लमजुङको रक गार्डेन अब प्राकृतिक मात्र नभई धार्मिक पर्यटकीय स्थलसमेत बन्ने

लमजुङको रक गार्डेन अब प्राकृतिक मात्र नभई धार्मिक पर्यटकीय स्थलसमेत बन्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १ गते शनिवार ०९:०१

अहिले मितेरी भेटघाटका साथमा रकगार्डेन भित्र धार्मिक अनुष्ठान अर्थात स्वस्ति, शान्ति, हवन आदि गरी उक्त विशाल शिलालाई ‘महानायक कैलाशपति’ नामाकरण गरिएपछि अब रक गार्डेन प्राकृतिक पर्यटकीय गन्तव्य रहेकोमा अब धार्मिक पर्यटनको गन्तव्यसमेत बन्ने भएको छ ।

रक गार्डेनमा ‘महानायक कैलाशपति’को प्रतिस्थापन गरिएसँगै अब त्यो थलो धार्मिक गन्तव्यसमेत बन्ने सुनिश्चित भएको हो ।

खानीगाउँ(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिका– ५ को यहाँ स्थित रक गार्डेन अब प्राकृतिक मात्र नभई धार्मिक पर्यटकीय स्थलसमेत बन्ने सुनिश्चित भएको छ । रक गार्डेनमा रहेको एक भिमकाय ढुंगा(शिला)लाई महानायक कैलाशपतिको रुपमा प्रतिस्थापन गरेसँगै जेठ २ गतेदेखि त्यस्तो सुनिश्चित भएको हो ।
सो कार्य ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको संयोजन एवम् रक गार्डेन सामुदायिक होमस्टे र दिपज्योति आमा समूहको संयुक्त आयोजनामा यहाँ सञ्चालन भएको एक विशेष कार्यक्रम मितेरी भेटघाट एवम् विविध सांस्कृतिक प्रस्तुतिका बीच धार्मिक विधिविधान अनुसार एक अनुष्ठानका साथ ‘महानायक कैलाशपति’को प्रतिस्थापन गरिएसँगै त्यस्तो पुष्टि भएको हो ।
गतवर्ष ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तीन दिने ठाडोभाका प्रशिक्षणमा जादा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले उक्त ढुंगामा शिव पार्वतीको स्वरुप देख्नु भएपछि मित लगाउने कार्य गर्नु भएको थियो । अहिले मितेरी भेटघाटका साथमा रकगार्डेन भित्र धार्मिक अनुष्ठान अर्थात स्वस्ति, शान्ति, हवन आदि गरी उक्त विशाल शिलालाई ‘महानायक कैलाशपति’ नामाकरण गरिएपछि अब रक गार्डेन प्राकृतिक पर्यटकीय गन्तव्य रहेकोमा अब धार्मिक पर्यटनको गन्तव्यसमेत बन्ने भएको छ । आस्था र विश्वासका साथमा त्यहाँ पुजाआजा गरेको खण्डमा मनोकांक्षा पुग्ने आजका पण्डित मुक्तिनाथ घिमिरे र ठाडोभाका महानायक धुम्पुले बताउनु भएको छ । धम्पु आफैमा धार्मिक साधनामा पोख्त व्यक्तित्व हुनुहुन्छ । उहाँले आफ्नो निवासमा समेत कालीमाताको मन्दिर निर्माण गर्नु भई साधनारत हुनुहुन्छ ।
उहाँले ‘महानायक कैलाशपति’लाई पहेलो फोटाले मोहने काम भएको छ । साथै ४५ फिट उचाईको त्रिशुलको प्रिन्ट प्रति चढाउने काम उहाँले गर्नु भएको छ । त्यसका साथमा शिव भगवान्को चित्र अंकित त्रिभुज आकारको झण्डासमेत सो स्थानमा चढाउने काम धम्पुबाट भएको छ । भोलि भोलिका दिनमा उहाँले सो स्थानमा त्यस्तै त्रिशुल निर्माण गर्न सक्ने स्थितिसमेत बलियो बनेको छ प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त अवसरमा सो स्थान वरपर पारिजात, निम, सतिबेल, स्वस्थानीफूल, आँकका विरुवासमेत रोपण कार्य गरिएको छ, यसले पनि यो क्षेत्रको धार्मिक महत्वमा विशेष अर्थ राख्नेछ ।
