काठमाडौं– सत्तासिन दल रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ । प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध गरेको अवस्थामा सभापति रविले जेठ २५ गते सर्वदलीय बैठक आह्वान गर्नु भएको हो ।
प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति पुष्टि गर्ने प्रमाण देखाउनुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने मागसहित अवरुद्ध संसद खुलाउन सर्वदलीय वैठक डाकिएको स्रोतको भनाइ छ । सभापति रविले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सभापति÷अध्यक्षसहित २ जनालाई बैठकमा आउन निम्ता गर्नु भएको थियो । तर सो बैठकमा अधिकांश शीर्ष नेताहरूको गैरउपस्थिति रह्यो ।
उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुनु भएको हो ।
सो बैठकमा नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सांसद शाहजान खातुन, नेकपा एमालेबाट प्रमुख सचेतक ऐन महर, नेकपाबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी हुनुहुन्छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनले भाग लिनु भएको छ भने रास्वपाबाट सभापति लामिछानेसहित महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, कानुन मन्त्री सोबिता गौतम पनि उपस्थित हुनुहुन्थ्यो । श्रम संस्कृति पार्टीले बैठकमा अनुपस्थित(बहिष्कार) रहेको छ । तर त्यसको कारण खुल्न बाँकी छ ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको अनुपस्थितिले बैठकलाई महत्व नदिएको अर्थमा हेरिएको छ । बैठकमा राष्ट्रिय राजनीति र संसद्मा प्रतिपक्षी दलहरूले गरेको अवरोधका विषयलाई लिएर छलफल भएको थियो । उक्त छलफलमा राप्रपाका अध्यक्षबाहेक अन्य दलका शीर्ष नेताहरूले भाग नलिएपछि सर्वदलीय बैठकलाई किन महत्व नदिएको भन्ने प्रश्न उठेको छ ।
तथापि रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणको अनुभव र मुद्दाहरू बारेमा प्रकाश पार्नु भएको थियो । सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी स्पष्टीकरण संसद्मा आउनुपर्ने माग विपक्षीले राखे पनि सभापति लामिछानेले यससम्बन्धी जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिने प्रस्ताव नेताहरूसँग राख्नु भएको थियो । विपक्षी नेताहरूले सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री शाहको स्पष्टीकरण संसद्मा आउनुपर्ने अडान सभापति लामिछानेसँग दोहोर्याउने काम गरेका थिए ।
रास्वपाका नेता रामप्रसाद भट्टराईले उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले पदाधिकारी तहका नेताहरू समेत नपठाएको भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नु भएको छ । पुराना दलहरूको यो व्यवहारका पछि दुईवटा राजनीतिक अर्थ रहेको उल्लेख छ । पहिलो, रास्वपाको हालैको शानदार विजयसामु पुराना दलहरू लज्जित भएका हुन् र दोस्रो, विगतमा सभापति रवि लामिछानेमाथि गरिएको अपमान र अन्यायका कारण स्थापित नेताहरूमा रविको सामना गर्ने नैतिक हैसियत र आँट नभएको भट्टराईको टिप्पणी छ । दलहरूले संसद्को गतिरोध अन्त्य र संवादका लागि उदासीनता देखाएकोप्रति भट्टराईले प्रमुख नेताहरूको उपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
बैठकमा पुराना दलका शीर्ष नेताले देखाएको व्यवहार प्रति फरक व्याख्या गर्दै भट्टराईले एमाले अध्यक्ष ओली बैठकमा नआउनु नै उपयुक्त भएको बताउनु भयो । कांग्रेस सभापति थापाले आफूलाई परम्परागत नेताहरूभन्दा फरक देखाउन संवादको टेबलमा आउने साहस गर्नुपर्ने हो तर स्थापित दलहरू जिम्मेवारीबाट पन्छिन खोजेको भट्टराईको तर्क छ ।
प्रकाशित मिति २०८३ जेष्ठ २६, मंगलवार ०७:०४ गते