मानव सभ्यताको विकास क्रमदेखि नै मानव इतिहासको पनि सुरुवात भएको छ । वास्तवमा शिलालेख इतिहासका स्रोतहरू हुन । यसबाहेक ताम्रापत्र, वंशावली र मानिसले मनाउँदै आएका चाडपर्व आदि इत्यादि सबै इतिहाससँग जोडिने विषयहरू हुन । इतिहास लेख्न तथ्य र प्रमाण चाहिन्छ । बिना तथ्य इतिहास बन्दैन । इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । त्यसैले इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य छन । लमजुङको चिति गाउँको धेरै इतिहास लुकेको छ । यसलाई सजिलै पहिचान गर्न सकिन्न ।
मानिसले आफ्ना पुर्खाको इतिहासलाई विशेष रुचिले खोज्ने र अध्ययन गर्न खोज्दछन । किनभने इतिहास वर्तमान र भविष्यको आधार हो । विविध जाति र समुदाय रहेको चिती गाउँमा पनि यो क्रम जारी छ । विगतमा आफ्ना पुर्खा कहाँबाट चितिमा आए ? कसरी गाउँमा बस्तीको विकास भयो ? शिक्षाको सुरुवात कसरी भयो ? आदि कुराको इतिहास चितिका बासिन्दाहरूले जान्न खोज्दछन । आफ्नो गाउँको इतिहासका कुरा अहिलेको पुस्ताका लागि रोचक हुने गर्दछ । इतिहासको अध्ययन र अनुसन्धानले कुनै समुदाय विशेषले विगतमा गरेको योगदान र तिनको अन्य समुदायसँगको अन्तर्सम्बन्ध थाहा पाउन मद्दत गर्दछ । यस्तो विषयको लेखनमा ऐतिहासिक स्रोत सामग्री आवश्यक हुन्छ, । तर चितीमा इतिहासलाई आवश्यक पर्ने तथ्य र प्रमाण अर्थात शिलालेख भेटिदैन । केही वंशाबली र लोक कथाको आधारमा चितिको इतिहासका कुराहरू खोज्नु पर्ने हुन्छ ।
जन्मभूमिको इतिहास जान्नु किन आवश्यक छ ? यसको उत्तर केवल भावनामा मात्रै होइन, ज्ञान, पहिचान र भविष्यको दिशासम्म गहिरोसँग जोडिएको हुन्छ । इतिहासमा धेरै कुरा लुकेको हुन्छ । इतिहास जान्नु भनेको पहिचान बुझ्नु हो । गाउँको नाम र मन्दिरदेखि जातजाति, संस्कार सस्कृति कसरी बने, किन बने ? यी प्रश्नहरूको उत्तर इतिहासमै भेटिन्छ । इतिहास थाहा पाउँदा व्यक्तिले आफ्नो पहिचानबारे स्पष्ट हुन्छ र गर्व गर्दछ । पुराना लोककथा, संस्कार र परम्परामा लुकेका ज्ञान गाउँको नाम कसरी रह्यो ? कुन वंश कहाँबाट आएर बसोबास गरेका हुन ? गाउँमा चाडपर्व किन मनाइन्छ ? गाउँका पुराना मन्दिर, थान वा पाटी–पौवा चौतारो उकालो ओरालाका ढुङ्गाका सिढीमार्ग कस्ले बनायो ? यी कुराको थाहा नहुँदा नयाँ पुस्ताले संस्कारलाई केवल पुरानाको बोझ ठान्न थाल्छन । इतिहास जानेन भने आफ्ना पुर्खाको मेहनत, संघर्ष र बलिदानलाई नचिन्नु हो । आजका युवाले इतिहास नबुझेकै कारण गाउँमा पुर्खाले निर्माण गरेका पोखरी, पाटी र पुर्खाले हिडेका बाटो हराउँदै गएका छन ।

