
लमजुङ/पोखरा– गीतको लय चोरिएको दावीसहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालमा उजुरी गरिएको छ । नेपाली लोकसंगीत क्षेत्रमा चर्चित अग्रज लोकगायिका माया गुरुङ र उमा गुरुङले आफ्नो पुरानो तथा लोकप्रिय गीतको लय हुबहु नक्कल गरी नयाँ गीत सार्वजनिक गरिएको दावी गर्दै न्यायका माग गर्नु भएको हो ।
२०४५ सालमा रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक (गोल्ड मेडल) जित्न सफल गीत ‘गाउँशहरमा लमजुङ दरबार, मायाँलाई दिने थिएँ फूलजस्तो जोवन, भइसक्यो मेरो घरबार’मार्फत श्रोता–दर्शक माझ लोकप्रिय बन्नु भएका माया गुरुङ र उमा गुरुङले आफ्नो सिर्जना माथि अन्याय भएको भन्दै संयुक्त निवेदन दर्ता गराउनु भएको हो ।
निवेदनमा नेपाली लोकसंगीतको मौलिकता जोगाउन तथा सर्जकको बौद्धिक सम्पत्तिको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन प्रतिष्ठानसँग माग गरिएको छ ।
प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरलाई सम्बोधन गर्दै पेश गरिएको निवेदनमा प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष रामजी खाँडको लय रहेको भनेर उल्लेख गरिएको ‘सुखी माया’ गीत प्रतिष्ठानका पूर्वकेन्द्रीय सदस्य राजु गुरुङले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको आरोप लगाइएको छ । उक्त गीतमा रामजी खाँडको लय, भागीरथ चलाउनेको शब्द तथा राजु गुरुङ र शान्तारानी परियारको स्वर रहेको उल्लेख गरिएको छ ।
माया गुरुङ (बेसीशहर– ५, लमजुङ) र उमा गुरुङ (पोखरा– १६, कास्की)ले संयुक्त रूपमा हस्ताक्षर गरी पेश गरेको उक्त निवेदनको बोधार्थ प्रतिष्ठानको विकृति–विसंगति न्यूनीकरण विभागका प्रमुख शिव हमाललाई समेत पठाइएको छ ।
गायिकाद्वयका अनुसार २०४६ सालतिर बजारमा आएको ‘लमजुङ दरबार’ नामक गीति एल्बमको ‘बी साइड’मा समावेश गरिएको ‘आईदेउ सुखी, लाईदेउ पिरती’ बोलको गीतको लय पछिल्लो समय हुबहु नक्कल गरी ‘सुखी माया’ शीर्षकमा सार्वजनिक गरिएको छ । उक्त मौलिक गीत माया गुरुङ, उमा गुरुङ, कृष्ण गुरुङ र निर गुरुङको स्वरमा रेकर्ड गरिएको थियो भने रेडियो नेपालमा समेत प्रसारण भएको थियो । गायिकाद्वय गुरुङले ‘आईदेउ सुखी, लाईदेउ पिरती’ गीतको लयलाई कुनै परिवर्तन नगरी ‘आईदेउ माया, लाईदेउ पिरती’ बोलमा सार्वजनिक गरिएको दाबी छ । आफ्नो अनुमति र सहमति बिना सिर्जना नक्कल गरी सार्वजनिक गरिएको कार्य मौलिक सर्जकको अधिकारमाथिको हस्तक्षेप भएको उहाँहरूको भनाइ छ ।
यस विषयमा प्रतिक्रिया दिँदै प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले निवेदन प्राप्त भइसकेको जानकारी दिँदै दुवै पक्षलाई राखेर छलफल गरिने र आवश्यक छानबिनपछि निष्कर्षमा पुगिने बताउनुभएको छ ।
लोकसंगीत क्षेत्रमा मौलिक सिर्जनाको संरक्षण र स्रष्टाको सम्मान सुनिश्चित गर्नुपर्ने आवाज बलियो बन्दै गइरहेका बेला यो प्रकरणले थप चर्चा पाएको छ ।
सांगीतिक वृत्तमा समेत प्रतिष्ठानकै जिम्मेवार पदाधिकारी तथा चर्चित कलाकारहरूबाट अग्रज स्रष्टाको सिर्जना नक्कल गरी आफ्नै नाममा सार्वजनिक गरिएको आरोप गम्भीर विषय भएको चर्चा सुरु भएको छ । यसले नेपाली लोकसंगीत क्षेत्रमा सिर्जनाकर्ताको अधिकार र मौलिकताको संरक्षणबारे नयाँ बहस सिर्जना गरेको छ ।
प्रकाशित मिति २०८३ जेष्ठ २०, बुधबार ०९:४० गते