प्याब्सन लमजुङद्वारा शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण

प्याब्सन लमजुङद्वारा शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ३० गते आईतबार ०९:५१

अभिमुखीकरण कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक इन्द्रमणि दाहाल तथा उत्प्रेरक डा. तारा जीले पाठ्यक्रम, शिक्षण विधि (Pedagogy), निरन्तर मूल्याङ्कन प्रणाली (CAS) लगायतका विषयमा सहजिकारण गर्नु भएको थियो ।

विद्यार्थीमा नैतिक शिक्षा, देशप्रेम, राष्ट्रियता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउनु शिक्षकको महत्वपूर्ण दायित्व रहेको छ : जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ

बेसीशहर– लमजुङ निजी तथा आवासीय विद्यालयका शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमजुङको आयोजनामा सो अभिमुखीकरण जेठ ३१ गते गरिएको हो ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नु भएको हो । उहाँले विद्यार्थीमा नैतिक शिक्षा, देशप्रेम, राष्ट्रियता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउनु शिक्षकको महत्वपूर्ण दायित्व रहेको बताउनु भयो । शिक्षक समाज निर्माणका प्रमुख आधार भएको बताउँदै उहाँले गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो ।
प्याब्सन लमजुङका सल्लाहकार एवम् मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ तथा सल्लाहकार तारानाथ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरूले यस्ता कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको थियो । उहाँले उक्त कार्यक्रमले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, व्यवहारिक र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।
उदघाटन सत्रमा उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभएको थियो । प्याब्सनका सचिव विनोद गुरुङले सो कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक इन्द्रमणि दाहाल तथा उत्प्रेरक डा. तारा जीले पाठ्यक्रम, शिक्षण विधि (Pedagogy), निरन्तर मूल्याङ्कन प्रणाली (CAS) लगायतका विषयमा सहजिकारण गर्नु भएको थियो ।
कार्यक्रममा जिल्लाभरका निजी तथा संस्थागत विद्यालयका शिक्षकहरूको भारी संख्यामा सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ३१, आईतवार २१:५१ गते
हजुरको प्रतिक्रिया