इतिहासले वर्तमानलाई बुझन र भविष्य सोच्न सहयोग गर्दछ । सुनेको कुरा र वास्तविक तथ्य बीच ठूलो अन्तर हुन सक्छ । इतिहास लेखनले गलत व्याख्यालाई सच्याउँछ मिथक र यथार्थ छुटयाउँछ । वास्तविक प्रमाणसहित गाउँको कथा उजागर गर्छ । इतिहास नजान्दा गाउँ बिर्सिन थाल्छ । इतिहास लेखिएन भने गाउँका नामसँगै परम्परा, भाषा, बोली, जीवनपद्धति, भूमि–स्मरण सबै हराउन सक्छ । आजभोलि धेरै पढे–लेखेका मानिसहरूले पनि आफू जन्मेको गाउँको इतिहासप्रति चासो नदेखाउने क्रम बढ्दो छ । तर आफ्नै जमिन, आफ्नै पानी, आफ्नै संस्कारको इतिहास नजान्नु केवल जानकारीको कमी मात्र होइन पहिचान, परम्परा र सामुहिक चेतनाबाट टाढिनु पनि हो । पहिलो कुरा, इतिहास नजानेपछि मान्छे आफैं अपूरो बन्छ । गाउँको विगतसँग सम्बन्ध टुटेपछि म को हुँ ? भन्ने उत्तर पनि कमजोर बन्छ । इतिहास नजान्दा संस्कार कमजोर पर्छन । गाउँको इतिहास नयाँ पुस्ताका लागि पहिचान, प्रेरणा र दिशा दिने एउटा जीवित कक्षा जस्तै हो । गाउँ कहाँबाट उठेको हो, कसले बसाले, कुन परम्परा र संस्कार कसरी विकसित भए ? यी कुरा जान्दा नयाँ पुस्तामा आफ्नो ठाउँप्रति गर्व र पहिचानको भावना बलियो बन्छ । गाउँका पुराना चाडपर्व, गीत, नाच, जात्रा, मौखिक कथा, देवी–देवता र पुराना रीति–नीति इतिहासमार्फत नयाँ पुस्ताले जान्न सक्छन । गाउँको इतिहास भनेको नयाँ पुस्ताका लागि पहिचान, संस्कृति, ज्ञान र भविष्य निर्देशन दिने जीवन्त दस्तावेज हो ।
चिति गाउँको भूगोल इतिहास, संस्कृति, जातीय विविधता र प्राकृतिक सुन्दरताले भरिएको छ । अहिले चिति बेसीशहर नगरपालिका– ११ भए पनि बिगतमा अर्थात चिति मौजा थियो । २०१७ पछि चिति तिलाहर र आमडाँडा पञ्चायत हुदै चिति गाविस पनि भएको थियो । चिति गाउँमा इतिहास नलेखिएका कुरा धेरै छन । चिति गाउँमा लोक कथामा रहेको कतिपय कुराहरू सुनाउने जेष्ट नागरिकहरूको पनि कमि हँुदै गएको छ । चितिको केही इतिहास जान्नको लागि लमजुङको शाहवंशीय राजाहरूको शासन कालमा पुग्नु पर्दछ । कालु शाहलाई तत्कालीन घले राजाका सेनाले हत्या गरिदिए पछि लमजुङमा यशोबह्म शाहलाई राजा बनाएका थिए । लमजुङमा यशोब्रह्म शाहदेखि क्रमशः नरहरि शाह, चूडा शाह, अचिन्द्र शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रिपुमर्दन शाह र बीरमर्दन शाह समेत गरी वि.सं.१५५० देखि १८३९ सम्म ३०० वर्ष राज्य गरेका थिए । लमजुङका आठौं पुस्ताका राजा रिपुमर्दन शाहले राज्य सञ्चालन गर्दा लमजुङलाई २७ मौजा अर्थात भाग वा थुममा विभाजन गरेका थिए । जस मध्येको चिति, मञ्ज्याङ, शेरा, धिमिरे नौथर, वाह्रथर आदि मिलेर एक मौजा बनेको थियो ।
त्यो बेलामा रजस्थल, राजा बस्ने ठाउँ राजधानी वा गौंडा निर्माण गरेको ठाउँ । सराञ्चोक, राजाका सिपाहीले सरायँ अर्थात युद्धकलाको नाच खेल्ने ठाउँ । चौथर, गौंडाकोट भनी राज्यले सैनिक राख्ने ठाउँ । नौथर, बाह्रथर, लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ भनेर तोकिएको थियो भने चितिलाई राजाको चिताईदारहरूलाई बसोबास गर्न खटाइएको ठाउँ भन्ने थियो । चिति शब्द भागवत महापुराण र सप्तचण्डीमा समेत भेटिन्छ । चितिलाई चेतना भएको मानिसहरूको बसोवास गर्ने ठाउँ पनि भन्ने गरिन्छ । चिति शब्द चेतना ंईति मिलेर चिति शब्द बनेको हो । जसको अर्थ चेतनायुक्त मानिस बस्ने भएको