला र संरक्षकको रथारोहण कार्यक्रमको समिक्षा सम्पन्न

ठाडोभाकाका दुई कार्यक्रम : ठाडोभाका तीन दिवसीय मेला र संरक्षकको रथारोहण कार्यक्रमको समिक्षा सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख २१ गते मङ्गलबार १०:४६

आज अनुशासनहीन हुँदै गएको समाजमा असल आमा– बाबुको छनौट र सम्मान सजिलो काम हो ? भन्ने प्रश्न गर्दै तर यस्तो काम पनि हुन सकेको छ, हामीले गरेका छौं, अधिकारीले गर्वका साथ भन्नुभयो । ‘त्यसैले कसै पनि दिल साँघुरो बनाउन र विचलित हुन हुन्न जरुरी छैन ।’ उहाँको कथन थियो ।

कसैेले पनि दिल साँघुरो बनाउन र विचलित हुन हुन्न : सल्लाहकार अधिकारी

पैह्रे(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले पछिल्लो महिनामा सम्पन्न गरेका दुई कार्यक्रमको एक साथ समिक्षा गरिएको छ । गत चैत २०, २१ र २२ गतेका दिनमा बडागाउँमा आयोजना भएको तीन दिवसीय ठाडोभाका मेला तथा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को बेसीशहरमा बैशाख ७ गते गरिएको रथारोहण तथा अभिनन्दन, बैशाख ११ र १२ गते गोरखामा सम्पन्न भएको ठाडोभाका प्रतियोगितामा सहभागितासहितका कार्यक्रमको समिक्षा एक साथ बैशाख २१ गते यहाँ गरिएको हो ।
यहाँ स्थित नमूना तमू ह्यूला समाजको सभाहलमा आयोजना गरिएको समिक्षा कार्यक्रम जिल्ला कार्यसमिति तथा सल्लाहकार समितिको संयुक्त बैठक बसेको हो । समिक्षा बैठकमा सहभागी सल्लाहरकाहरू, पदाधिकारीहरू तथा सदस्यहरूले खुलेर ती कार्यक्रमका तयारी र सञ्चालनका क्रममा देखिएका सवल र दुर्बल पक्षका बारेमा खुलेर आआफ्ना धारणा राखेका थिए ।
ती धारणा सुनिसकेपछि प्रमुख सल्लाहकार दामोदर अधिकारीले हामी प्रतिष्ठानमा आवद्ध कसैेले दिल साँघुरो बनाउन र विचलित हुन हुन्न भन्ने सुझाव राख्नु भयो । उहाँले अब मञ्चमा सभाको अध्यक्ष र प्रमुख आमन्त्रित व्यक्तित्व दुई जनालाई मात्र राखेर कार्यक्रम गर्ने परिपाटीको विकास गर्नु पर्ने सुझाव दिनुभयो ।
उहाँले विकास दुई प्रकारका हुन्छन् भन्नुहुँदै पहिलो शरिरका लागि दोस्रो शरीर भित्रको ‘म’ भन्ने तत्वका लागि विकास गरिन्छ । शरिरको विकास भन्दा म भन्ने तत्वको विकासमा ध्यान दिन जरुरी छ– जो हामीले गरिरहेका छौं । यो हाम्रो पहिचानसँग जोडिएको विषय पनि हो, हाम्रो समाज, जिल्ला, प्रदेश र सिंगो देशको पहिचान जोगाउने काम हामीले गरेका छौं । बिर्सिन लागेको ठाडोभाका, नयाँ पुस्ताले नाम नै नजानेको बाघचाल, बिर्सदै गएको पात बजाउने कला बचाउने प्रयास जस्ता कार्यक्रमलाई कम आँक्न मिल्दैन उहाँले भन्नुभयो ।
आफ्नो संक्षिप्त मन्तव्यमा उहाँले आज अनुशासनहीन हुँदै गएको समाजमा असल आमा– बाबुको छनौट र सम्मान सजिलो काम हो ? भन्ने प्रश्न गर्दै तर यस्तो काम पनि हुन सकेको छ, हामीले गरेका छौं, अधिकारीले गर्वका साथ भन्नुभयो । ‘त्यसैले कसै पनि दिल साँघुरो बनाउन र विचलित हुन हुन्न जरुरी छैन ।’ उहाँको कथन थियो । गायकहरू पनि कवि हुन् र उनले गाउने गीत पनि साहित्य हो, कविता हो, माधव घिमिरे मात्र राष्ट्रकवि नभई देउबहादुर दुरा पनि राष्ट्रकवि हुन् सल्लाहकार अधिकारीले भन्नुभयो । टाढाका मानिसहरूलाई यता बोलाएर समेट्न भन्दा पनि ती ती ठाउँमा ठाडोभाका पुग्नु पर्छ र विश्वव्यापी हुनुपर्छ तथापि यो हुने क्रम सुरु भएको छ, यस कार्यलाई निरन्तरता दिइरहनु पर्छ उहाँले उल्लेख गर्नु भयो । आफू अमेरिकामा जाँदा नेपाली पोशाकमा सजिएर नौमती बाजा बजाएको देख्दा त्यसले गज्जबाको आकर्षण दिएको उहाँले स्मरण गर्नुभयो ।
उहाँले प्रतिष्ठानले यौटा कार्यक्रम निकट भविष्यमै काठमाडौंमा गर्न आग्रह समेत गर्नुभयो । ‘हाम्रो संस्कृतिका रुप लिएका तर समाजले बिर्सन लागेका डण्डीवियो तथा आफूहरूले खेल्ने गरेको ‘गिर’ (हिजोआजको गल्फ) जस्ता मौलिक खेल, काँठे भाका, विवाहको बेलामा हालिने श्लोकको अन्ताक्षरी आदिको खोज र संरक्षणमा प्रतिष्ठान लागोस्, लाग्नु पर्छ ।’ उहाँले भन्नुभयो ।
