लमजुङमा एमाले प्रदेशसभा (ख) को बैठकद्वारा चारबुँदे प्रस्ताव पारित

लमजुङमा एमाले प्रदेशसभा (ख) को बैठकद्वारा चारबुँदे प्रस्ताव पारित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ २८ गते शुक्रबार ०६:३९

बैठकमा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमीन्द्रमान घलेले वर्तमान सरकार जनसरोकारका विषयमा संवेदनशील बन्न नसकेकोले राष्ट्रियता र जनजीविकासँग जोडिएका मुद्दामा पार्टीले सदन र सडक दुवैबाट दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो ।

बैठकले सीमा, विपद् जोखिम, सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बेसीशहर– नेकपा (एमाले) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमजुङ (ख) को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै चारबुँदे प्रस्ताव जेठ २९ गते पारित गरेको हो ।
बेसीशहरस्थित एमाले जिल्ला कमिटी लमजुङको कार्यालयमा सम्पन्न बैठकले सीमा, विपद् जोखिम, सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै चारबुँदे प्रस्ताव पारित गरेको छ । बैठकले ‘सुपर अलनिनो’का कारण सम्भावित प्राकृतिक विपद्, राष्ट्रिय सीमा सम्बन्धी विवाद, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या र मुल्यवृद्धिका विषयमा सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको सो कमिटीका संयोजक शुभाष पौडेलले बताउनु भयो । उहाँका अनुसार मौसमविद्हरूले यस वर्ष ‘सुपर अलनिनो’ का कारण खडेरी, अतिवृष्टि तथा हावाहुरीजस्ता विपद् बढ्न सक्ने पूर्वानुमान सार्वजनिक गरेको स्थिति प्रति ध्यानाकर्षण गर्दै बैठकले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी पूर्वतयारी गर्नुपर्ने जनाएको छ । उहाँले भन्नुभयो, ‘नागरिकलाई पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।’
बैठकले प्रधानमन्त्रीले संसद्मा देशको सीमा सम्बन्धी विषयमा गलत सूचना प्रस्तुत गरेकोप्रति आपत्ति व्यक्त गरेको छ । बैठकले सो सम्बन्धि अभिव्यक्तिप्रति आत्मालोचना गर्दै संसद्को अभिलेख सच्याउन प्रधानमन्त्रीसँग माग गरेको जनाइएको छ ।
यसैगरी, पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि उपभोग्य वस्तुको भाउ बढ्दा आम नागरिक प्रभावित भएको भन्दै बैठकले मूल्यवृद्धि नियन्त्रण गर्न तथा राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले वर्षायामका बेला विस्थापित भएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सुरक्षित र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । उनीहरुको पुनःस्थापना र संरक्षणका लागि तत्काल पहल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।
आर्थिक तथा सामाजिक चुनौती समाधानमा सरकार प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै जनताका पक्षमा निरन्तर आवाज उठाइरहने निर्णयसमेत बैठकले गरेको बताइएको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमीन्द्रमान घलेले वर्तमान सरकार जनसरोकारका विषयमा संवेदनशील बन्न नसकेको दावी गर्नु भयो । उहाँले राष्ट्रियता र जनजीविकासँग जोडिएका मुद्दामा पार्टीले सदन र सडक दुवैबाट दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा आ–आफ्ना भनाइ राख्नेहरूमा नेकपा (एमाले) केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, गण्डकी प्रदेश सचिवालय सदस्य लक्ष्मीदेवी अधिकारी, पार्टीका गण्डकी प्रदेश सदस्य महेन्द्रलाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङलगायत हुनुहुन्थ्यो । उहाँहरूले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारका विषय तथा तौर तरिका बारेमा प्रकाश पार्नु भएको थियो ।
नेकपा (एमाले) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमजुङ (ख) का संयोजक शुभाष पौडेलको अध्यक्षतामा भएको बैठकमा सहसंयोजक जनकराज मिश्रले स्वागत तथा सञ्चालन सचिव कृष्ण आचार्यले गर्नु भएको थियो ।
– आश गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८३ जेष्ठ २९, शुक्रबार १८:३९ गते
हजुरको प्रतिक्रिया