हुनाले चिति नामाकरण भएको अर्थात शिक्षित मानिस बसेको ठाउँलाई चिति भनिएको हो । लमजुङका राजाका जग्गा जमिन घर दरवार पाटी पौवा आदीको रेखदेख चिताई बन्दोबस्त गर्ने व्यक्तिलाई बसोबास गर्न दिएको ठाँउलाई चिति नामाकरण गरिएको भन्ने सन्दर्भ पनि रहेको छ । चिति क्षेत्र भित्र स्याउत, तिलाहार, पण्डितथोक, तिवारीडाँडा, बिष्टथर, तीनपिप्ले, रामचोक र रामचोकबेसी, कार्कीडाँडा, डाँडाथोक, बरवोटबेसी आदि ठाँउ पर्दछन ।

शाहवंशको शासनकालमा चितिका तिवारी, पन्त, विष्ट, पाण्डे, जोशी र रेग्मीहरूको भूमिका महत्वपूर्ण रहेको थियो । चितिका ज्ञाननिधी तिवारीले राजासँग मित लगाई महिनाको एक दिन शासन गरेको, विष्टहरूले राजाका सेनालाई ६ महिनालाई पुग्ने धान दिने कबुल गरेको, स्याउतका पन्तहरूलाई विर्ता दिएको, रामशाली र ताराशाली पन्तको तान्त्रिक शक्ति आदि लोककथा पनि चितिमा पाइन्छ । सेरा फाँटमा मनाङेहरू जाडो छल्न आएर बस्ने र कुमालेहरू माटाका भाडा बनाएर व्यापार गर्न आउने कुरा, दलालमा ठूली एकादशीको दिन लाग्ने मेला अहिले कथा जस्तै भएको छ । चिति गाउँमा रहेका पानी पधेरा, चौतारा र उकाली–ओरालीका ढुंगाका सिँढी मार्गहरूको लिखित इतिहास भेटिदैन । गाउँमा रहेका ती सबै सम्पदा पुर्खाहरूको सामूहिक श्रम र सामाजिक सदभावका प्रतीक मानिन्छन । चिति गाउँको इतिहासमा कुनै शिलालेख वा सरकारी अभिलेख नपाइए पनि गाउँमा रहँदै आएको लोक कथाअनुसार यी संरचनाहरू गाउँ जोड्ने, यात्रुहरूलाई आश्रय दिने र दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले निर्माण भएका थिए ।
चिति तिलहारमा चाँपको रुख पनि थियो । चाँपको रुख भएका कारण तिलाहरलाई चाँपाबोट भन्ने गरेका थिए । पछि तिलाहरको नामले प्रख्यात भयो । तिलाहर शब्द गुरुङ भाषाबाट आएको हो । तिलाहारको भाषिक व्युत्पत्ति गुरुङ भाषामा ‘तिला भन्नाले सँुगुर हुन्छ । तिलाहरलाई गुरुङ भाषामा सुँगुरको बथान अर्थात हुल भन्ने गरिन्छ । तिला भनेको सुँगुर र हार भनेको लाम हो । शिलालेख त छैन तर जनश्रुती अनुसार चिति तिलाहारको अहिलेको ठाउँमा परापूर्वमा चेपाङहरूको बस्ती थियो । चेपाङ जातीले सुँगुर पाल्ने र त्यो समयमा सुगुरलाई छाडा छोड्ने चलनले गुरुङहरूले डाँडाबाट हेर्दा सुँगुरको लाइन देखेको हुदा तिलाहार भन्ने गरेको हो । स्याउत र चितिको अन्य गाउँमा बस्ती विकास हुन लागेपछि चेपाङ जातिहरू तिलाहारबाट बिस्थापित भएको कथा पनि छ । यो खोजको बिषय बन्ला । त्यसपछि चितिमा पन्त, कमली, तिवारी र बिष्टहरूको बसोवास हुन थाल्यो । चितिमा पन्तहरू पाचँ किसिमका छन । बिष्ट थरका पन्त र रामचोकका पन्तहरू गोरखाको गाईखुरबाट आएका हुन । उनीहरूलाई बिष्टहरूले ल्याएका थिए । रामचोकका पन्तहरू चितिमा आएका अहिले सात पुस्ता भएको छ । ती पन्त भारद्वाज गोत्रका हुन । बिष्ट थरका र रामचोकका पन्तहरू कुमाउगढबाट बैतडी हुँदै पाल्पा र गोरखा पछि चिति गएका हुन । पण्डीत थोकका पन्तहरू सुरुमा कार्कीडाँडाबाट पण्डीतथोकमा आएका हुन । उनीहरू पण्डीतथोकमा आएर बसोवास गर्न थालेका कति पुस्ता भयो ? त्यो थाहा नभए पनि परमानन्दका छोरा नित्यानन्द पन्त आएका थिए भन्ने पन्तहरूले भन्ने गर्दछन ।

