बेसीशहर नगरपालिकास्तरीय उपभोक्ता सचेतनाको नमूना कार्यक्रम

बेसीशहर नगरपालिकास्तरीय उपभोक्ता सचेतनाको नमूना कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १ गते मङ्गलबार ०२:५५

बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले कार्यक्रमको महत्वमा प्रकाश पार्नु हुँदै बजारमा सुशासन कायम गर्ने चुनौति छ, त्यसलाई चिर्नका लागि सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो ।

सो सचेतना कार्यक्रमा बेसीशहर नगरपालिकाको ११ वटाबाट आएका २२ महिला समेत ६४ वजाले भाग लिएका थिए ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा उपभोक्ता सचेतनाको नमूना कार्यक्रम भएको छ । बेसीशहर नगरपालिकास्तरीय उक्त सचेतना कार्यक्रम नगरपालिकाको प्रवर्द्धनमा राष्ट्रिय उपभोक्ता मञ्च, लमजुङ शाखाले असार १ गते सञ्चालन गरेको हो । उक्त अगुवा उपभोक्ता सचेतना कार्यक्रमको बेसीशहर नगरपलिकाका कावा मेयर पदमा गुरुङले उदघाटन गर्नु भएको हो ।

उहाँले नगरपालिका क्षेत्रभित्रको बजार अनुगमनलाई नियमित गरिने बताउनु भयो । उहाँले बजारमा उपभोक्ता धेरै प्रकारले ठगिने गरेको बताउनु हुँदै तरकारी आदिको विउ किनेर लग्यो, उम्रदैन, त्यसले किसानलाई कति मर्का पर्छ होला ? भन्ने अनुमानमात्र गर्न सकिने बताउनु भयो । कुनै कुनै विउ उम्रन्छ तर फल दिदैन । जस्तो धान रोप्यो, फल्ने बेलामा बाला नै लाग्दैन, यस्तो अवस्थामा किसानको हालत के हुन्छ ? भन्ने प्रश्न उठाउनु भएको थियो ।
बजारमा अनुगमनमा जादा कतिपय वस्तुको मिति गुज्रिएको हुन्छ, पसलको सरसफाईमा ध्यान दिइएको हुँदैन, झिंगा भन्किरहेको हुन्छ । यस्ता कुराले मानव स्वास्थ्यमा खेलवाड भइरहेको छ, यो कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघ पनि सँगै हुनुहुन्छ, हामी सबैले सहकार्य गरेर बजार स्वास्थबर्द्र्धक र उचित मूल्य कायम गर्नका लागि सबैले पहल गरौं, मिलेर काम गरौं त्यसका लागि हामी तयार छौं उहाँले भन्नुभयो ।
यसैगरी बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले प्रशिक्षण शैलीमा मन्तव्य व्यक्त गर्नु भएको थियो । सो क्रममा उहाँले कार्यक्रमको महत्वमा प्रकाश पार्नु हुँदै बजारमा सुशासन कायम गर्ने चुनौति छ, त्यसलाई चिर्नका लागि सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो । उहाँले बजारको अवस्थाको चित्रण गर्दै भन्नुभयो, ‘नेपालमै भविष्य खोज्ने विद्यार्थीको उत्पादन गर्ने र त्यसको थालनी हामी आफै अर्थात मबाट सुरु गर्नु पर्छ, गरौं ।’
नगरपालिका सधैं उपभोक्ताका गुनासो र उजुरी सुन्न तयार छ र समाधानका लागि पनि प्रयत्नशील छ हाम्रो एक मात्र उद्देश्य बजारमा सुशासन कायम गर्नु हो उहाँले भन्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा पनि उजु्र गर्न सकिने उल्लेख गर्नु भयो । सामग्री किन्दा त्यो वस्तुको खान योग्य हुने म्याद के कति छ भन्ने हेरेर मात्र किन्ने बानी बसालौं, दही, पाउरोटीको अवधि निकै कम हुन्छ उहाँले भन्नुभयो । अन्य खाद्य वस्तु पनि सकेसम्म लेबल नभएका लगायतका खरिद नगरौं उहाँले भन्नुभयो । हामीले एमआरपि हेरेर खाद्य वस्तुको खरिद गर्ने गरौं भन्नु भयो । त्यस्तै, खाद्य र अखाद्य वस्तुको बारेमा आपसमा छलफल गर्ने बानीको विकास गर्न सकियो भने पनि बजारमा धेरै शुद्धता आउछ र बजारमा सुशासन कायम हुन सक्छ उहाँले भन्नुभयो ।
