
बेसीशहर– कोशीश लमजुङद्वारा अपाङ्गता भएका व्यक्तिहरूका लागि मनोसामाजिक परामर्श रणनीतिमा अभिमुखीकरण यहाँ गरिएको छ । एक दिने सो कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा सो कार्यक्रम जेठ ३० गते यहाँ गरिएको हो ।
कार्यक्रममा कोशीश लमजुङका कार्यक्रम संयोजक महेन्द्र आचार्यले कोशिश संस्थाका बारेमा संक्षिप्त जानकारी दिदै त्यसको उद्देश्य, रणनीति तथा गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले कोशिशको स्थापना– २०६५ सालमा भएको जानकारी दिदै स्थापनाकालमा बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि मात्र काम गर्ने उद्देश्य रहेको भएता पनि कार्यक्रम सञ्चालन गर्दै जाँदा १० वटै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तर यो संस्थाको सञ्चालक समितिमा भने अन्य अपाङ्गता भएको व्यक्तिले स्थान पाउन सक्दैनन् ।’
‘एकतामा नै बल हुने’ हुँदा सबै प्रकारका अपाङ्गता भएकाहरूले एकताबद्ध भएर आफ्ना समस्या तथा मुद्दालाई उठाउनु पर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मानिस मनोसामाजिक स्थितिमा किन पुग्छ भन्ने विश्लेषण हुन जरुरी छ भन्ने उदाहरण समेत प्रस्तुत गर्नु भएको थियो । उहाँले त्यस अगाडि विभिन्न स्टेज हुन सक्छन्, मनोसामाजिक स्थिति अन्तिम अवस्था हो जुन अवस्थामा सहायता सामग्री भनेको औषधि र मनोपरामर्श हो भन्नुभयो । यो समाधान गर्नै नसकिने ठूलो समस्या भने होइन, प्रयास गर्दा धेरै जना ठीक भएर पुनः स्थापना भई राम्रो जीवन यापन गरिहरनु भएकाहरू पनि हुनुहुन्छ, त्यसैले चिन्ता नगरी समस्याको पहिचान गरेर समाधान खोज्नेतर्फ लागौं उहाँले जोड दिदै भन्नुभयो ।
सो कार्यक्रमका अपाङ्ग महासंघका पूर्वकेन्द्रीय सदस्य एवम् अपाङ्ग संरक्षण समाज लमजुङका संस्थापक अध्यक्ष चन्द्रकान्त पौडेल प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । उक्त कार्यक्रममा उहाँले आफूहरूले २०६२ सालमा संस्था स्थापना गरेर संस्थागत रुपमा अपाङ्गताका मुद्दालाई उठाउँदै आएको बताउनु भयो ।
पौडेलले विषय केन्द्रीत रहेर अबका दिनमा समग्र अपाङ्गता भएका व्यक्तिहरूले सेवा पाइरहदा त्यसमा मनोसामाजिक क्षेत्रका के कति जनाले सुविधा पाउनु भयो ? भन्ने तथ्यांक संकलन गर्न जरुरी छ भन्नुभयो । उहाँले मनोसामाजिक समस्या भएका व्यक्तिका लागि सहायता सामग्री भनेको मनोपरामर्श र औषधि नै हो, यसका लागि सचेतना जरुरी छ भन्नुभयो । उहाँले मनोसामाजिक स्थितिबाट गुज्रिएको वर्गलाई मूलप्रवाहिकरणमा ल्याउनका लागि समावेसी शिक्षा, रोजगारी, मानसिक स्वास्थ्य सेवामा पहुँच र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागित हो भन्ने उदाहरण सहित प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख प्रशिक्षक पौडेलले सञ्चारमाध्यमको सहयोग लिने वातावरण तयार गर्ने तथा सहकार्यका लागि बहुउद्देश्यीय समन्वय जरुरी रहेको समेत उल्लेख गर्नु भयो ।
कार्यक्रममा मनोसामाजिकहरूका लागि सरकारले ११ प्रकारका औषधि निःशुल्क दिने प्रवन्ध छ । तर तीभन्दा फरक प्रकारका औषधि डाक्टरहरूले लेखिदिने गरेको हुँदा ती औषधि खेर जाने गरेको स्थितितर्फ समेत सहजिकरण र सचेतना जरुरी रहेकोमा सबै सहभागी सहमत भएका थिए ।
सो अवसरमा वरिष्ठ पत्रकार एवम् पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण यस्ता कार्यक्रममा सहभागी नहुँदासम्म एकै खालको भन्ने बुझाई थियो । तर ऐले १० प्रकारको अपाङ्गता हुने रहेछ र तिनीहरूको सेवाका लागि राज्य त्यसै अनुरुप उहाँहरूको आवश्यकता पहिचान गरेर लाग्नु पर्छ भन्ने अनुभूति भएको छ भन्नुभयो । उहाँले कार्यक्रमका प्रमुख प्रशिक्षक चन्द्रकान्त पौडेलसँग अपाङ्ग संरक्षण समाजको स्थापनाकालदेखिनै सँगै रहेको हुँदा अपाङ्गका धेरै विषयवस्तुसँग आफू परिचित रहेको र प्राथमिकताकासाथ आफ्ना समाचारमा स्थान दिने गरेको जानकारी दिदै त्यो क्रम भोलिका दिनमा पनि जारी रहने छ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उक्त अवसरमा बेसीशहर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक एवम् अपाङ्गता शाखाका प्रमुख दुर्गा गुरुङले मनोसामाजिक लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका समस्यामा समन्वय, सहकार्य र सहयोगका लागि नगरपालिकाको क्षमता अनुसार सदैव तयार रहेको छ भन्ने जानकारी दिदै हामीले मिलेर काम पनि गरिहरेका छौ भन्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन गर्दै कोशिशका सहजकर्ता ईन्द्रप्रसाद सेढाईले स्वागत मन्तव्यका साथ कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले कार्यक्रममा सात जना महिलासमेत १९ जनाले भाग लिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८३ जेष्ठ ३०, शनिबार २०:४० गते