
काभ्रेस्थली(काठमाडौं)– वरिष्ठ लोकगायक कृष्ण ‘सुधा’ ढुंगानालाई ठाडोभाका लोककला प्रतिष्ठान, लमजुङले उहाँको उपचारमा सहयोग गरेको छ । यहाँ स्थित ‘सुधा’को निवासमा आएर पूर्वप्रशासक समेत रहनु भएका प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी र आजीवन सदस्य विष्णु परियारले सहयोग रकम जेठ २३ गते हस्तान्तरण गर्नु भएको हो ।
प्रतिष्ठानका सल्लाहकार अधिकारीले प्रतिष्ठानकोतर्फबाट ढुंगानाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु हुँदै उहाँको दुःखमा प्रतिष्ठान साथै रहेको भन्दै सहयोग राशी (नगद १० हजार रुपैयाँ) ‘सुधा’लाई हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा अधिकारीले लोक सिर्जना तथा गायनका क्षेत्रमा अग्रस्थान लिदै आउनु भएका ‘सुधा’ले सिघ्र स्वास्थ्य लाभ प्राप्त गरी पुनः पूर्ववत् रुपमा यो क्षेत्रमा फर्कने विश्वास व्यक्त गर्नु भयो ।
सोही अवसरमा प्रतिष्ठानकी आजीवन सदस्य विष्णु परियारले नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा म जस्ता अनुजहरूले ‘सुधा’जस्ता अग्रजबाट लोकगीत के हो ? र यस क्षेत्रमा लागेर नेपाली भाषा, कला, संस्कृतिलाई कसरी बचाउन पर्दछ भन्ने सिक्न बाँकी छ । त्यसैले हजुर छिट्टै स्वस्थ हुनस् भन्दै स्वास्थ्य लाभको कामना गर्दै ‘सुधा’बाट आशीर्वाद लिनु भएको थियो ।
सो अवसरमा उहाँकी धर्मपत्नी अम्बिका ढुङ्गाना पनि साथै हुनुहुन्थ्यो ।
प्रतिष्ठान मुनाफारहित संस्था हो तर पनि कलाकारहरूको दुःखमा साथी हुनुपर्छ भन्ने धेयले सो रकम ‘सुधा’को उपचार सहयोगमा पठाएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानले सदस्य हितकोषमा दुई लाख रुपैयाँ राखेको छ । उहाँले भन्नुभयो, ‘त्यसको व्याज रकमबाट हरेक वर्ष यस्ता घट्नामा पर्ने सदस्यहरूलाई सहयोग गर्ने रहेकोमा यो वर्षको रकम ‘सुधा’ प्रतिष्ठानको सदस्य नहुनु भएपनि लमजुङका उपज कलाकार हुनुभएको हुँदा प्रतिष्ठानका संरक्षक तथा पदाधिकारीहरूसँग सल्लाह गरी सो रकम सहयोगार्थ पठाएको हो ।’ हामी प्रतिष्ठान परिवार सर्जक तथा गायक मित्र ‘सुधा’को सिघ्र स्वास्थ्य लाभको कमना गर्दछौं पहाडीले भन्नुभएको छ ।
उहाँले स्वास्थ्यमा पूर्ण सुधार आएपछि आउदा दिनमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा पुनः सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिष्ठानका आजीवन सदस्य परियारले जानकारी दिनु भएको छ ।
वरिष्ठ लोकगायक तथा सर्जक ढुंगाना यही जेठ २ गते मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएको थियो । उहाँको स्थानीय अन्नपूर्ण अस्पतालमा शल्यक्रिया गरिएको थियो । उहाँ हाल आफ्नै निवासमै स्वास्थ्य लाभ गरिरहनु भएको छ ।
नेपाली मौलिक संस्कृति, लोकभाका र परम्परागत सङ्गीत संरक्षणमा उहाँको योगदान उल्लेखनीय मानिन्छ । नेपाली लोकसङ्गीतका मौलिक धरोहर मानिनु हुने ढुङ्गानाले ‘धान झुलेको छ’, ‘ढाका टोपी मैलो धुने बहिनी घर गई, के रमाइलो छ र खै !’, ‘तिम्लाई टाढा मलाई नि टाढा, माछी काँडे डाँडैमा घर सार’ लगायतका लोकप्रिय गीतहरूको सिर्जना तथा प्रस्तुतीमार्फत नेपाली लोकसङ्गीतमा विशेष योगदान पुर्याउँदै आउनुभएको छ ।
‘सुधा’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यका रूपमा समेत कार्यरत रहिसक्नु भएको छ ।
लमजुङ बालाजु समाजको ९२ हजार ८ सय सहयोग :
यसअघि, लोकगायक तथा सर्जक ढुंगानालाई यसअघि लमजुङ बालाजु समाजले पनि उहाँको उपचारका लागि ९२ हजार ८ सय रुपैयाँ सहयोग गरेको थियो ।
उहाँको उपचारका क्रममा लमजुङ बालाजु समाजले सहयोग अभियान सञ्चालन गरी समाजका पदाधिकारीहरू उहाँको निवासमा पुगेर सो रकम संकलन गरी उहाँकी धर्मपत्नी अम्बिका ढुङ्गानालाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति २०८३ जेष्ठ २३, शनिबार २१:२४ गते