पोखरा– ‘हामी आफ्नो देशको महिमा बिर्सेर अरु देशहरू अमेरिका, बेलायत, जापान आदिको बखान गर्छाैं, मितजस्तो संस्कार संस्कृति हामीले बिर्सन लाग्यौं यो चिन्ताको विषय हो’ प्रस्तुत भनाइ वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठका हुन् । ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को अभिनन्दन ग्रन्थको समिक्षा कार्यक्रममा प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्दै उहाँले जेठ २८ गते त्यस्तो बताउनु भएको हो ।
पोखरा– १५ को लक्ष्मी टोल स्थित लमजुङ समाजको सभाहलमा लमजुङ– पोखरा सम्पर्क समाजको आयोजनामा उक्त कार्यक्रम भएको हो । वरिष्ठ साहित्यकार श्रेष्ठले नेपाली समाजमा ‘मित’को ठूलो महत्त्व रहेको बताउदै मितको साइनो अतिनै प्रगाढ हुन्छ, हाम्रो जस्तो विविधता युक्त समाजमा मितेरी साइनोले एक अर्को सम्प्रदायलाई जोड्नेमात्र नभई यसले जात जाति, धनी गरिब, धर्म सम्प्रदायको विभेद समेत अन्त्य गरेको थियो, मितको निधनमा जुठो समेत लाग्छ, जुठो बार्नु पर्छ तर यस्तो महत्त्वको संस्कृति आज संकटमा छ भन्नुभयो । उहाँले आफू कविता, गीत लेख्ने तर गाउन, नाच्न नजान्ने मान्छे भएको हुँदा करिव ३५ वर्ष अघि पोखराकै एक कार्यक्रममा ‘धम्पु’ मितज्यूले गाएको र नाचेको देखेर यस्तो मान्छेसंग मित लगाउन पाए कस्तो होला ! भन्ने लागेर आफैंले प्रस्ताव गरी मित लगाएको स्मरण गर्नु भयो । त्यो दिनदेखि उहाँ(धम्पु)ले गाएको, उफ्रेर नाचेको देख्दा म आफैले गाएको, नाचेको फिल हुने गरेकोसमेत उहाँले सुनाउनु भयो ।
पोखरामा एक मितले मन्दिर निर्माण गर्दै गरेको थाहा पाएपछि अर्को मितले मन्दिरमा राखिएको मूर्तिमा सुनको जलप लगाई दिएको आज पनि देख्न सकिन्छ श्रेष्ठले भन्नुभयो । उहाँले यस्तो महत्त्वपूर्ण संस्कृति आज संकटमा छ, हामी भने अमेरिका, बेलायत जस्ता देशको बखान गरेर थाक्दैनौ्, आफ्नोपनको महत्त्व बिर्सन्छौ भन्नुभयो । नेपाल भूगोलमा सानो भए पनि सांस्कृतिक र प्राकृतिक हिसाबले धरै माथि र ठूलो छ, १२५ भाषा भाषि रहेको हाम्रो देशमा त्यत्तिकै संख्यामा संस्कृति छन्, तीमध्ये ठाडोभाका एक हो उहाँले उल्लेख गर्नुभयो । नेपालमा जस्तो सांस्कृतिक विविधता चीन र भारतमा पनि छैन उहाँले भन्नुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले कास्की र लमजुङको अन्तरसम्बन्ध पनि ऐतिहासिक रहेको स्मरण गर्नु भयो । उहाँले राणाहरू श्री ३ का सुरुमा कास्की र लमजुङको राजा भएर सुरु गरेको तर उल्लेख्य काम भने यतातिर राणाले केही नगरेको सुनाउनु भयो । त्यतिबेला जंगबहादुरले फेवातालको पानी लिफ्ट गरेर पानी तानेर सिंचाइ र विजुली निकाल्ने योजना बेलायतीको सहयोगमा गर्न खोजेको, सामग्री झिकाएर कलकत्ता आइसकेको अवस्थामा म्लेक्षहरूलाई आउनदिन नहुने