आधारभूत प्लम्बिङ सम्बन्धि एक हप्ते तालिम सुरु

आधारभूत प्लम्बिङ सम्बन्धि एक हप्ते तालिम सुरु

अपूर्वराज अधिकारी

@antaranganews

२०८३ जेठ १७ गते सोमबार १०:४८

उद्घाटन सत्रको समापन गर्दै कार्यक्रमका अध्यक्ष सुशीलचन्द्र अधिकारीले लक्ष्मीनारायण सामुदायिक सिकाइ केन्द्र नेपालकै सफल सिकाइ केन्द्रहरूमध्ये एक बन्न सफल भएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश तथा लमजुङ जिल्लाको पहिलो सामुदायिक सिकाइ केन्द्रका रूपमा केन्द्रले विभिन्न सीपमूलक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सिकेको सिप प्रयोगात्मक रूपमा लागु गर्न आग्रह, तालिममा १८ जना सहभागी रहेका छन् ।

बेसीशहर(लमजुङ)– बेसीशहर नगरपालिकामा सात दिने आधारभूत प्लम्बिङ सम्बन्धि तालिम सुरू भएको छ । बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाले सो तालिमको जेठ १७ गते उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिका– ८ की वडा अध्यक्ष पवित्रा थापा रानाले मैनबत्ती बालेर तथा कार्यक्रमको व्यानर वाचन गर्दै तालिमको उद्घाटन गर्नुभएको थियो । आफ्नो मन्तव्यका क्रममा प्लम्बिङ सीप सामान्य जस्तो देखिए पनि दैनिकी र आयआर्जनका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको अनुभूति आफूलाई भएको उहाँको भनाइ थियो । उहाँले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराईन बहादुर सुयलले आफ्नो भनाईको क्रममा पछिल्लो समय धेरै व्यक्तिले विभिन्न सीपमूलक तालिम लिए पनि व्यवहारिक रूपमा प्रयोग नगरेको पाइएकाले प्राप्त ज्ञान र सीपलाई दैनिक जीवन तथा आयआर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई व्यावहारिक रूपमा उपयोग गर्न सके स्वरोजगारका अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।
स्थानीय नगरपालिका– ८ स्थित लक्ष्मीनारायण सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा बेसीशहर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा सो तालिमको सुरु भएको हो ।
कार्यक्रमका अध्यक्ष तथा सिकाइ केन्द्रका अध्यक्ष सुशीलचन्द्र अधिकारीले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले स्वरोजगार सिर्जना, महिला सशक्तीकरण तथा सीप विकासमार्फत आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा सिकाइ केन्द्रका सदस्य रामकृष्ण त्रिपाठी, सल्लाहकार समितिका संयोजक तेजनारायण घिमिरे तथा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष नारायण प्रसाद घिमिरे, सिता गौली, कमला दनाई, हरि पौडेल, लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उद्घाटन सत्रको समापन गर्दै कार्यक्रमका अध्यक्ष अधिकारीले लक्ष्मीनारायण सामुदायिक सिकाइ केन्द्र नेपालकै सफल सिकाइ केन्द्रहरूमध्ये एक बन्न सफल भएको जानकारी दिनुुभयो । उहाँले गण्डकी प्रदेश तथा लमजुङ जिल्लाको पहिलो सामुदायिक सिकाइ केन्द्रका रूपमा केन्द्रले विभिन्न सीपमूलक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । साथै सहभागीहरूलाई तालिमबाट प्राप्त सीप राम्ररी सिकेर दैनिक जीवनमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष अधिकारीले केन्द्रमार्फत यसअघि पनि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । साथै ज्येष्ठ नागरिकका लागि समेत सीपमूलक तालिम सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई थियो ।
लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूलाई खातुन मियाले स्वागत गर्नुभएको थियो र सञ्चालन पुस्तकालयकी सामाजिक परिचालिका आरती बस्नेतले गर्नुभएको थियो । उहाँका अनुसार तालिममा १८ जना सहभागी रहेका छन् ।

प्रकाशित मिति २०८३ जेष्ठ १८, सोमबार १०:४८ गते
हजुरको प्रतिक्रिया