काठमाडौं– जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकलाई सफाइ दिँदै समाचारबारेमा खण्डन गरे पुग्ने अदालत आइरहन नपर्ने अवस्था रहेको फैसला गरेको छ । गत चैत १८ गते नै सुनाएको फैसलाको पूर्णपाठ जेठ २९ गते सार्वजनिक भएसँगै त्यस्तो खुलासा भएको हो ।
हिल्टन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको छोरा जयवीरको लगानी रहेको भन्ने समाचार प्रसारण गरेको विषयलाई लिएर पत्रकार पाठकविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दायर भएको थियो । न्यायाधीश खिमानन्द भुसालको इजलासले त्यस्तो फैसला गरेको हो । सो मुद्दाको फैसलाको पूर्णपाठमा जयवीरको लगानी छैन भने त्यसलाई प्रमाणसहित खण्डन गरे पुग्ने बताउँदै मुद्दा हाल्न अदालत आउन पर्ने अवस्था नदेखिएको उल्लेख छ ।
सो फैसलामा भनिएको छ, ‘लगानी भएको वा व्यवसाय गरिएको कार्य आफैंमा राम्रो सह्रानिय कार्य हुनेमा लगानी नरहेको भए जाहेरवालाले नै प्रमाणसहित खण्डन गर्दा हुनेमा अन्यथा विकल्प अवलम्बन गरेको देखिन आयो । तसर्थ पेस भएका प्रमाणले अभियोग दाबी पुष्टि हन सकेन । पाठकले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’
काठमाडौंमा रहेको पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दिपक भट्टको लगानी रहेको र भट्ट मार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएको भन्ने समाचार बनाई पाठकबाट एक कार्यक्रममार्फत प्रशारण भएको थियो । जयविर देउवाको दुबई, अष्ट्रेलियामा रियल स्टेट विजनेस रहेको र उक्त विजनेस क्यानडासम्म फैलिएका छन् समाचारमा भनिएको थियो ।
उक्त भिडिओमा देउवाको मानमर्दन हुने वा चरित्र हत्या हुने वा आपत्तिजनक शब्द व्यक्त नभएको पनि उल्लेख छ । पत्रकारले पनि समाचार तयार गर्दा व्यक्तिको इज्जत प्रतिष्ठाको हेक्का राख्न आवश्यक भएको पनि फैसलामा भनिएको छ ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी व्यवसायिक पत्रकार रहेको, पत्रकारले समाजमा रहे भएका घटना समाचार सत्य तथ्यमा आधारित रहि संप्रेषण गर्नु व्यवसायिक कर्तव्य हो । साथै पत्रकारिताको नाममा अन्य व्यक्तिको इज्जत प्रतिष्ठाको हेक्का राख्नु पनि उत्तिकै आवश्यक छ ।’
यसरी समाचार बनाएपछि देउवाले उनीविरूद्ध साइबर ब्युरोमा दिलभुषण पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ जेष्ठ २९, शुक्रबार २०:२१ गते