बाहुनहरूले सुनाएपछि रोकिएको जानकारी दिनु भयो । त्यो बेलादेखिनै कास्की र लमजुङको सम्बन्ध रहदै आएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्ना मितबा कर्नेल जेपि क्रस ‘विदेशमा जन्मेको नेपाली’ भएको संज्ञा दिदै उहाँ क्रिश्चियन सम्प्रदायमा जन्मेर पनि हिन्दूत्वको महत्वलाई बुझ्ने र विस्तारमा योगदान छ, यहाँको घरहातामा निर्माण गरिएको मन्दिर त्यसको प्रमाण हो उहाँले भन्नुभयो । उहाँले आज आफ्ना बुबाको हातबाट उपहार पाउनु मेरा लागि थप सौभाग्य भएको समेत उल्लेख गर्नुभयो । त्यस्तो परिवारमा जोडिन पाएकोका गौरवबोध भएको सुनाउनुभयो । उहाँले आफ्नो मितको सफलतामा मितिनी ‘भिमसरा दुरा’को विशेष हात रहेको भन्दै उहाँको सराहना गर्नु भयो । उहाँले यति महत्वको अभिनन्दन समारोहमा विशेष कारणले उपस्थित हुन नसकेकोमा दुःखी बतएको बताउनु भयो ।
सो अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्यबहादुर बिखर्चीले भाषा, साहित्य, कला संस्कृतिको विकास नभई आर्थिक विकासले मात्र देश समृद्ध हुँदैन भन्नुभयो । उहाँले आजका दिनमा पनि राज्यले साहित्यकार, कलाकारको उचित सम्मान गर्न सकेको छैन भन्दै ठाडोभाका महानायक धम्पुलाई नागरिकस्तरबाट सम्मान हुनु यसको उदाहारण हो भन्नुभयो । उहाँले महानायक धम्पुलाई प्राप्त पदको गरिमा राख्न सक्ने हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा १०२ वर्षीय धम्पुका धर्म पिता कर्णेल जेपि क्रसले शुभकामना व्यक्त गर्नु हुँदै आफूले ४० देशमा खुट्टाले हिडेर पुगेको स्मरण गर्दै सबैभन्दा राम्रो नेपाल रहेको र छोरा पनि यही भेट भएको उल्लेख गर्नु भयो । उहाँले छोरा धम्पुकै कारण आफूले यति लामो आयु जिउन पाएको हो भन्दै कार्यक्रमका सहभागी सबैलाई दुबोझैं मौलाउनु र केराझैं गजाउनु होला भन्ने शुभकामना दिनु भएको थियो ।
सो अवसरमा पुतली बजार नगर प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह बाबाले ठाडोभाकाको चर्चा हुँदा धम्पुको नाम आएन भने त्यो अधुरो हुन्छ भन्ने ठोकुवा गर्नुभयो । हामी सबै प्रतिदिन मृत्युतर्फ धकेलिरहका छौं, धम्पुबाट एक अमर कृतिको सिर्जना भएको छ यो सराहनीय छ भन्नुभयो ।
अभिनन्दन ग्रन्थको समिक्षा :
साहित्यकार एवम् पत्रकार असफल गौतमले अभिनन्दन ग्रन्थको समिक्षा गर्नु हुँदै तीन खण्डमा रहेको ग्रन्थको अग्र भागमा डा जगमान, बुबा जेपीक्रस र कल्याण शेरचन प्रतिष्ठानको शुभकामना रहेको, मुख्य रुपमा ५९ जनाका ६१ रचना, अन्तिम खण्डमा १६ पृष्ठ रंगीन तस्वीर तथा प्रमाणपत्र गरी ३२८ पृष्ठमा संरचित ग्रन्थको साजसज्जा, छपाइ स्तरीय रहेको बताउनु भयो ।