चितिमा पाण्डे र तिवारीको बाहेक अहिलेसम्म वशावली लेखिएको छैन । तर पनि कतिपय थरले आफ्नो वंशावली तयार गर्न खोजी कार्यमा लागेका छन । चिति तिलाहारमा सुरुमा बसोवास गर्ने चेपाङ जाति हुन भन्ने लोककथा भएपनि उनीहरू कुन समयमा बसेका हुन र पछि कहाँ गए भन्ने बारे कतै पाइदैन । चितिमा बसोवास गर्नेहरूमा पुर्वे बाह्मणहरूमा दवाडी, घिमिरे, बराल, ढकाल, लुइटेल, पौडेल, वाग्ले, रेग्मी र न्यौपाने रहेका छन । कुमाइ बाह्मणहरूमा तिवारी, बिष्ट, कमली, पन्त, पाण्डे, सिलवाल, सेडाई, गोल्ने, थपलिया, गौली र लौडारी रहेका छन । जनजातिहरूमा नेवार, घर्ती, गुरुङ, घले, तमाङ, लामा, मगर, खवास आदि रहेका छन भने क्षेत्रीहरूमा कुताल, बगाले, बस्नेत, भण्डारी, खड्का, खत्री र सुयल लगायत छन । तर आजभोलि अन्तरजाति विवाहले गर्दा बाह्मण जातिहरूबाट पनि क्षेत्री हुने क्रम बढ्दो छ । चितिमा दशनामीमा जोगी र कुवर(कमर) पनि छन । चितिमा दलितमा कामी, दमै र सार्कीहरूको पनि बसोवास छ । दलित भित्र पनि विभिन्न थरका जातिहरू छन ।
चितिमा भएका मठ मन्दिरहरूको कुने पुरातात्विक शिलालेख र ताम्रपत्र भेदिदैन । तर पनि रामचोकको निशान गढी अर्थात कालिका मन्दिरको छुट्टै इतिहास रहेको छ । द्रव्य शाहले १६१६ सालतिर लिगलिगकोटको दौडमा लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरी राजा भए । द्रव्य शाह राजा भएकोमा दाजु नरहरि शाहलाई ईष्र्या भयो । भाई द्रव्य शाहले मेरै सरदारको रुपमा गोरखा विजय गरेकाले गोरखा माथी लमजुङकै अधिकार हुन्छ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाह बीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने प्रयास समेत भयो तर सफलता भएन । दाजु भाइको बीचमा झगडा हँुदा आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दुधको धारा बगाउँदै सीमा कायम गरेको इतिहास छ । त्यो बेला लिगलिगकोटदेखि लमजुङको गाउँशहर आउन द्रव्य शाहका सेनाहरू चेपे तरेपछि साइलीटार हुँदै प्याराजुङ, भार्ते भएर दोर्दी खोला तरि रामचोक बेसीको बाटो हिडने गर्दथिए । आफ्नो राज्यसंग लड्न आउने द्रव्य शाहका सेनालाई टाढा बाटनै देख्न सकियोस भनेर नरहरि शाहले चिति रामचोकमा निशान गढी निर्माण गर्न लगाएका थिए । जुन गढीमा अहिले निशान कालिकाको मन्दिर निर्माण भएको छ । अर्कोतर्फ नरहरि शाहको पालामा तिलाहारमा पनि कोट खडागरी पुजा चलाएका थिए । तिलाहारको कोटमा पुजा भएपछि गाउँशहरको कालिकामा पुजा हुने कुराको लोक कथन पनि छ । तिलाहारको कोट कालिकाको थानमा अहिले पनि रेग्मी थरका बाह्मणहरूले पुजा गर्दै आएका छन ।

