काठमाडौं– ४९ दिनको दिनको अन्तरमा सांसद सुधन गुरुङ गृहमन्त्रीमा फर्कनु भएको छ । उहाँ जेठ २६ गते पुनः गृहमन्त्री बन्नु भएको हो । उहाँले पदबहाली गर्दै वि.सं. २०५८ को तत्कालीन राजा वीरेन्द्रका वंश नास हुने गरी भएको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गर्नु भएको छ ।
गृहमन्त्रीको पदभार ग्रहण गर्दै गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भयो । उहाँले आफूमाथि तथ्यबिना आरोप लगाइएको भन्दै मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भन्नुभयो ।
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गर्नु भएका छ । त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने निर्णय समेत गरेको जानकारीमा आएको छ ।
उहाँले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोल्ने समेत निर्णय गर्नु भएको छ ।
गृहमन्त्रीको पदभार ग्रहण गर्दै गृहमन्त्री सुधन गुरुङले २०५८ सालको जेठमा भएको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका उहाँको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार तत्कालीन राजा वीरेन्द्रको वंश नास हुने गरी २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त प्रतिवेदनहरू अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गृहमन्त्री गुरुङबाट भएको छ ।
उक्त दरबार हत्याकाण्डबारे गणतन्त्र स्थापनाको लामो समयसम्म पनि राज्यकातर्फबाट थप छानबिन र अनुसन्धान गरिएको थिएन । सो घट्नाका मृतकहरूको पोष्टमार्टम समेत गर्न दिइएको थिएन । जसले त्यो दरबार हत्याकाण्डका केही प्रश्न आजका दिनसम्म पनि अनुत्तरित रहेको आम बुझाई छ ।
त्यस दिन नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा आयोजित रात्री भोज(जमघट)मा राजपरिवार र शाही नातेदारहरू आमन्त्रित गरिएका थिए ।
साँझ साढे सात बजे भएको जमघटमा करिब नौ बजेतिर गोली चल्न थालेको थियो । गोलीका कारण तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शारदा र शान्ति र शाहज्यादी जयन्ती, राजा वीरेन्द्रका भाई धीरेन्द्र र कुमार खड्गविक्रमको मृत्यु हुन गएको थियो ।
उहाँहरू सबैको उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पु¥याइएका मध्ये दुई जना बाहेक सबैलाई त्यसै दिन जेठ १९ गते १० बजेभित्र निधन भएको घोषणा गरिएको थियो । सो घट्नामा जेठ २२ गते बिहान दीपेन्द्र र बेलुकी धीरेन्द्रलाई मृत घोषणा गरिएको थियो । तर दीपेन्द्रको होस भने १९ गते नै उडिसकेको थियो ।
वीरेन्द्रको परिवारका सबै सदस्यको मृत्यु भइसकेका कारण उहाँका भाइ अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो ।
उक्त जमघटमा तात्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडामहारानी रत्न, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, श्रुतिका श्रीमान् कुमार गोरखशमशेर राणा, राजाका माइला भाइ ज्ञानेन्द्रकी श्रीमती कोमल, छोरी प्रेरणा, छोरा तथा शाहज्यादा पारस र पारसकी श्रीमती हिमानी सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा सहभागी हुनुहुने अन्यमा तत्कालीन राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, उनका छोरीहरू शीताष्मा, पूजा, दिलाशा र ज्वाइँ राजीव शाही, राजाका दिदीबहिनीहरू शान्ति, शारदा र शोभा, शारदाका श्रीमान् कुमार खड्गविक्रम शाह, वीरेन्द्रका काका बसुन्धराकी श्रीमती हेलेन, उनकी छोरीहरू जयन्ती शाह र केतकी चेस्टर तथा आफन्तहरू रविशमशेर राणा, महेश्वरकुमार सिंह समेत हुनुहुन्थ्यो ।
सो जमघटमा धीरेन्द्रकी श्रीमती प्रेक्षा र अधिराजकुमार ज्ञानेन्द्र भने उपस्थित नभएको बताइन्छ । त्यस दिन ज्ञानेन्द्र आफैले नेतृत्व गरेको महेन्द्र प्रकृति संरक्षण कोषको कार्यक्रममा सहभागी हुन पोखरा गएका थिए ।
सत्यतथ्य पत्ता लगाउन गठित समितिको सो प्रतिवेदनको निचोडलाई प्रायःले विश्वास गर्न सकेनन् किन ?
सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय अध्यक्ष र सभामुख तारानाथ रानाभाट सदस्य रहेको समिति गठन गरिएको थियो । सो समितिले एक हप्तामा प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा त्यसदिन दीपेन्द्रले दुई पेग ह्विस्की र नाम नखुलेको कालो पदार्थ खाएको उल्लेख थियो । समितिको प्रतिवेदनले युवराज दीपेन्द्रले सबैलाई गोली हानेर आफूले आत्महत्या गरेको निचोड निकालेको थियो । तर समितिको सो प्रतिवेदनको निचोडलाई प्रायःले विश्वास गर्न सकेनन् ।
सो घटनापछि नेपालमा ज्ञानेन्द्र शाहलाई राजा घोषित गरिएको थियो । तथापि दाजुको वंशनास पछि राजा भएका उहाँलाई राजाको रुपमा श्रद्धा गर्ने व्यक्तिहरू भने कम देखिदै आए । धेरैको आशंका ज्ञानेन्द्रउपर पनि थियो । उक्त हत्याकाण्डको निष्पक्ष छानबिन हुन नसकेको भन्ने अहिले पनि समाजको बुझाई छ । त्यस प्रकार राजा वीरेन्द्रको वंशनासको छ वर्षपछि राजा भएका ज्ञानेन्द्र शाहकै पालामा २०६५ सालमा नेपालबाट राजतन्त्र उन्मुलन हुन गएको हो ।
गणतन्त्र स्थापनापछि सो हत्याकाण्डबारे राजनीतिक बहस भए पनि उक्त हत्याकाण्ड छानबिनबारे कसैले चासो पनि दिएका थिएनन् । तर २५ वर्षपछि जेनजी आन्दोलनको बलमा नयाँ राजनीतिक शक्ति संरचना बदलिएपछि सुशासनको प्रत्याभूति दिने संकल्पका साथ बनेको ऐलेको रास्वपाको सरकारका गृहमन्त्रीले गुरूङले उक्त हत्याकाण्डको छानबिन गर्ने निर्णय गर्नु भएको छ ।
अनेक प्रश्नहरू अनुत्तरित :
राजदरबार हत्याकाण्डबारे उठ्दै आएका अनेक प्रश्नहरू आज पनि अनुत्तरित छन् । दुई हजार भन्दाबढी सैनिकको घेराभित्र रहेको नारायणहिटीभित्र घटेको हत्याकाण्डका केही प्रश्नहरू अझै अनुत्तरित हुनु रहस्यमय मानिएको छ । कतिपय तथ्यहरू लोप भइसकेका छन्, हत्यामा संलग्न कति व्यक्तिहरूको निधन भइसकेको छ र नारायणहिटीको भौतिक संरचना नै बदलिएको अवस्थामा कस्तो, कसरी अनुसन्धान होला ? यो नेपाली सेनाले सुरक्षा दिएको स्थलको घटना हो ।
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउँदा निम्न मूल प्रश्नहरूको जवाफ खोज्नुपर्ने हुन्छ :
१. त्यस घट्नामा राजा वीरेन्द्रका परिवार मात्र सबै मारिनु संयोग हो ?
२. उभिनै नसक्ने अवस्थामा पुगेका र चार जनाले समाएर खोपीमा पु¥याएका युवराज दीपेन्द्र केही क्षणमा नै दुई–दुई वटा बन्दूक बोकेर के कसरी प्रकट हुन सके ? त्यो पनि उभिनै नसक्ने अवस्थाको केही मिनेटको अन्तरमा आर्मीको कम्ब्याट ड्रेसमा कसरी फिट भएर आउन सके ? र उनी आफैंलाई गोली कसरी लाग्यो ?
३. दीपेन्द्रका भाइ निराजनलाई गोली कतिबेला कसरी लाग्यो ?
४. घाइतेहरूलाई नारायणहिटी दरबारबाट नजिक रहेका अस्पतालहरू वीर, टिचिङ आदिमा नलगेर छाउनीमा पुर्याउनुको कारण ?
५. मृतकहरूको शव परीक्षण किन गरिएन ?
६. सो जमघटमा उपस्थित नहुनु भएकी धीरेन्द्रकी श्रीमती प्रेक्षाको हत्याकाण्डको पाँच महिनापछि रारातालमा दुर्घटनामा ज्यान जानु संयोग हो ?
७. तीन दिनका लागि राजा घोषणा गरिएका दीपेन्द्र २२ गतेसम्म जीवित थिए ?
८. सो हत्याकाण्ड स्थल अर्थात त्रिभुवन सदन भत्काउन पर्नुको कारण ? आदि ।
प्रकाशित मिति २०८३ जेष्ठ २७, बुधबार ०८:५४ गते