उहाँले कर्तव्यनिष्ठ र असल आचरणका नेपाली सपुत खोज्न थाल्दा फेला पर्ने एउटा नमुना धम्पु भएको, जसले एउटै घरपरिवार बीच विश्वास हराएको समाजमा आफूलाई यसरी सही मार्गनिर्देशक र भरोसाका कुँवेरका रूपमा प्रस्तुत गर्न सक्नु भयो, सोहीकारण जेपी क्रसका असल धर्मपुत्र मात्र नभएर जेपी क्रसको परदेशलाई घरदेश बनाउने सामथ्र्यको उपज यो गौतम बुद्धको पावन भूमि, गण्डकी प्रश्रवणको आँगनमा आयोजित यो सम्मानित सभामा हामी छौं भन्नुभयो ।
जेपीसँगको संगतले धेरै दुरा लाहुरे भए जाति र समुदाय समृद्ध बनाउने प्रेरणा पाएको इतिहास साक्षी छ भन्नुहुँदै उहाँले सांस्कृतिक समाज निर्माण नै सभ्य समाज निर्माणको आधार भन्ने धम्पु समाजसेवी, मार्गदर्शक, कुशल संगठक, सांस्कृतिक अभियन्ता, सांस्कृतिक दूत (राजदूत), डिप्रेशनमा गएकालाई सहज जनजीवनप्रदान गर्ने जीवनदाता भएको उल्लेख गर्नु भयो । साहित्यकार गौतमले सजीवमात्र नभएर निर्जीववस्तुप्रति पनि प्रेमभाव देखाउने उहाँले लमजुङको रक गार्डेनमा रहेको कलात्मक ढुंगासँग मित लगाएर एउटा असल प्रकृति प्रेमीका रूपमा सिद्ध गरी देखाउनु भएको गौतमले बताउनु भयो ।
ग्रन्थले राज्य सञ्चालकमा भौतिक संरचना निर्माण तथा संरक्षणमात्र विकास भन्ने भ्रमपूर्ण अवस्थामा सांस्कृतिक प्रतिभा संरक्षणको आवश्यकता औल्याएको छ भन्दै मान्छेलाई सम्पन्नता र वैभवले पुग्दैन त्यो मानवजन्त स्वभाव हो तर धम्पु धन र मन दुवैका धनी प्रतिभा भएको जीवन्त दस्तावेजका रुपमा ग्रन्थ रहेको उल्लेख गर्नु भयो ।
धम्पुको सांस्कृतिक योगदानको जनस्तरबाट रेखाङ्कन शुरु, राज्यका त्रय अंग व्यस्थापितक, कार्यपालिका र न्यायपालिकाहरू शिक्षा, अर्थ र अस्पताल लाइसेन्स प्राप्त माफियाको चंगुलमा फर्सेकाले धम्पुले नेपालभक्त पिताश्रीका पुस्तकलाई एकीकृत पारेर विश्वमाझ पुर्याउन आवश्यक छ ।
अभिनन्दन परम्परा नेवारी संस्कृतिमा ७७ वर्ष, ७ महिना ७ दिन, ८१ वर्ष ८ ८८ वर्ष र ९९ वर्षमा परम्परागत जंक्व (रथारोहण) गराइन्छ भन्ने स्मरण गर्दै पत्रकार समेत रहनु भएका गौतमले कवि कलाकारको अभिनन्दन परम्पराको स्मरण गर्नु भयो । उहाँले लोककवि अली मियां, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कलाकार तथा कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन, भाषाचिन्तक मुकुन्दशरण उपाध्याय पत्रकार नकुल काजी, गायिका शान्ति ठटाल, लोकगायक लक्ष्मी जोशी (एलपी) २११ औं भानुजयन्तीमा गरिएको उल्लेख गर्नु भयो ।
उहाँले ‘ओल्लो खोलो, पल्लो खोलो कमिलाको गोली …., कान्छी मट्याङ्गट्याङ, रिटिङ् रिटिङ् नवजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो, सान्नानी अयाया आकाका सान्नानी (लोचन भट्टराईसंगको दोहोरी, खोलापारी मै माया लाउदिन, वर्षा लाग्यो आइरहन पाउँदिन साइलादाइ ! आत्थाथा आक्काका साइलादाइ ! ठटालका गीत हुन् भन्नुभयो ।