इतिहासमा चिति गाउँको शिक्षाको विकास गुरुकुलबाट सुरु भएको हो । गुरुकुल शिक्षाको विकासले गाउँको सामाजिक चेतना, सामुदायिक सहयोग र समयानुसार शिक्षाप्रतिको आवश्यकता पहिचान हँुदै गयो । औपचारिक विद्यालय स्थापना हुनुभन्दा अघि चिति गाउँमा गुरु, पण्डितद्वारा वेद–पुराण, नीतिशास्त्र, व्याकरण, धर्मकर्म, संस्कृत भाषा तथा व्यवहारिक ज्ञान सिकाइने गर्थे । गुरुकुल शिक्षाले गाउँको पुरानो पुस्तालाई नैतिक मूल्य, सामाजिक जिम्मेवारी र धार्मिक संस्कारसँग जोडेर राख्यो । गाउँको खुला चौतारा वा निजी घरका छानोमुनी नै गुरुकुलका कक्षा थिए । त्यो बेला औपचारिक विद्यालय नभए पनि साक्षरता र संस्कार दुवैको संरक्षण गुरुकुलबाटै शुरु भएको थियो । राणाशासनको कालमा २००४ सालमा चितिमा भाषा पाठशाला स्विकृत पाएको थियो । त्यो बेलामा पं. टिका निधी खनाल हरिभक्त देवकोटा र नरहरि उपाध्यले भाषा पाठशालामा अध्यापन गराउनु भएको थियो । त्यो समयमा पाठशालाको भवन थिएन । त्यसैले गुरु जहाँ बस्नु हुन्थो त्यहि घरको धन्सार अथवा नजिकैको चौतारा कक्षा कोठा हुने गर्दथ्यो ।
२००८ सालमा पं. टीकानिधी शर्मा टेकनिधी तिवारीको पुरानो घरमा बस्नु हुन्थो । घुमन्ते पाठशाला चलाउदा धेरै असुबिधा भएकोले त्यहिबेला चितिमा पाठशाला भवन निर्माण गर्ने कुरा चल्न थाल्यो । टीकानिधी गुरुको डेरा नजिमको पाखामा पाठशाला निर्माण गर्न थालियो । तर जमिनका हकभोगको बारेमा गन्थे पाण्डे र खगनिधि तिवारी बीच जिवाद भयो । जमिनको विवादको कारण निर्माण कार्य स्थगित भयो । त्यसपछि पाठशाला आमडाँडाको चौतारोमा सञ्चालन भयो । पछि गुरु रामचोकमा बस्नु भएकोले पाठशालाको पढाइ पनि रामचोकमा हुन थाल्यो । रामचोकमा सञ्चालन भएको पाठशालाको भवन निर्माण गर्न १४÷१५ साल तिर झपिन्द्रराज बिष्टको अगुवाइमा सहयोग जुटाउने अभियान सुरु भयो । सहयोग माग्नको लागि पाठशालामा पढने बिद्यार्थी घर घरमा पुग्न थाले । सहयोग रकम नदिनेको घरमा सत्याग्रह समेत गर्न थाले । त्यो बेला पाठशाला निर्माणको लागि सहयोग नदिने गैराथोकका रविलाल पाण्डेको घरमा एक रात विद्यार्थीहरूले सत्याग्रह गरेको पनि इतिहास छ । उठेको रकमबाट नाङ्गेको पाखामा निर्माण भएको भवन पनि भत्कियो । त्यो भवनमा नर्मल तालिम प्राप्त शिक्षिका प्रेमकुमारी पन्तले पनि केहि समय पढाउनु भएको थियो ।
चिति गाउँमा भाषा पाठशालामा अध्यापन गर्न थालेपछि अंग्रेजीको पठन पाठन गर्नेक्रम सुरु भएको थियो । २०१० सालमा काठमाडौबाट भैरव प्रसाद लोहनीलाई अंग्रेजी पढाउन तिवारीडाँडामा लगियो । त्यतिबेला भैरव लोहनी मास्टर बुढा अर्थात गुरुले बैद्य डाँडाको बुधनिधिको धन्सारमा पढाउनु हुन्थो । त्यहि बेला स्याउतका कमल मूर्ती पन्तले २०११ सालमा आफ्नै घरको धन्सारमा सर्वोदय पुस्तकालयको स्थापना गर्नु भयो । त्यो पुस्तकालय अहिले शान्ती प्रा.वि.