
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा पनि पुराना दलहरू नेपाली काँग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिष्ट पार्टीको गुटबन्दी गर्ने महारोग सल्किएको छ । रास्वपा लमजुङमा जेठ २४ गते भएको जिल्ला अधिवेशनका क्रममा गरिएको निर्वाचनको परिणामले त्यस्तो पुष्टि गरेको हो ।
पार्टीमा गुटबन्दी गर्दा अर्थात प्यानल बनाएर निर्वाचनमा जादा त्यसले सुखद परिणाम दिएको छैन, आज पुराना भनिने दलहरू नेपाली काँग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिष्ट पार्टी लगायतका दलले भोग्नु परेको दुर्दशा तथा राप्रपाले हालै बोहेर गर्नु परेको फुटको कटु अनुभवले ती दल आज नेपेथ्यमा पर्नु परेका मुख्य दुई, तीन कारणमध्ये गुटबन्दी नै हो र रास्वपा भित्र त्यस्तो महारोग भित्रन दिनु हुन्न भन्ने मान्यता राख्ने र प्यानल नबनाई चुनावी मैदानमा जाने व्यक्तिहरूको निर्वाचन परिणाम घोषणा हुँदा पत्तासाफ भएको देखिएबाट त्यस्तो पुष्टि भएको देखिन आएको हो ।
त्यसो त सो दलको जिल्ला अधिवेशनका लागि मतदाता बनाउने कार्यशैली नै शुभ देखिएको थिएन । नेपालका दुर्गम जिल्ला तथा गाउँहरू प्रविधि मैत्री भइनसकेको स्थितिमा अनलाइनमार्फत (केन्द्रीय पोटल)मा अंकित भएका नाममात्र मतदाताको सूचिमा राख्ने केन्द्रको नीति र त्यस्तो नाम पठाउने अधिकार मौजुदा जिल्ला समितिलाई मात्र दिने कार्यले गर्दा त्यसले डाडु–पनियो हातमा हुनेले आफूलाई मत नदिने, व्यक्तिको सकेसम्म नाम छुटाउने प्रयास गरे, आफ्नो अनुकुल हुन्न भन्ने वडाहरू र पालिका(दूधपोखरी गाउँपालिका, दोर्दीका छवटा वडा तथा मर्स्याङदी– ४ मा अधिवेशनका लागि आलटार गरियो र हुनै दिइएन । विभाग लगायतका समितिमा मनोनयन गर्दा पनि ‘राम्रोलाई भन्दा हाम्रो’लाई प्राथमिकता दिने पुराना दलकै नीति अवलम्बन गरिएको पाइयो ।
अंकमा सुनाइनु पर्ने कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा प्रतिनिधिहरूले अंकका नाउँमा १ रुपैयाँसम्म पनि सुन्न पाएनन् । त्यति मात्र हैन कोषाध्यक्षले आर्थिक प्रतिवेदन सुनाउने क्रममा ‘पार्टीको आर्थिक स्थिति ‘भत्केको साइकल’को अवस्थामा रहेको’ टिप्पणी गर्दासमेत त्यसको प्रतिवाद गर्न जिल्ला नेतृत्व तयार भएन । कार्यकर्ता पंक्तिमा पनि उम्मेदवारको क्षमता पहिचान गर्ने, क्रियाशीलता एवम् पाँच वर्षे कार्य योजनाको मूल्यांकन गर्नेतर्फ कसैको ध्यान गएन ।
त्यस्तै, अनुशसानको कारवाहीमा परेका व्यक्तिको कारवाही हप्ता दिन नबित्दै फुकुवा गरियो एकतिर भने अर्को तिर अनुशासन विभाग र संगठन विभागमा उजुरी परेका व्यक्तिको कारवाही किनारा नलाग्दासम्म उम्मेदवार हुन अयोग्य हुने भन्ने निर्वाचन कार्यविधिमा उल्लेख हुँदाहुँदै पनि अनुकुलका व्यक्तिलाई उम्मेवादर बन्न बाटो खोलाउन रातारात सफाई दिने काम गरियो । तर त्यसको जानकारी सम्बन्धित उजुरकर्तालाई नदिई निर्वाचन समितिमार्फत दावीविरोधको बेलामा मात्र सुनाउने काम गरिनुले विधिको के कति उपहास गरिएको छ भन्ने पुष्टि हुन आएको सो दलका एक कार्यकर्ताले नाम नबताउने सर्तमा भने । उनका अनुसार निर्वाचनमा तीन प्यानल प्रष्ट देखिएको थियो ।
