
काठमाडौं– ‘पर्यटनको राजधानी’का रूपमा चिनिएको गण्डकी प्रदेशलाई विशेष प्राथमिकतामा राख्न
संघीय र प्रदेश सरकारबीच सहमति भएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गणेश) र गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालबीच मन्त्रालयमा भएको भेटघाटमा त्यस्तो सहमति भएको हो ।
उहाँहरूका बीचमा गण्डकी प्रदेशको पर्यटन विकासका विविध विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटवार्ताका क्रममा मन्त्री रिमालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा ‘पर्यटनको राजधानी’का रूपमा चिनिएको गण्डकी प्रदेशलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो । उहाँले पोखरा विमानस्थलबाट नियमित अन्तरप्रदेशीय उडान सञ्चालन गर्न सके गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि हुने धारणा राख्नुभयो ।
‘एक जिल्ला, एक हवाई मैदान’ अवधारणाअन्तर्गत लामो समयदेखि अलपत्र रहेको लमजुङ जिल्लाको शीतलेस्वाँरा हवाई मैदान निर्माण कार्यलाई प्राथमिकतामा राख्न उहाँले जोड दिनुभएको थियो ।
त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्लीसहित विभिन्न शहर तथा बंगलादेशको ढाकासम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन संघीय मन्त्री पौडेललाई अनुरोध गर्नुभयो ।
मन्त्री रिमालले मुस्ताङको लोमान्थाङ, गोरखाको मनकामना मन्दिर, ऐतिहासिक गोरखा दरबार तथा बाग्लुङको ढोरपाटन क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्न पनि आग्रह गर्नुभयो ।
त्यसैगरी, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाको हवाई दृश्यावलोकनका लागि उक्त विमानस्थल अत्यावश्यक रहेको मन्त्री रिमालले आफ्नो धारणा राख्नु भएको थियो ।
गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण चक्रिय पदमार्गमा आवश्यक पूर्वाधार विकास गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराइएको छ । साथै, बौद्ध हिमाल– हिमालचुली ‘ग्रेट लेक सर्किट’ पदमार्गलाई आगामी वर्षको नीति कार्यक्रममा समावेश गर्न मन्त्री रिमालले माग गर्नुभएको छ ।
मन्त्री रिमालले गर्नु भएको मागप्रति आफ्नो गृहक्षेत्र समेत पर्यटन नगरी पोखरा रहेका संघीय मन्त्री गणेशले सकारात्मक रुपमा लिएको बताउनु भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार भेटवार्तामा दुवै मन्त्रीबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारका विषयमा समेत छलफल तथा सकारात्मक सहमति भएको छ ।
अनुज अधिकारीको सहयोगमा ।
प्रकाशित मिति २०८३ बैशाख २३, बुधबार ०६:४५ गते