सो कार्यक्रमको प्रमुख प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीका प्रमुख ज्योति आचार्य हुनुहुन्थ्यो । उहाँले बजारको वस्तु स्थिति, खाद्यान्नमा हुने गरेको मिसावट, बजारमा के कसरी उपभोक्तालाई सहजै झुक्याउने वस्तु विक्री हुने गरेका छन् ? भन्ने उदाहरण सहित प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख प्रशिक्षक आचार्यले उत्पादक र उपभोक्तालाई जोड्ने सेतु खाद्य व्यवसायी भएको हुँदा खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नमा विशेष ध्यान दिनु पर्ने हुन्छ भन्नुभयो । उहाँले खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्न उत्पादक तथा विक्रेता होसियार नभएमा दण्डको भागिदार हुनुपर्ने कानुनी व्यवस्था रहेको उहाँले प्रष्ट्याउनु भएको थियो । उहाँले चुक अमिलो भनेर बेचिने कालो झोल अमिलो नभई केमिकल युक्त नरसायन हो त्यसैले त्यो चुक अमिलो नभई भुलचुक हो भन्नुभयो । त्यस्तै, रङ्ग राखेका झिलिंगाहरू, पत्रिकामा प्याक गरिएका खाद्य सामग्री खान नहुने समेत बताउनु भयो । त्यस्तै केरा पकाउनमा प्रयोग हुने सुनपानी पनि स्वास्थ्यका लागि हानिकारक छन् उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी, वडानं १ का अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले कार्यक्रम प्रभावकारी छ, धेरै कुराको जानकारी भयो । उहाँले वडाध्यक्षलाई धेरै अधिकार छ तर त्यसको व्यवहारमा प्रयोग भने कमै भएको छ भन्ने गुनासो व्यक्त गर्नु हुँदै बजार अनुगमन गर्दा आफूहरूलाई जानकारी नै नहुने गरेको गुनासो गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष नवराज पहाडीले वजार पाइने खाद्यान्न वस्तुका बारेमा धेरै कुरा सुन्यौं म फरक विषयमा यहाँहरूको ध्यानाकर्षण गर्दछु भन्दै उहाँले हरेक वस्तु उत्पादन हुँदै गर्दा पनि शुद्ध हुनुपर्छ तर खाद्यान्नमा भएको विषादिकै कारणले त्यसतर्फ हाम्रो ध्यान गएको छैन । त्यसकै कारण नसर्ने रोगको प्रकोप बढेको छ । तरकारी खेतीमा प्रयोग गरिने विषादी, ब्रोइलर कुखुरामा प्रयोग गरिने भिटामिन र प्रजनन क्षमता नष्ट गर्न प्रयोग गर्ने केमिकल क्यान्सरको घर हो, जो नियमित ब्रोइलर मासु खानु हुन्छ अबको १०/१२ वर्षमा क्यान्सर हुने निश्चित छ भन्नुभयो ।
उहाँले बसमा ठगिनु पनि उपभोक्ताको अधिकार हनन हुनु हो भन्नुभयो । उहाँले आजका दिनमा पनि जिल्ला प्रशासन कार्यालयबाट जारी बसभाडाको सूचनामा बेसीशहर– सिउँडीबारको भाडा ८५ रुपैयाँ छ, तर सय रुपैयाँभन्दा कम कुनै बसवालाले दिदैनन्, त्यो ठगी हामीले दिनहुँ सहन गरेका छौं तर प्रहरी प्रशासनमा उजुर कतिजनाले गरेका छौं ? गर्दछौं ? सहभागीहरूलाई प्रश्न गर्नु भयो । आफ्नो संस्था गैर नाफामूलक हुनुका साथै आफूहरूले स्वयम्सेवकका रुपमा काम गरिरहेको उल्लेख गर्नु भयो । तर पनि यत्तिको कार्यक्रम पनि विगतका वर्षका त भएका थिएनन् नि ! पहाडीले भन्नुभयो ।
उहाँले कानुनको अनभिज्ञता क्ष्यम्य हुदैन भन्ने मान्यता रहेको छ । त्यसैले हाम्रो हक अधिकार र कर्तव्यप्रति सचेत हुन आवश्यक छ भन्दै उपभोक्ता हक हित सम्बन्धित संवैधानिक र कानुनका बारेमा जानकारी दिनु भएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ ले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक हक सुनिश्चित गर्न र उपभोक्तालाई हुनसक्ने हानी, नोक्सानी वापत उपभोक्तालाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ भन्नुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका सल्लाहकार संयोजक रमाराज खनियाले स्वागत गर्नु भएको सो कार्यक्रममा विभिन्न सहभागीले आफूले भोग्दै आएका समस्याका बारेमा प्रश्न गर्नु भएको थियो । बेसीशहर नगरपालिकाका उद्याेग व्यवसाय सहकारी शाखा प्रमुख कम्प्युटर अप्रेटर रेशम घिमिरे खत्रीले उक्त कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
सो सचेतना कार्यक्रमा बेसीशहर नगरपालिकाको ११ वडाबाट आएका २२ महिला समेत ६४ जनाले भाग लिएका थिए ।

प्रकाशित मिति २०८३ असार २, मंगलवार १४:५५ गते
हजुरको प्रतिक्रिया