मा रहेको छ । त्यसैबेला भैरव गुरुको सहयोगमा तिवारीडाँडाका काठमाडौमा पढने विद्यार्थीहरूले पनि केही समय काठमाडौदेखि पुस्तक र पत्रपत्रिकाहरू ल्याएर चितिमा पढ्ने सुबिधा भएको थियो । तर पनि त्यो बेला संस्कृत शिक्षा मात्र होइन अब अंग्रेजी शिक्षा पनि पढ्न पर्दछ भन्ने भावनाको विकास हुन थाल्यो । ०१७ सालमा राजा महेन्द्रको पैदल यात्रा पोखरा तिर थियो । त्यहि समय पारी भैरव प्रसाद लोहनी र केहि विद्यार्थीसमेतले चितिमा मिडिल स्कूल माग गर्न राजाको सवारी भएको बाटो तार्कुघाट पुगेका थिए । त्यो बेला राजालाई भैरव लाहनीद्वारा रचना गरिएको कविता समेत राजालाई सुनाइयो । चितिका विद्यार्थीहरूलाई राजाबाट सवारी क्याम्प पोखरामा बोलाबट भयो । पछि राजाको सवारी क्याम्प पोखरामा जान भैरव लोहनी र कृष्णबाबु तिवारी जान लाग्दा सिउँडीबारमा पुग्दा गुरु बिमारी भएर फिर्ता हुनु भयो । यो बेला पनि चितिमा मिडिल स्कूल खोल्ने सपना पुरा भएन ।

अंग्रेजी शिक्षाको मोह स्याउत गाउँमा पनि भएछ । कोमलराज पाण्डेको घरमा पढाउने क्रममा खुदीमा खुलेको ग्राम विकास केन्द्रबाट स्याउतमा प्राइमरी स्कूलको स्विकृति भएछ । स्कूल स्विकृति भएपछि गोरखाका रामलाल श्रेष्ठ र रामेश्वर मरहठ्ठाले पढाउनु भएछ । यसरी प्राइमरी स्कूल स्विकृति भएपनि गाउँमा भाषा पाठशाला भने रोकिएको थिएन । गाउँका साना केटाकेटीहरूलाई अक्षर चिनाउने काम तिलाहारका लक्ष्मीप्रसाद वाग्ले गुरुले गर्नु हुन्थो । ०१७ सालमा चिति आमडाँडामा पनि भाषा पाठशालास समावेस गरी महेन्द्र प्राइमरी स्कूल सञ्चालन भयो । भवन निर्माण गर्न पं. मुरारीदत्त पन्तले जग्गा दान दिनु भयो । तिवारी डाँडा, बिष्टथर र हटियाका सबै शिक्षा प्रेमीहरूको सहयोगमा स्कूलको भवन पनि बन्यो । तर केही समयपछि स्कूलको भवन भत्कियो र पठनपाठन पनि बन्द भयो । पछि महेन्द्र प्राइमरी स्कुल सञ्चालन भएको जमिनमा २०२७ सालमा शिक्षक रुद्रनिधी तिवारीले आमडाँडामा युवाज्योती प्रा.वि. सञ्चालनमा ल्याउनु भयो । अर्कोतर्फ ०१९ सालमा टेकनिधि तिवारीका जेठा छोरा रामबाबु तिवारीले तिलाहारमा स्वयम्सेवा दिने उद्देश्यले प्राइमरी स्कूल सञ्चालन गर्नु भयो । स्कूल सञ्चालन गर्नको लागि समाजसेवी हर्कबहाुर बिष्टले जमिन दिएर सहयोग गरे । तिलाहारमा पाठशाला खुलेपछि खानेपानीको समस्या भयो । त्यो बेला हर्कबहादुर बिष्टको सक्रियतामा माटोको ध्वाङ् अर्थात पाईप कुमालेहरूबाट बनाउन लगाएर चिसापानीदेखि करिव डेड किलोमिटरको दुरीबाट तिलाहारमा खानेपानी ल्याइएको थियो । त्यो माटोको पाइप ठाउँ ठाउँमा फुट्न थालेपछि पुन बासको घनालाई बीच बीचका आँखालाई छिनोले खोली खानेपानीको समस्या धमाधान भयो । पछि २०२३ सालमा रुद्रनिधि तिवारीको अगुववाईमा युनिसेफले दिएको जिआई पाईप पालुङटारदेखि विद्यार्थीहरू र गाउँलेद्वारा बोकेर ल्याई पुनः त्यो खानीपानीलाई निरन्तरता दिइएको थियो । चितिमा खानेपानीको योजनाको यो नै पहिलो हो ।
