
बेसीशहर (लमजुङ)– लमजुङको बेसीशहरमा सञ्चालन गरिएको सात दिने आधारभूत प्लम्बिङ सम्बन्धी तालिम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका– ८ की वडाअध्यक्ष पवित्रा थापा रानाको प्रमुख आतिथ्यतामा जेठ २३ गते सम्पन्न भएको हो ।
उहाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सीपको भरपूर व्यवहारमा लागू गर्न र सकेमा अरूलाई पनि सिकाउन आग्रह गर्नुभयो । उहाँले यस्तो तालिम सबैले लिनुपर्ने आवश्यकता औंल्याउँदै सिकेका सीपले दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सो तालिममा विभिन्न आयआर्जन समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने समूहलाई दुई प्रकारका प्लम्बिङ रेञ्ची र प्लम्बिङ टेप समेत प्रदान गरिएको थियो । कुल १८ जना महिलाहरूले भाग लिएको सो तालिमको समापनमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नारायण बहादुर सुयलले आफ्नो संस्थाले कुनै व्यक्तिगत लाभ नखोजी जनसेवामा केन्द्रित भएर काम गरिरहेको बताउँदै यसको संरक्षण र विकासका लागि सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सहभागी तथा सर्वसाधारणलाई संस्थालाई थप प्रभावकारी बनाउन सुझाव दिन समेत आग्रह गर्नुभयो ।
तालिमका सहभागी शारदा थापाले तालिम अत्यन्त लाभदायी तथा उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले अब सामान्य प्लम्बिङ्सम्बन्धी काम आफैं गर्न सक्ने आत्मविश्वास जागृत भएको उल्लेख गर्नुभयो ।
तालिमका प्रशिक्षक कृष्ण भुजेल र भरत परियार हुनुहुन्थ्यो । आयोजक संस्था तथा समापन कार्यक्रमका अध्यक्ष सुशीलचन्द्र अधिकारीले तालिमकै सिलसिलामा एक दिन सशस्त्र प्रहरीको टोलीले विभिन्न आगो नियन्त्रणका साधन प्रयोग गरी आगो निभाउने सम्बन्धी अभ्यासमूलक तालिम दिएको जानकारी दिनुभयो । अधिकारीले सात दिने छोटो अवधिको तालिमले सहभागीहरूलाई व्यवहारिक सीप प्रदान गरेको उल्लेख गर्दै अब घरायसी सामान्य प्लम्बिङ समस्या सहभागीहरूले आफैं समाधान गर्न सक्ने बताउनुभयो ।
लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको सभाहलमा आयोजित उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयकी सामाजिक परिचालिका आरती बस्नेतले गर्नुभएको थियो । उहाँका अनुसार सो तालिम लक्ष्मीनारायण सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा बेसीशहर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिम समापन गरिएको हो ।
प्रकाशित मिति २०८३ जेष्ठ २५, सोमबार १६:०२ गते