त्यसप्रकारको पार्टीको स्थिति जिल्लामा हुँदाहुँदै पनि जिल्लाबाट केन्द्रीय तहमा नेतृत्व गर्ने नेताहरूको भूमिकासमेत गुटवन्दीलाई प्रोत्साहन गर्नेतर्फनै उन्मुख रह्यो । उल्लेखित कारणले गर्दा ‘फलामको च्यूँरा चपाउनु’ जस्तै स्थितिमा रहेको रास्वपाका भोलिका दिन के कसरी बित्ने हुन् त्यो हेर्न बाँकी छ ।
त्यति हुँदाहुँदै पनि रास्वपाको जिल्ला तदर्थ समितिको टिमले सहज जीत हासिल गर्न भने सकेन । आफ्नो अनुकुल पार्टीलाई हाक्दै आउनु भएका उपसभापतिले ‘हारको मार खेप्नु’ परेको छ । निवर्तमान जिल्ला नेतृत्वको पार्टी कब्जा गर्ने नीतिका कारण तत्कालीन सचिव गाउँ फर्किको स्थिति छ । त्यस्तै, जिल्लाको टिमसँग मिलेरै काम गर्दै आउनु भई पार्टीको प्रदेश सचिवालय सदस्यसमेत बन्नुभएका व्यक्तिले समेत आफ्नो प्यानल बनाउँदा बनाउँदै पनि पराजय भोग्नु पर्यो । प्यानलमा पनि दुई तीन तिर सन्तुलन मिलाउनेहरूको सानदार जीत हात लगाउन सफल भएको निर्वाचन परिणामले देखाएको छ । यस्तो स्थितिमा डाडुपनियो आफ्नो हातमा नहुने र गुट नबनाउनेहरूको पत्ता साफ हुनु अस्वभाविक होइन ।
निर्वाचन समितिबाटसमेत कतिपय मामलामा निर्वाचन कार्यविधि मिच्ने काम भयो, निर्वाचनको कार्यतालिमा समेत टाँस नगरी मौखिक आदेशकै भरमा निर्वाचन सम्पन्न गरियो । परिचयपत्रमा फोटो अनिवार्य हुनुपर्ने प्रावधान लागू गरिएको एकको कार्ड अर्कोले लगेर मदतान गर्ने काम समेत गरियो, निर्वाचनका क्रममा उम्मेदवारका बीचमा ककस लगायतका कार्य नगरी जसरी पनि छिटो काम सक्नेतर्फ निर्वाचन समिति उन्मुख रह्यो ।
सो अवधिवेशनमा २१५ मतदाता संख्या कायम राखिएकोमा १७४ मत खसेको थियो । नतिजा अनुसार अध्यक्ष पदमा ५० प्लस १ मत ल्याउनु पर्ने विधानको प्रावधान अनुसार कसैको पनि सो मत प्राप्त नभएको हुँदा आज ११ बजेका लागि पुनः निर्वाचन हुने निर्वाचन समितिबाट घोषणा भएको थियो । तर पछि दोस्रो स्थान हासिल गर्नु हुने भोला शर्माले निर्वाचनमा नगई अशोक सापकोटालाई सभापति स्विकार गर्नु भएका कारण आज निर्वाचन नहुने भएको छ । रास्वपाको विधान अनुसार कम्तिमा खसेको २५ प्रतिशत मत कटाएर दोस्रो हुने व्यक्ति जिल्ला समितिको सदस्य हुने प्रावधान अनुसार भोला शर्मा जिल्ला सदस्य बन्नु भएको बताइएको छ ।
सबैभन्दा बढी मत ल्याएर विजयी हुनेहरूमा सचिव पदमा मीना खड्काले ११९ भारी मतका साथ जित हासिल गर्नु भएको छ । उपाध्यक्षमा सात मत अन्तरले निवर्तमान उपसभापति प्रकाश थापालाई हराउँदै गण्डकी प्रदेशका संगठन विभागका सचिव समेत रहनु भएकी नेतृ सन्तोषी गौली निर्वाचित हुुनु भएको छ । उहाँले ८६ मतका साथ विजयी हुनु भएको छ ।
सहसचिवमा गोविन्द घलेले ३६ मतका साथ विजय हुनु भएको छ । दोस्रो स्थानमा एक नारायण श्रेष्ठले ६२ मत पाउनु भएको छ । कोषाध्यक्ष मनोनित गर्ने रास्वपाको विधानमा उल्लेख छ ।
चार सदस्य पदमा सर्वाधिक मतका साथ सविता अधिकारी बराल विजयी हुनु भएको छ । उहाँले १०४ मत, सुरेन्द्रलाल श्रेष्ठ ७७ मत, सिंहबहादुर घले र श्याम गुरुङले ६४/६४ मतका साथ विजयी हुनु भएको छ । त्यसपछिको मत पाउनेमा महेश अधिकारी हुनुहुन्छ । उहाँले ५६ मत प्राप्त गर्नु भएको निर्वाचन परिणाममा उल्लेख छ ।
घोषित निर्वाचन परिणामले राजनीति सोझोबाटो हिड्दो रहेनछ भन्ने फेरि एक पटक पुष्टि गराएको छ । साथै, समयमै त्यस्तो महारोगको उपचारमा के कसरी गरिन्छ वा गरिदैन रास्वपाको भविष्य त्यसमै निर्भर हुने देखिएको छ ।
प्रकाशित मिति २०८३ जेष्ठ २५, सोमबार ०७:१२ गते