चितीमा घरमै गुरु राखेर अंग्रेजी शिक्षाको पठन पाठन हुन थालेपछि हाई स्कुलको आवश्यकता महसुस हुन थाल्यो । अंग्रेजी शिक्षा पढाउनु पर्दछ भनेर तिवारी डाँडाका पुष्पनिधि तिवारीले २०१८ सालमा काठमाडौदेखि भैरवदत्त लोहनीलाई ल्यायर आफ्नै घरमा अंग्रेगी शिक्षा पढने इच्छुक सबै बावालिकाहरूलाई पढने अवसर दिनु भएको थियो । तर हाई स्कूल सञ्चालन गर्न तिवारीडाँडा, रामचोक, स्याउत र कार्कीडाँडाको बीचमा विवाद थियो । तिवारीडाँडा र रामचोकका मानिसले आमडाँडामा हुनपर्छ भन्ने, कार्कीडाँडाकाले आफ्नै गाउँमा र स्याउतकाले मिडिलस्कूल सञ्चालन भएको आफ्नै गाउँमा हुनु पर्दछ भन्ने तर्क राख्दा हाई स्कुल तिलाहारमा राख्ने बारे गाउँमा एक मत हुन सकेको थिएन । त्यसैबेला सर्वोच्च अदालतका अतिरिक्त न्यायाधीश लोकराज जोशी सेवा निवृत्त भएर आफ्नो गाउँ कार्कीडाँडामा स्कूल सञ्चालन गर्नका लागि गुठीसमेत राखेर थिए । कार्कीडाँडामा स्कूल सञ्चालन भएपछि न्यायाधीश लोकराजलाई पनि चितिमा हाइ स्कूलको आवश्यकताको महसुस भयो । त्यसपछि हाई स्कुल सञ्चालन गर्ने काममा लोकराज जोशी अतिरिक्त न्यायाधीश भएर होइन समाजका साझा अभिभावक भएर प्रस्तुत भए । न्यायाधीश लोकराज जोशीको अगुवाइमा सबै गाउँका प्रतिनिधि, वडाका अगुवा, बुद्धिजीवी, किसान र युवाहरूको भेलाले तिलाहारमा हाइस्कुल बनाउने निर्णय भयो । त्यसको लगतै २०२१ साल पौष १ गतेदेखि जनकल्याण हाई स्कुल सञ्चालन भयो । हाई स्कुलको लागि हर्कबहादुर बिष्टले प्रदान गर्नु भएको, जहाँ रामबाबु तिवारीले प्राथमिक विद्यालयको लागि जग खनेका थिए, त्यही ठाउँमा कच्ची खरको छानाको टहरा निर्माण गरी कक्षा सञ्चालन भयो । त्यो बेला हाई स्कुलमा पढाउन काठमाडौमा अध्यन गर्ने नूतननिधि तिवारी, यज्ञनिधि तिवारी, लक्ष्मणराज बिष्ट, कृष्ण बाबु तिवारी, शेषनिधि तिवारी, पीताम्वर जोशी लगायतले आफ्नो अध्ययन स्थगित गरी अध्यापन कार्यमा लागे । यसैगरी तर्कशाली पन्त र लक्ष्मी प्रसाद वाग्लेले पनि अध्यापन कार्यमा लाग्नु भयो भने बटुकराज बिष्टले विद्यालयको प्रशासनिक काम गर्नु भयो । सुरुमा भद्र पाण्डेले विद्यार्थीहरूलाई बैशबोटको पानी बोकेर खुवाउनु भयो ।

तिलाहारमा हाई स्कुलको भवन बनाउन २०२४ सालमा सुरु भयो । १८४ हात लामो स्कुलको भवन निर्माण गर्ने त्यो बेलाका दक्षकर्मी कार्कीडाँडा निवासी सेते कामी अर्थाल काइलो कामी थिए । भवनको शिलन्यास रामचोकका डिल्लीध्वज पन्त जो अंग्रेजी शिक्षा र कपाल बंगाली काटनेहरूको बिरोध गर्दथे, उनैबाट भयो । स्कुलको भवन बनाउन कुनै सरकारी बजेट थिएन । चितिका आमडाँडा र तिलाहार गाउँ पञ्चायत मात्र नभएर त्योबेला ढोडेनी, फलेनी, बाह्रथर, टक्सार, उदिपुर बाजखेत, बन्सार सिख्र लगायत पञ्चायतले पनि श्रमदान गरेका थिए । स्याउत जाने बाटोमा पर्ने दाह्रेगौडामा ढुङाको खानी बनायर महिनौं दिनसम्म हाईस्कुलका लागि मानिसहरूले ढुङ्गा बोकेको इतिहास छ ।