उक्त अनुष्ठान सकिएपछि संयोजनकर्ता टोलीलाई विदाई कार्यक्रममा मन्तव्य व्यक्त गर्दै महानायक बुद्धिमान दुरा धम्पुले खानीगाउँमा मितेरी गाँसेर अब यो आफ्नो गाउँ भएको घोषणा गर्नु भएको थियो । उहाँले हामी सत्कर्ममा लागेका छौं, त्यसको फल मिठो र फलदायी हुने हुन्छ र हामीलाई कहिलेकाही नसोचेको खुशी पनि पनि मिल्ने गर्दछ त्यो हामीले गरेको अध्यात्मिक विश्वास र साधनाको प्रतिफल हो, यो स्थलोमा यदि कसैले विश्वासका साथ पुजा गरी बरदान मागेमा पुरा हुनेछ भन्नुभयो ।
सो अवसरमा विदाई मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले हामीलाई पछिल्ला केही महिना यता प्रतिष्ठानलाई ऐतिहासिक काम गर्ने अवसर मिलिरहेको छ । त्यो हामीहरूको ईश्वरीय शक्तिप्रति हामीले गरेको विश्वास र आस्थाको प्रतिफल हो भन्नुभयो । उहाँले ठाडोभाका लोककला प्रतिष्ठान आफैमा सुधामा जस्तो स्थितिमा छ तर पनि रक गार्डेन, दिपज्योति आमा समूहजस्ता कृष्ण भगवानरुपि साथीसँगति तथा मनकारी आमा– बाबाहरू तथा शुभचिन्तकहरूका कारणले आफूहरू आजको दिनमा विभिन्न कार्यक्रममा साथ लमजुङ दुरदाराजका गाउँमा पनि पुग्न सकेको छ यो अवसर दिनुहुने उहाँहरू सबै प्रति हामी प्रतिष्ठान परिवार नतमस्तक हुँदै सादर कृतज्ञता व्यक्त गर्दछौं । भोलिका दिनमा पनि यस्तो अवसर तथा सहयोग पाइरहने छौं भन्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकारसमेत रहनु भएका पहाडीले रक गार्डेन अव प्राकृतिक दृश्यावलोकनको थलो मात्र नभई आजका दिनदेखि धार्मिक गन्तव्यका रुपमा समेत विकसित हुँदै जानेछ यसबारेमा आफूले समाचार लेख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । यो तथ्य आज मात्र यहाँ महानायक कैलाशपतिको स्थापनाबाट सिद्ध हुन आएको छ र भोलिका दिनमा थप सिद्ध हुँदै जानेछ उहाँले ठोकुवा गर्नु भयो ।
अर्को एक प्रसङ्गमा प्रतिष्ठानका अध्यक्ष पहाडीले प्रतिष्ठानको नारा ‘लोक संस्कृतिको उत्थान – हाम्रो अभियान’को स्मरण गर्दै मौलिक लोक संस्कृतिको संरक्षण बिना हाम्रो पहिचान मेटिने छ भन्नुभयो । उहाँले हामीहरूको बाल्य तथा किशोरकालमा मित लगाउने प्रचलन घनीभूत भएता पनि पछिल्ला वर्षमा यो संस्कृति र परम्परा विर्सन लागिएको छ ।

तर प्रतिष्ठानले यसलाई पनि बचाउनु पर्छ भनेर लागेको छ र मितेरी जोडिएका कार्यक्रम विगतमा आसाम(भारत)को नेपाली संस्कृति सुरक्षा परिषदसँगको सहकार्यमा पनि गरिएको स्मरण गर्दै यो त्यसैको अर्को कडी हो भन्नुभयो । आफ्नो दिमागमा कतिसम्म गरिब चिन्तनले घर गरेको छ भने अर्काको नक्कल गरेपछि ‘म ठूलो मान्छे हुन्छ वा भएँ’ भन्ने ठानिन्छ जो गलत हो, मुल मर्म भनेको आफ्नो मौलिकपनमा जागाउनु र त्यसमा गर्व गर्न सक्नु हो जुन प्रयासमा हामी लागि रहेका छौ उहाँले भन्नुभयो ।
प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य एवम् रकगार्डेनका परिकल्पनाकार कामसार्की गुरुङले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी सदस्य तथा रकगार्डेन होमस्टेका संस्थापक अध्यक्ष सीता गुरुङले आयोजककोतर्फबाट विदाई मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ २, शनिबार २१:०१ गते
हजुरको प्रतिक्रिया