मोफसलमै बसेर पनि आफ्नो सामथ्र्यले सम्मानको जीवन बांचे, निर्धनमा दमक नगरपालिका झापाले आधा दिन विदा घोषणा, साहित्य चौतारी झापाले भाषाविद् चुडामणि रेग्मीलाई रथारोहणसहित सम्मान गर्न खोजेको स्वास्थ्यका कारण हुन नसकेको उहाँले जानकारी दिनु भयो ।
आगामी दिनमा गर्नुपर्ने काम :
साहित्यकार एवम् पत्रकार गौतमले ग्रन्थ अनुभूतिको संकलन भएको, नवराज र रमेशचन्द्र संकलक भएका, प्राज्ञिक तथा अनुसन्धानात्मक सामग्री कम रहेकाले परिस्कार आवश्यक देखिन्छ भन्ने सुझाव दिनुभयो । उहाँले प्रकाशक समुद्रमा छिर्न प्रयास गरेको तर हीरा टिप्प नसकेको (गंगाधर पराजुली), अंग्रेजीको एक आलेख अनुसन्धान प्राज्ञिक हुन सकेको छैन भन्दै २४ लाइनमा २७ त्रुटीसमेत उल्लेख गर्नु भयो । उहाँले हाम्रो भाषाप्रति हामी सचेत हुन नसक्नुमा राज्यमा प्राज्ञिक श्रममा लगानीको वातावरण नबन्नु हो, जनस्तरबाट वाङ्मयको श्रीवृद्धिमा भएका प्रयासमा राष्ट्रिय सम्पत्तिको क्षयीकरण गर्न हुँदैन ग्रन्थमा ठाडोभाका संरक्षणमा धम्पुको कालक्रमिक योगदान समावेश नभएको, एक स्रष्टा एक सिर्जना राम्रो, प्रमाणपत्र ५ दोहोरिए, १ अर्काको, सम्मानलाई व्यवस्थित गरेर राख्नुपर्ने, मायाको चिनो हटाउनुपर्ने, संस्थागत प्रकाशन भएकाले अध्यक्षको मन्तव्य र लेख हुनु राम्रो, लेख, जीवनी र अन्तर्वार्ता बाह्य व्यक्तिलाई लगाउन सके राम्रो हुन्छ, अध्यक्ष, सम्पादक, संकलक, उत्तराधिकारी तयार गर्न आवश्यक छ भन्ने थप सुझाव दिनुभयो । उहाँले (पोयुसा) ग्रन्थ लमजुङ आसपासमा बुद्धिमान दुरा धम्पु भन्ने नाम सुनेकाहरूलाई चिनाउन सफल, ढुङ्गालाई शालग्राम बनाउने प्रयास स्तुत्य छ भन्नुभयो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै प्रतिष्ठानले स्थापनाकालदेखिनै पोखरासँग सहकार्य गर्ने मौका मिलेको स्मरण गर्नु भयो । उहाँले प्रतिष्ठानको स्थापनाकालमा वरिष्ठ साहित्य तथा संस्कृतिविद एवम् निर्देशक चेतन कार्कीको सदासयले हिमाली संस्कृति परिवारसँग सहकार्य गर्ने मौका मिलेको स्मरण गर्दै चेतन कार्कीप्रति श्रद्धाञ्जली र हिमाली संस्कृति परिवारप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । उहाँले पछिल्ला वर्षमा लमजुङ समाजले प्रतिष्ठानलाई ठूलो गुन लगाएको स्मरण गर्दै यो कार्यक्रमसमेत पाँचौं पटक यहाँ सहभागी हुन पाउँदा गौरवबोध भएको उल्लेख गर्नु भयो । प्रतिष्ठान स्थापनाको १० वर्ष भएको र यो अवधिमा केही उल्लेख्य काम गर्न सकेको स्मरण गर्दै ठाडोभाका अब मर्दैन भन्ने स्थितिको सुनिश्चिता हुनु, प्रतिष्ठानमा करिब २३ लाखको अक्षयकोष सहित विभिन्न पुरस्कारको सञ्चालन, प्रतिष्ठानको स्थापना दिवसमा तीन दिने ठाडोभाका मेलाको आयोजना, यो वर्ष प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायकको रथारोहण ठोस उपलब्धिका रुपमा रहेको उल्लेख गर्नु भयो ।
