
काठमाडौं– विशेष अदालतले व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसहित विभिन्न कसुरमा मुछिएका दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश असार ३ गते दिएको हो ।
थुनछेक बहस सकिएपछि अदालतको आदेश आएको हो । अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको तीन सदस्यीय इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दा पुर्पक्षका लागि यी प्रतिवादीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने … ।’ अग्रवालको हकमा स्वास्थ्य उपचारलाई मध्यनजरमा राख्न समेत आदेशमा उल्लेख छ ।
मनी लाउण्डरिङ मुद्दामा भट्ट र अग्रवालसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा र अग्रवालको हकमा २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा विगो दाबी गरिएको छ ।
अर्का प्रतिवादी शेखर गोल्छाको हकमा ५२ अर्ब ५० लाख विगोको दाबी रहेको छ । जम्मा ३९ प्रतिवादीमध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी छन् ।
आदेशमा आरोपपत्र साथ पेस गरिएको ०१–०३३ च १ नं.को गाडी कानुनबमोजिम कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा पठाइदिन भनेको छ भने दशी प्रमाणका रुपमा पेस भएका मोबाइल सामानहरू अदालतको जिन्सीमा आम्दानी बाँध्न समेत भनिएको छ । साथै, बरामद भएको विदेशी विनिमय अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाइदिन पनि आदेशमा उल्लेख छ ।
‘प्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजरमा गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारका लागि उचित व्यवस्था गर्नू भनी सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाउनू,’ आदेशमा उल्लेख छ ।
उनीहरूविरुद्ध हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा सजायको माग राखेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
भट्ट र अग्रवालविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धान गरी उनीहरूविरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको थियो ।
बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कसुर गरेको आरोप उनीहरूमाथि छ । त्यस्तै धितोपत्र सम्बन्धी कसुर र विदेशी विनिमय ऐन सम्बन्धी कसुर अन्तर्गत पनि कसुर गरेको आरोप छ ।
आर्थिक वर्ष २०७७÷७८ मा इन्फिनिटी होल्डिंग्स प्रालिको थप ४५ करोड पुँजी थप गरिएको विभागको दाबी छ । अभियोगपत्रअनुसार आव २०७९÷८० मा पनि नौ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको उल्लेख छ । विभागले बैकिङ कसुरमार्फत कर्जा अपचलन गरी प्राप्त रकमबाट बृद्धि गरिएको दाबी अदालत समक्ष लिएको छ ।
भट्टलाई गत चैत १९ गते अग्रवाल चैत २२ मा पक्राउ गरी थुनामा राखिएको छ । भट्ट र अग्रवाल दुवैले यो मुद्दामा अन्तिम फैसला नहुञ्जेल थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नु पर्नेछ । यद्यपि, सर्वोच्चमा जाने ठाउँ भने बाँकी छ ।
भट्टविरुद्ध आर्थिक वर्ष २०७४÷७५ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पुनःमूल्यांकन गरी थप मूल्य ३५ करोड ६८ लाख ८६ हजार २३ पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप छ ।
प्रकाशित मिति २०८३ असार ४, बिहीबार ०९:१८ गते