नेपालमा लोकतन्त्र र मुलत गणतन्त्रको स्थापना भए पछि विदेशी चलखेल बिना नै सरकार बनेको यही सरकार हो । अन्यथा कांग्रेस, एमाले, माओवादीहरूका अलग वा मिलेर सरकार बन्दा दलभित्र पनि यो मन्त्री यो देशको नजिक र अर्को मन्त्री त्यो देशको नजिक भन्ने गरिन्थ्यो । प्रधानमन्त्री पनि यो देशको चाहानामा आएको वा यो देशको नजिक रहेको भन्ने गरिन्थ्यो । प्रचण्डले विदेशीको लागि कम्फर्टेवल सरकार भएकोसमेत बताएका थिए । अन्य प्रधानमन्त्रीहरूले पनि भावबाट त्यस्तो देखाउने गरेका हुन् । यहाँं सम्मकी प्रधानमन्त्री विदेश जांदासमेत यो देशमा गए, यस्तो रेकर्ड तोडे आदि भन्ने गरिन्थ्यो । त्यो मुलतः भारत, चीन र संयुक्त राज्य अमेरिकाको बारेमा भनिने गर्थ्यो । परोक्ष प्रभाव पार्नेमा इयु पनि रहेको देखिन्छ । धर्म प्रचारको लागि समेत सजिलो माध्यम पनि सरकारको संरचना बन्ने गरेको पनि बताइन्थ्यो ।
वर्तमान सरकार पहिला भन्दा फरक र कुुनै देशको इसारा, चाहाना वा पक्षधरता नभइ बनेको देखिन्छ । वास्तवमा यो अवस्था आउनु सरकारको शक्ति हो । देशको लागि पनि खुसीको बिषय हो । जनताको पारख गर्ने क्षमता हो । यो शक्तिका लागि सालिन पात्रहरूमा मुख्य बालेन शाह र रवि लामिछाने नै हुन् । प्रा.डा. विपिन अधिकारीले भने ‘यो राजसंस्था पुनःस्थापना गर्ने राम्रो समय हो । यो सरकार बन्दा विदेशी चलखेल भएन ।’ समयको बदलाव र विश्वलाई बिज्ञान प्रविधिले साह्रै नजिक ल्याएकोले केही चाहानाहरू विदेशीहरूका हुन सक्छन् । कतै व्यक्तिगत नजिकी पनि हुन सक्छ । तर विदेशी चलखेको आधारमा सरकार बनेको र सरकारले सरकार नै चलाउन विदेशीको सहयोग लिन परेको भन्ने अवस्थाको यस पटक अन्त्य भएको छ । यो कायम रहनु सक्नु पर्छ ।
साथै लोकतन्त्र भनेको सधैं एउटै दलको सरकार हुन हुंँदैन भन्ने मान्यता राख्ने परिपाटी पनि हो । सरकार गल्ती गरेर पनि विस्थापित हुन्छ र उसले भन्दा अर्कोले राम्रो गर्ने विश्वास दिलाएको कारणले पनि अन्त्य हुन्छ । लामो समय सरकारमा रहंदा जनतामा नयांँ चाहाना र सरकारमा रहंदा हुने सत्तासिन सन्जालको दुरुपयोगको कारणले पनि जनतामा परिवर्तनको चाहाना हुन सक्छ ।
त्यसैले नराम्रो गरे छिटो र राम्रो गरे पनि केही ढिलो अर्थात दुई वा तीन चुनाव पनि नयांँ दलको सरकार हुन सक्ने संभावना हुन्छ । इमान्दार र जवाफदेहिता रहेका तथा देशको सार्वभौमिकताका बारेमा सचेत हुनेहरूले आफू बलियो हुंदा देशको सार्वभौमिकता र स्थिरताको लागि दिर्घकालीन व्यवस्थापन गर्न उपयुक्त हुन्छ ।
अहिले देशमा राजलाई चाहानेहरू राम्रो संख्यामा छन् । राजा र हिन्दु धर्मलाई जोडेर पनि हेरिन्छ । रास्वपाका धेरै नेताहरूले जनताले राजसंस्था र हिन्दु धर्मको बारेमा चाहाना राखेको पनि बताउने गरेका छन् । कांग्रेस र एमाले जस्ता दलका धेरै कार्यकर्ता र नेताहरूले पनि राजसंस्था र हिन्दु धर्मलाई मान्यता दिन चाहाने राज्य व्यवस्था चाहेको देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले त राजसंस्थाको आवश्यकतालाई आफ्नो औपचारिक