पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) गण्डकी प्रदेशको सभापति पदमा नवीन त्रिपाठी निर्वाचित हुनु भएको छ । गए राती भएको निर्वाचनमा उहाँले एकै पटकमा पार्टी विधान अनुसार ५० प्रतिशत प्लस १ भन्दा बढी मत प्राप्त गरी जेठ ३० गते विहान विजयी हुनुभएको हो । सो नतिजाको बारेमा निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
सभापति पदमा निवर्तमान सभापति एवम् केन्द्रीय सदस्य राजन गौतम, नवीन त्रिपाठी र माधव प्रसाद कडेल प्रत्यासी हुनुहुन्थ्यो । उम्मेदवारी फर्ता लिनु भएका हरिबहादुर कार्कीको नाउँमा पनि दुई मत आएको छ । राजन गौतमको १८२ अर्थात ४२% मतका विरुद्ध २३४ अर्थात ५४% मत प्राप्त गर्नु भई नवीन त्रिपाठी निर्वाचित हुनु भएको हो । त्रिपाठी यसअघि प्रदेशको महामन्त्री हुनुहुन्थ्यो ।
लमजुङका विजय पराजुली निर्विरोध रुपमा सदस्यमा निर्वाचित हुनु भएको छ । यसैगरी निर्विरोध हुनुहरूमा सीताकुमारी अर्याल, समिउन निशा, राममाया वस्ताकोटी, यदुनाथ सिग्देल, गीता विक, कृष्णकुमारी अधिकारी (अनिशा) समावेसीतर्फ निर्विरोध हुनु भएको छ ।
त्यस्तै, क्षेत्रगतमा निर्विरोध निर्वाचित हुनुहुनेमा मिना शर्मा आचार्य बाग्लुङ– १, बलबहादुर घले गोरखा– २, विजय पराजुली लमजुङ, मनोज गुरुङ गोरखा– १, ताराबहादुर कार्की– म्याग्दी र सूर्यमणि पौडेल तनहुँ– १ हुनुहुन्छ ।
सदस्यको मत गणना भइरहेको छ । सदस्यमा निर्वाचित भइसकेपछि ती मध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीको निर्वाचन हुने बताइएको छ ।
सो अधिवेशनको केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले उदघाटन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ जेष्ठ ३०, शनिबार ०८:११ गते