
काठमाडौं– आज असार ३ गते विश्व खडेरी दिवस । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।
२०२६ को विश्व खडेरीविरुद्ध संघर्षको दिवसको विषयवस्तु ‘चरन क्षेत्रस् पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ ।’ भन्ने रहेको छ । बढ्दो मरुभूमिकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।
प्रविधिले विकासमा ठूला ठूला फड्को मार्न सकेको भएता पनि मानिसका मनमा दया, माया, करुणको वीज उमार्न नसके जस्तै अर्थात ठूला ठूला मेसिनरी वस्तु हवाईजहाज, कम्प्युटरलगायतका मेशिन बनाउन सक्ने प्रयोगशालाद्वारा आजका दिनसम्म एक चिम्टी माटो आफैले बनाउन सकेको छैन । सादय त्यसैले हामीले माटो बनाउने कारखाना सुन्न, जान्न पाएका छैनौं । विश्वमा सबैभन्दा दुर्लभ र प्राण धान्ने वस्तुहरू भनेका नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन् । पञ्च तत्त्वका रूपमा वैदिक सनातन संस्कार, संस्कृतिले यी वस्तुहरूको संरक्षणका लागि आव्हान गरेको छ ।
जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ । त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् ।
यो दिवसले खाद्य सुरक्षादेखि वातावरण तथा भू–संरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । दिवस मनाउनुको मूल उद्देश्य यो धर्तीलाई जीवित वनस्पति र प्राणी जगतको संरक्षणबाट मानव जगतका लागि बस्न योग्य र सुन्दर बनाउनु हो । तर सुक्खा खडेरीका कारण जमिन मरुभूमिकरण हुने खतरा बढ्दै गएको छ । मरुभूमिकरण तथा खडेरी भनेको वर्षात् नहुनु मात्र होइन जलवायु परिवर्तनको असर र मानव क्रियाकलापबाट जमिनको उर्वरा शक्तिमा ह्रास आउनु पनि हो । उत्पादनशील जमिन क्रमशः अनुत्पादक बन्दै जाने प्रक्रिया नै मरुभूमिकरणको अवस्था हो ।
खडेरी भनेको लामो समयसम्म पर्याप्त वर्षा नपर्नु हो । यद्यपि खडेरी एक स्वाभाविक प्रक्रिया हो, जलवायु परिवर्तनले यसको आवृत्ति, अवधि र तीव्रता बढाइरहेको छ। यसले मरुभूमिकरणको असरलाई अझ गम्भीर बनाउँछ, जसले बाली सुकाउँछ, गाईवस्तु र वनस्पतिलाई मार्छ, र पानीको चरम अभाव निम्त्याउँछ ।
मरुभूमिकरण भन्नाले मरुभूमिको विस्तारलाई जनाउने होइन; यसको अर्थ हो उत्पादन क्षमतायुक्त जमिनको गुणस्तर क्रमशः बिग्रनु, यो वन फडानी, अत्यधिक चरन, अस्थिर कृषि अभ्यास, जलवायु परिवर्तन र प्रभावकारी पानी व्यवस्थापनको कमजोरीका कारण हुन्छ । यसले जमिनलाई बिस्तारै बन्जर बनाउँछ, जसले बाली, वनस्पति र जीवन धान्न सक्दैन । जब माटोको माथिल्लो तह बगेर वा सुक्खा भएर जान्छ, सम्पूर्ण पारिस्थितिक तन्त्र कमजोर हुन्छ र समुदायहरू आफ्नै भूमिबाट विस्थापित हुन बाध्य हुन्छन् ।
खडेरी र जमिन क्षरण रोक्न सबै तहको सहकार्य आवश्यक पर्छ । दिगो भूमिसंरक्षण कार्य गर्ने, वनरोपण र वनसंरक्षण, पानी व्यवस्थापनले खडेरीको असर कम गर्न मद्दत गर्दछ ।
जमिन केवल किसान वा वातावरणकर्मीको मात्र विषय होइन । शहर, पहाड, जङ्गल वा तट क्षेत्र जहाँ भए पनि, हाम्रो जीवन स्वस्थ जमिन, शुद्ध पानी र सन्तुलित पारिस्थितिकी प्रणालीमा निर्भर गर्छ ।
विश्व खडेरी रोकथाम दिवसले हामीलाई सोच्न मात्र होइन, काम गर्न पनि प्रेरित गर्छ । यो हामीले आजका दिनमा भोगिरहेको समस्या हो । यदि हामी सबैले हातेमालो गर्यौं भने जमिनको पुनःस्थापना सम्भव छ र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्न सकिन्छ ।
संयुक्त राष्ट्रसंघीय मरुभूमिकरणविरुद्धको सन्धि (ग्ल्ऋऋम्) अनुसार, विश्वका १०० भन्दा बढी देशहरू गम्भीर जमिन क्षरणको सामना गरिरहेका छन् । ३.२ अर्बभन्दा बढी मानिसहरू यसबाट प्रभावित छन् र यो संख्या अझै बढ्दो छ । विश्वको करिब ४० प्रतिशत जमिन पहिले नै बिग्रिसकेको छ, जसले खाद्य प्रणाली, अर्थतन्त्र र जनसंख्या प्रवाहमा असर पारिरहेको छ ।
यदि अहिलेको प्रवृत्ति यस्तै रह्यो भने सन् २०५० सम्ममा थप ५ करोड मानिस मरुभूमिकरणका कारण विस्थापित हुन सक्ने अनुमान गरिएको छ ।
उर्वर भूमिको जङ्गल विनाश हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुक्खा खडेरीले आक्रान्त पारी उक्त भूमि बाँझोमा परिणत हुने कारण नै जमिन मरुभूमिकरण हुने अवस्था हो । जुन विश्वमा बढ्दो पारिस्थितिकीय–वातावरणीय समस्याका रूपमा देखापरेको छ । सुक्खा, खडेरी र मरुभूमिकरणका कारणले मानवतामाथि नै संकट उत्पन्न भएको अर्थमा बुझ्दा यसलाई न्यूनीकरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । भविष्यका लागि सीमित प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन हुनबाट बचत गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ । यो दिवसले त्यो चुनौती बदल्नेतर्फ विश्वलाई उत्प्रेरित गर्न सकोस् ।
प्रकाशित मिति २०८३ असार ३, बुधबार ०८:३४ गते