सो अवसरमा मन्तव्य व्यक्त गर्नु हुँदै प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक धम्पुले सबै साथीहरूले खुलेर जे जसरी कुरा राख्नु भयो, यो राम्रो काम भएको छ, कमीकमजोरीलाई सुधार्दै हामी अघि बढ्नु पर्छ उहाँले भन्नुभयो । कार्यक्रमहरू राम्रो भएको थियो, हाम्रो कार्यक्रम सञ्चालनका क्रममा केही अस्तव्यस्ता जस्तो रहेकोप्रति बाहिरबाट पनि सुझाव प्राप्त भएको छ भन्ने जानकारी दिनु हुँदै उहाँले प्रतिष्ठान भएको कारणले हामी सहभागी हुन पायौं र यो कार्यक्रम गर्ने अवसर मिल्यो, यसप्रति हामी सबै बधाईका पात्र छौं र हामीले आफूलाई पनि धन्यवाद भन्नु पर्छ उहाँले उल्लेख गर्नुभयो ।
सल्लाहकार अमरध्वज गुरुङ र उहाँका सहधर्मिणी हेमा गुरुङले संरक्षक धम्पुलाई जन्म दिनको रथारोहणको दिनमा भिडभाडमा केही दिने मौका मिलेन भन्दै उहाँहरूको जातीय सम्मानमा मान्यजनलाई दिइने परम्परागत चिनो ‘जन्तर’द्वारा उहाँलाई सम्मान गर्नु भएको थियो । उक्त अवसरमा प्रतिष्ठान खोलेर आफूलाई संरक्षक, ठाडोभाका महनायकको उपाधि दिनुका साथै रथारोहण सहित अभिनन्दन गरेर प्रतिष्ठानमार्फत उत्कृष्ठ कार्य गरेर गरेको योगदानको गर्ने र योगदानका लाग योग्य बनाउने उहाँको सहधर्मिणी सुधा ढकाललाई कदर स्वरुप खदाद्वारा सम्मान गर्दछु भन्दै पहाडी दम्पत्तीलाई धम्पुले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा सल्लाहकार द्वय रमाराज खनिया र अमरध्वज गुरुङले पनि आफ्नो धारणासहित कार्यक्रम सफल भएका छन् । तयारी र कार्यक्रम सञ्चालनका क्रममा केही त्रुटीहरू देखिएका छन् तिनलाई सच्याएर आउँदा दिनमा अघि बढ्नु पर्छ भन्नुभयो ।
बैठकको अध्यक्षता गर्नु भएका प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले धन्यवाद मन्तव्यसहित सहभागिताका साथ प्राप्त सुझाव र व्यक्त धारणाका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले बडागाउँमा सहभागी संख्या कम हुनुमा चैत पूर्णिमाका साथ विद्यालयमा वार्षिक परीक्षाको कारणले बाघचालमा सहभागिता कम हुन गयो, केही ठाउँबाट ठाडोभाकामा नाम लेखाएर पनि सहभागी हुने दिनमा नआएको कारण रह्यो भन्नुभयो । उहाँले यो वर्ष चुनावको कारणले सार्न परे पनि अर्को वर्षबाट माघमै ‘ठाडोभाका मेला’ हुन्छ, त्यसैले यस्तो समस्या आउँदा वर्ष नहोला भन्नुभयो ।
त्यस्तै, केही कमजोरीका बावजुत रथारोहण कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गर्न सकियो यसका लागि पनि सल्लाहकार समिति, कार्य समितिमा रहनु हुने सबैको योगदान प्रशंसनीय रह्यो उहाँले भन्नुभयो । रथारोहण कार्यक्रम आफूले दुई वर्ष अघि देखेको सपना थियो, कार्यक्रममा नेपाल ऋषि डा. जगमान गुरुङको प्रमुखआतिथ्यता थप आकर्षक रह्यो उहाँप्रति पनि कृतज्ञता व्यक्त गर्दछु उहाँले भन्नुभयो ।
गोरखाको ठाडोभाका प्रतियोगिताले पनि केही सिकाएको छ, त्यो अनुसार हामीले आफ्नो कार्यक्रममा पनि केही सुधारको प्रयास गर्नु पर्छ होला, त्यसबारेमा आउँदा बैठकमा थप छलफल र निर्णय गरिने छ उहाँले जानकारी दिनुभयो ।
बैठकमा आआफ्नो धारणा तथा अनुभव सुनाउनु प्रतिष्ठानका उपाध्यक्ष एवम् ‘ठाडोभाका महातार’ सीतादेवी दुरा, महासचिव देवराज गुरुङ, कोषाध्यक्ष सीता गुरुङ, उपमहासचिव आशबहादुर विक, सहकोषाध्यक्ष तैमाया गुरुङ हुनु हुन्थ्यो । यसैगरी, सो अवसरमा समिक्षात्मक टिप्पणी राख्नेहरूमा कार्यकारी सदस्यहरू नवराज बराल, सञ्जोग लामिछाने, सुधा ढकाल, हरि रानाभाट, मीना गुरुङ, बुद्धिबहादुर खड्का, रमाना भण्डारी र पानमाया गुरुङ हुनुहुन्थ्यो ।
सो बैठकले आउँदो जेठ महिनाको तेस्रो सातामा मौलिक ठाडोभाकाको छायांकन गर्ने समेतको निर्णय गरेको जानकारी प्रतिष्ठानका महासचिव देवराज गुरुङले दिनु भएको छ ।

प्रकाशित मिति २०८३ बैशाख २२, मंगलवार १०:४६ गते
हजुरको प्रतिक्रिया