उहाँले रथयात्राको संस्कृति पनि बिर्सन लागिएको र कलाकारहरूको बिरलै हुने रथारोहणको संस्कृतिलाई निरन्तरता दिन आफ्नो प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायकको हिरक शुभजन्मोत्सवको अवसरमा रथारोहण गरी अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याइएको बताउनु भयो । उहाँले ग्रन्थका लागि आशातित रुपमा निर्धारित समयमा लेख रचना संकलन हुन नसकेको, ‘ग्रन्थ’ तीन सय पेज भन्दा कमको के बनाउने भन्ने लागेर अन्तिममा प्रयास गर्दा र सम्पादनको काम गर्दा समयाभावका कारण सोचेजस्तो स्तरीय बनाउन नसकेको जानकारी दिनु भयो । उहाँले लमजुङ जस्तो दुर्गम र कुनाको ठाउँमा बसेर तयार गरिएको अभिनन्दन ग्रन्थको पोखरा जस्तो महानगरमा आएर समिक्षा कार्यक्रम गर्नु पाउनु प्रतिष्ठानका लागि गौरवको विषय हो र यो अवसर दिनु हुने आयोजक लमजुङ– पोखरा सम्पर्क समाज, संयोजन गर्ने लमजुङ समाजका साथै सहभागीहरू सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो ।
कार्यक्रमका विशेष व्यक्तित्व ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले आफ्नो बाल्यकालदेखिको संक्षिप्त घट्नाक्रममा प्रकाश पार्नु हुँदै यहाँहरूले दिनु भएको माया र सम्मानको शब्दमा व्यक्त गर्न सक्दिन सबै प्रति मेरो पनि हार्दिक सम्मान छ उहाँले भन्नुभयो ।
अयोजक संस्थाका अध्यक्ष ईश्वर चिलुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा उहाँले धम्पु संगीतका तीनै विधामा पोख्त व्यक्तित्व रहेको चर्चा गर्नु हुँदै उहाँ हाम्रो समाजको पूर्वअध्यक्ष (दुई कार्यकाल) हुनु भएको जानकारी दिँदै व्यक्तित्वमा थप प्रकाश पार्नु भएको थियो ।
आयोजक संस्थाका संस्थापक अध्यक्ष विश्वलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव शशी श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
घुम्पु र ठाडोभाका तारा एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराका बीचमा ठाडोभाकाको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । सो अवसरमा जनकवि केशरी धर्मराज थापा, सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, कल्याण शेरचन स्मृति प्रतिष्ठानका संस्थापक क्या. हेलन गुरुङ, हिमाली संस्कृति परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, लघुकथा प्रतिष्ठानकाम अध्यक्ष कल्याण पन्त, लमजुङ समाजका अध्यक्ष आशबहादुर गुरुङ, दुरा समाज पोखराका अध्यक्ष गोविन्द दुरा, तमु सांस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीजन गुरुङ, ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, सचिव देवराज गुरुङ, सहकोषाध्यक्ष तैमाया गुरुङलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति २०८३ जेष्ठ २९, शुक्रबार १२:२२ गते