एजेण्डा नै बनाएको छ । यसरी हेर्दा राजसंस्था करिव धेरै दलहरू र जनताको मनमा रहेको संस्था हो भन्ने अनुमान गर्न सकिन्छ । देशको एकीकरणको नेतृत्व मात्र होइन, योजनाको उचित माध्यमबाट देशलाई एउटै मालामा गांस्न सक्ने राजसंस्था ऐतिहासिक संस्था पनि हो । अर्थात राजसंस्था राष्ट्रिय एकीकरणको प्रतिक समेत हो र मियोको भावना पनि हो । अहिले सिपि मैनाली, नरायणमान बिजुक्छे जस्ता कम्युनिष्ट नेताहरू राजसंस्था देशको स्यायित्वको लागि आवश्यक भएको धारणा राखिरहेका छन् ।
देशको अस्तित्वको प्रतिक र देशको हैसियतको वाहक रहेको राजसंस्थालाई हटाउंदा जनमतसंग्रह समेत भएन । अहिले कतिपय व्यक्तित्वहरूले जनमत संग्रहवाट राजसंस्थाको वारेमा निर्णय गरौं समेत भनिरहेका छन् । राजसंस्था ल्याउने वा यसका वारेमा जनचाहान बुझ्ने जुनै माध्यम पनि उपयुक्त हुन सक्छन् र कुन ज्यादा विवादरहित छ भन्ने महत्वपूर्ण हो ।
लोकतन्त्र आउन भन्दा पहिला र अझै भन्नु पर्दा देशमा गणतन्त्र आउन भन्दा पहिला देशमा नांगो विदेशी चलखेल थिएन । प्रधानमन्त्री बन्न र सरकार चलाउन समेत विदेशीको प्रत्यक्ष चासो रहने अवस्था राजा बलियो हुंदा थिएन । नेपालका राजाहरूले देशको सार्बभौमिकतामा संझौता गर्न नचाहेकोले राजसंस्थाको अन्त्य भएको हो त्यसैले राजसंस्थाको अन्त्य गर्न चाहाने र अन्त गराउन सहयोग गरेकाहरूले आफ्नो लक्ष्य पुरा गर्न चाहेकोले नै देश अस्थिर भएको हो भन्ने पनि गरिन्छ ।
डाक्टर तथा प्राध्यापक विपिन अधिकारी समेतका विद्वानहरूले यो सुवर्ण मौकामा राजसंस्था पुनः स्थापना गरेर देशलाई सवल बनाउन आवश्यक भएको धारणा राखेको समेत पाइन्छ । देश प्रति चासो र मायां राख्नेहरूले देशमा राजसंस्थाको पुनः स्थापना चाहेको देखिइ रहेको छ ।
राजसंस्थाको विपक्षमा अहिलेसम्म नाम नै हराएको माओवादी र यसका नेता प्रचण्डलेले भने बोलिरहेका छन् । उनले राजसंस्था आवश्यक नभएको र अनुचित रहेको भनिरहेका छन् । यसका दुई कारणमा पहिलो विदेशीको इसारमामा देशलाई अस्थिर बनाउने र विदेशीलाई यहाँं धर्म प्रचारको माध्यमद्वारा खुसी बनाउन सहयोग गर्नु हो । अर्को देशमा बीसौं हजार मानिसलाई मारेर तथा खरवौंको सम्पत्ति तहसनहस गरेर, ऐेतिहासिक संपदा नासेर देशलाई पचासौं बर्ष पछाडी धकेल्ने प्रचण्डहरूले ती कथित आन्दोलन र हिंसाबाट राजसंस्था फाल्न सकियो भन्ने भ्रम दिने वातावरण रहिरहन पर्छ भन्ने मान्यतामा छन् । राजसंस्थाको पुनः स्थापना भएमा उनीहरूले गरेको हत्याको कथित औचितय स्थापना गर्ने दुस्वप्नमा आधारित माध्यमको पनि अन्त्य हुन्छ । देशमा स्थिरता भएमा अस्थिरताको राजनीति गर्नेहरूको औचित्य स्थापित पनि हुन सक्दैन ।