चितिको पहिलो औपचारिक रुपमा स्विकृत प्राप्त विद्यालय शान्ती भवन मिडिल स्कुल स्याउतको हो । त्यो विद्यालय २०१५ सालदेखि पठन पाठन सुरु भै २०१७ मा स्विकृत भएको थियो । त्यसपछि ०२१ सालमा तिलाहरमा जनकल्याण मावि हुँदै लोकराज मा.वि. र बाल विकास मा.वि.समेत अहिले ३ वटा मा.वि. रहेका छन भने जनजागृत आधारभुत विद्यालयदेखि बजारखुट्टा, तीनपिप्ले, आमडाँडा, स्याउत, रामचोक र बस्नेत गाउँसमेत गरी ६ वटा गाउँमा प्राथमिक विद्यालय सञ्चालनमा छन । रामचोक बेसीको बाल विकास माध्यमिक विद्यालय २०४४ सालमा प्रा.वि. सञ्चालन भै ०६६ सालमा निमावि र ०७८ सालदेखि माविको कक्षा सञ्चालन हुँदै आएको हो । चितिमा निजी क्षेत्रबाट न्यू मेरिगोल्ड बोडिङ पनि सञ्चालनमा छ । रामचोक बेसीमा मानिसहरूको बसोवास सुरु भएको करिवन ५० बर्ष भयो । बसोवास बढ्दै जाँदाबेसीमा पनि स्कुलको आवश्यकता महसुस भयो । विद्यालय निर्माणको काम वास्तवमै चुनौतीपूर्ण काम थियो । विद्यालय निर्माणमा धेरै कठिनाइहरू हुन्छ । तर पनि रामचोक बेसीका आम जनताले गाउँमा विद्यालय स्थापना गर्न सके । २०४४ सालमा प्रा.वि. सञ्चालन भएको बाल विकास माध्यमिक विद्यालयले अहिले ३८ बर्ष पार गरेको छ । सामुदायिक विद्यालयको विकासमा दाताहरूको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ । रामचोक बेसीका जनताले कतिले भवन निर्माणको लागि जमिन भवन निर्माणको लागि आर्थिक सहयोग, खेलसामग्री, छात्रवृत्ति वा प्रविधि उपकरण उपलब्ध गराएका छन । यसरी शिक्षाको विकासका लागि रामचोक बेसीका जनताले गरेको सहयोग विद्यालय प्रतिको विश्वास हो ।
चिति गाउँमा शिक्षाको विकास पुर्खाको त्याग, पसिना र सामूहिक चेतनाको साक्षी बनेको लामो यात्रा हो । चिति गाउँमा विद्यालय स्थापित गर्ने क्रममा कसैले आफ्नै खेतीयोग्य जमिन दियो, कसैले घरमा बचत गरिएको पैसा चन्दा राख्यो, कसैले मज्दुरी गरेर आएको कमाइ विद्यालयलाई समर्पण गरिदिए । कसैले ढुङ्गा काठ, बालुवा बोकेर श्रमदान गरे । आज विद्यालय स्थापना गर्दा जमिन दान गर्ने, ढुङ्गा बोक्ने, चन्दा उठाउने, विद्यार्थी बटुल्ने ती पुराना मान्छेहरू धेरैजना अब भौतिक रुपमा छैनन । अर्कोतर्फ धेरैजना बुढेसकालका कारण ओझेल परिरहेका छन । केहीका नाम अभिलेखमै हराइसके, केहीका नाम गाउँलेहरूलाई सम्झिन मुस्किल भइरहेको छ । तर इतिहासको आँखाले योगदानलाई कहिल्यै बिर्सँदैन । मान्छे मर्छन, तर उनीहरूले रोपेका बीउहरू पुस्तौँसम्म उम्रिरहन्छन । चितिका ती पुराना बुद्धिमान, त्यागी र श्रमजीवी मानिसहरू आज देखिएको प्रत्येक विद्यालयको हरेक भवन, पर्खालमा, आँगनमा, घण्टीको आवाजमा, र बालबालिकाको खुशीमा जीवित छन ।
आज चितिका विद्यालयहरू केवल ‘पढने ठाउँ मात्र होइनन् । समुदायको सामूहिक सपना र संघर्षका प्रतीक बनेका छन । चिति गाउँका ती शिक्षा–प्रेमी महानुभावहरू, जसले जीवनभर गरेको त्यागपछि न त आफैँले सम्मान खोजे, न त आफ्नो कामलाई इतिहासमा लेखाउन माग गरे ! आज उनीहरू चितिका विद्यालयहरूकै रुपमा, बालकहरूको सपनामा, शिक्षकहरूको कर्ममा र समुदायको सामूहिक चेतनामा अमर भएर बसेका छन ।’
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ जेष्ठ २१, बिहीबार ०८:५१ गते