नेपाली काँग्रेसको क्रियाशील सदस्य नवीकरण आजसम्म : सिनियर नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने

नेपाली काँग्रेसको क्रियाशील सदस्य नवीकरण आजसम्म : सिनियर नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने

एजेन्सी

@antaranganews

२०८३ जेठ २७ गते बिहिबार ०६:५२

२०७८ साल मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन हुँदा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो । तीमध्ये गत पुससम्म नवीकरण र नयाँ वितरण गरी कूल ७ लाख ८१ हजार २ सय ३३ जना क्रियाशील सदस्य कायम रहेको कांग्रेसको विवरणमा देखिन्छ ।

सदस्यता अद्यावधिकको प्रक्रिया नै सुरु नगर्नेको संख्या २ लाख ५७ हजार ६६३ जना रहेको छ ।

काठमाडौँ– नेपाली कांग्रेसको १५ औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम म्याद आज जेठ २८ गतेसम्म रहेको छ । पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले त्यस्तो जानकारी दिनु भएको हो । सिनियर नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने नीति लिएको काँग्रेसले जनाएको छ ।
सो समितिले क्रियाशील सदस्यता अद्यावधिक गर्न आज जेठ २८ गते राति १२ बजेसम्मको समय तोकेको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले बताउनु भयो । उहाँका अनुसार २६ गतेको अन्तिम तथ्यांक अनुसार क्रियाशील सदस्यता चार लाख २३ हजार २३७ जनाले अद्यावधिक गरेका छन् । उहाँले भन्नुभयो, ‘पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये त्यो संख्याले अद्यावधिक गरेका छन् । एक लाख एक हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।’
नेपाली कांग्रेसले क्रियाशील सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्न नमानिरहनु भएका निवर्तमान सभापति शेरबहादुर देउवा समूह तथा डा. शेखर कोइराला समूहका सिनियर नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिदिने भएको छ ।
देउवा र शेखर समूहका नेताहरू तथा उहाँहरूनिकट सदस्यहरूले १५औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरिसकेको सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्न आनाकानी गरेपछि पुनः म्याद थपिएको हो । सदस्यता अद्यावधिक गर्न समितिले पहिलो पटक वैशाख १ गतेदेखि वैशाख मसान्तसम्मको समय दिएकोमा २१ दिन बढाएर जेठ २१ गतेसम्म पु¥याइएको थियो ।
सो अवधिमा पनि देउवा र कोइराला समूहका नेता–कार्यकर्ताले अद्यावधिक नगरेपछि जेठ २८ गते रातिसम्म म्याद बढाइएको छ । यसअघि गत साता बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले इतर समूहका नेता र कार्यकर्ताको सदस्यता अद्यावधिकलाई लक्षित गर्दै थप एक साता समय बढाएको थियो ।
क्रियाशील सदस्यता अद्यावधिकको प्रक्रिया नै सुरु नगर्नेको संख्या २ लाख ५७ हजार ६६३ जना रहेको पौडेल बताउनु हुन्छ । उहाँका अनुसार क्रियाशील सदस्यता नवीकरण गर्न अनलाइनबाट आवेदन दिएको र सम्बन्धित वडा सभापतिले स्वीकृत नगरिदिएको संख्या १ लाख ३ हजार २ सय ५२ जना छ । कांग्रेसले गत पुससम्म नवीकरण र नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्य अन्तिम चरणमा पु¥याएको हो ।
महामन्त्री पौडेलका अनुसार २०७८ साल मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन हुँदा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो । तीमध्ये गत पुससम्म नवीकरण र नयाँ वितरण गरी कूल ७ लाख ८१ हजार २ सय ३३ जना क्रियाशील सदस्य कायम रहेको कांग्रेसको विवरणमा देखिन्छ । विधानअनुसार हरेक वर्ष क्रियाशील नवीकरण गर्नुपर्ने भए पनि हरेक महाधिवेशनमा त्यो धारा निलम्बन गरी एकैपटक क्रियाशील सदस्यता लिन पाइने बनाइन्थ्यो । विगतमा महाधिवेशन मिति तोकिसकेपछि क्रियाशील लिने र नवीकरण गर्ने संख्या पनि केही थपिन्थ्यो ।
करिब डेढ लाख हाराहारी क्रियाशील सदस्यले राजनीतिक कारणले अद्यावधिक नगरेका पौडेलले भनाइ छ । उहाँका अनुसार ‘कतिपय नेताका अपिल सुनेर पनि क्रियाशील अद्यावधिक रोकेको देखिन्छ, केहीले क्रियाशील अद्यावधिक गर्न चाहेका छैनन्, केही अरू पार्टीमा गएका छन् त कतिपयको मृत्यु पनि भइसकेको छ ।
उता, सो पार्टीका सभापति गगन थापाले पार्टी छोडेर जान्छु भन्नेलाई फकाउन नलाग्न आग्रह गर्नु भएको छ । उहाँले अहिलेको बेला पार्टी अलिकति कमजोर भएको छ भनेर कतिपय मानिस यता मौका हुन्छ, उता मौका हुन्छ भनेर कोही दौडन्छ भने दौडन दिनुस् । धेरै फकाउनेतिर पनि नलाग्नुस् । ‘पार्टीका साथीहरू छोडेर जान्छौं, वडाध्यक्ष, पालिका अध्यक्ष पाउँछौं, अब सकियो भन्ने हो भने उनीहरूलाई जान दिनुस्, धेरै चिन्ता नगर्नुस् भन्नुभएको छ । कांग्रेसभित्रको फोहोर सफा बनाउनु पर्नेमा उहाँको जोड थियो ।
सभापति थापाले भन्नुभयो, ‘६– साढे ६ लाख क्रियाशील सदस्यता अद्यावधिक हुन्छ, त्यो नै अनुमान गरेको, हामीले अपेक्षा गरेको नम्बर हो ।’ यसअघि १५ औं महाधिवेशनका लागि ७ लाख ८० हजार क्रियाशील सदस्यता नवीकरण गरिएको उहाँको भनाइ छ ।
स्मरणीय छ, काँग्रेसको १४औँ महाधिवेशनबाट आएको केन्द्रीय समितिका सभापति शेरबहादुर देउवा तथा नेता डा. शेखर कोइराला समूहको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले थापाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि देउवा र शेखर समूह विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै त्यसबाट आएको समितिलाई मान्यता नदिन माग राखेर निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेकोमा आयोग र सर्वोच्चले विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको समितिलाई नै मान्यता दियो । त्यसपछि दुई खेमा बीचको विवाद झन् बढ्न गएको हो ।

प्रकाशित मिति २०८३ जेष्ठ २८, बिहीबार ०६:५२ गते
हजुरको प्रतिक्रिया