अर्कोतर्फ विश्वमा सवै जसो राजसंस्था भएका देशहरू गणतन्त्र भएका देशहरू भन्दा धनी देखिन्छन् । नेपालका सहयोगीमा पनि राजसंस्था रहेका जापान, बेलायत तथा युरोपियन देशहरू रहेका छन् । यी उदाहरणहरूले राजसंस्था विकास बिरोधी होइन भन्ने देखाउंछन् । राजसंस्था भएका देशहरूमा अपेक्षकृत ज्यादा शान्ति भएको पनि देखिएको छ । त्यस्तै नेपाल भारत र चीन जस्ता विशाल देशहरूको बीचमा रहेकोले ती देशका प्रभावहरू र प्रभुत्वको चाहनाको कारण सत्ता बदलिई रहने भएमा सत्तामा रहनेहरूले गल्ती गर्न सक्छन् । सत्तामा जानको लागि पनि ती समेतका देशहरूले भूमिका निभाउन सक्छन् । उनीहरूले सहयोग गरेकाहरूले जितेमा उनीहरूले आफ्नो प्रभाव प्रयोग गर्नु स्वभाविक तर गलत पक्ष हुन जान्छ ।
राजसंस्था यस्तो पक्ष हो जस्ले देशमा सत्तामा जानको लागि कसै संग कुनै सम्झौता गर्न पर्दैन किनकी त्यो संस्था रहिरहन्छ । देशको अस्तित्व नै नरहेमा राजसंस्था पनि नरहने हुंदा राजस्थाल सामान्यत देशको सार्वभौमिकतामा कहिल्यै खेलवाड गर्दैन भन्ने मान्यता रहेको छ । राजसंस्थाले तत्कालको फाइदाको लागि दिर्घकालिन सोचलाई वेवास्ता गर्ने पनि हुंदैन । यो अवस्था देखिइ रहेको हो ।
रास्वपा सधैं सरकारमा नरहन सक्छ, लोकतन्त्रको मान्यता अनुसार रहंदैन । त्यस अवस्थामा पनि देशको अस्मितालाई अरुले अप्ठेरोमा नपारुन् भन्नाको लागि पनि देशको हितको लागि निर्णायक कार्य गर्न पर्छ । यसले गर्दा रास्वपा सरकारमा नरहे पनि अरु दलहरूले देशको हितलाई कमजोर पार्न नसकुन् भन्नाको लागि पनि जनताको पक्षमा स्थायी रुपमा काम गर्ने राजसंस्थाको पक्षमा काम हुन आवश्यक छ । अर्थात रास्वपा जस्तो राष्ट्रवादी शक्तिको सरकार रहेमा आवश्यक नहुन सक्छ तर अरु आएमा पनि राजा हुंदा राष्ट्रको बिरुद्धमा काम गर्न नसक्ने संभावना हुन्छ । त्यसैले रास्वपाले आफू हुंदा भन्दा पनि आफू सरकारमा नहुंदा पनि देशको हितको लागि राजसंस्थाको पुनः स्थापना उपयुक्त हुन सक्छ ।
विपी, मनमोहन आदि नेताहरूले राजसंस्थाको आवश्यकता सधंै रहने उल्लेख गर्नुको पछाडि पनि यही रहस्यले काम गरेको छ । सायद २०५६ साल पछि प्रकट रुपमा यो पहिलो समय हो जहां विदेशीको चासो प्रष्ट रुपमा प्रकट हुन सकेको छैन । यो कायम राख्न र पछिका सरकारहरू विदेशी चासोबाट मुक्त हुनको लागि राजाको आवश्यकता छ । रास्वपाले सन्त माहात्माहरूबाट पाएको समर्थन, सपथग्रहण समाहरोमा गरिएको धार्मिक कार्यले रास्वपा हिन्दु राज्य र राजसंस्था प्रति सकारात्मक छ भन्ने अनुमान हुन्छ । धर्म व्यक्तिगत विषय होला तर अमेरिका, बेलायत, पश्चिमी अन्य देशहरू, पाकिस्तान, इरान आदि करिव १५० भन्दा ज्यादा देशहरूको लागि देशको किन धर्म भएको ? आफ्नो देशको धर्मलाई अरुकोसंग सापेक्ष रुपमा हेर्दा पनि केही गर्न पर्छ र त्यो गर्न भनेको पनि हिन्दु धर्मको बारेमा हो र राजसंस्थाको बारेमा पनि हो ।
रास्वपा पूर्ण र सजग राष्ट्रवादी शक्ति हुंदा राजसंस्थाको पुनः स्थापना अनिवार्य छैन । तर रास्वपा संधै शक्तिमा रहिरहन सक्छ भन्ने छैन । त्यसैले देशमा जाचिइसकेका दलहरू पुनः शक्तिमा आएमा देश राजा नहुंदा कमजोर हुने प्रष्ट हुंदा राजसंस्थाको पुनः स्थापना उपयुक्त छ । राजसंस्था पुनः स्थापन हुंदा जनतामा उत्साह थपिने हुंदा त्यसको प्रभावले सरकारलाई राम्रो काम गर्न पनि सहयोग हुन सक्छ ।
प्रकाशित मिति २०८३ जेष्ठ १६, शनिबार १३:२२ गते