
दुराडाँडा(लमजुङ)– एक जमाना थियो, लमजुङको दुराडाँडाले जिल्लामा अग्रणी स्थान हासिल गरेको थियो । शिक्षा, चेतना, समाजसेवा, कुसंस्कार तथा अर्थिक संकटका विरुद्ध ब्राह्मणद्वारा हलोक्रान्ति आदि कार्य गरेर सम्भावनाको प्रतीक बनेको थियो । तर आज यो थलोको अवस्था ठीक उल्टो देखिन्छ । उजाड झाडीले ढाकिएका बस्ती, भत्कँदै गरेका बाटाघाटा, पानीको अभावले काकाकुल बनेका गाउँ, सुनसान घरहरू, जताततै बाँदरले सताएका बारी र ‘यो घरमा अझै मान्छे बस्छन् कि ?’ भनेर खोज्नुपर्ने अवस्था— यदि यस्ता दृश्यको पर्यायवाची नाम राख्नु प¥यो भने त्यो लमजुङको ऐतिहासिक थलो दुराडाँडा बन्न पुगेको छ यतिबेला ।
विसं २०१०– २० को दशकमा ‘दुराडाँडा केही छैन, टाढा जान्छु म त विद्याको खोजीमा’ भन्ने कविता पंक्तिले पनि दुराडाँडाको वस्तुस्थितिको बोध गर्दथ्यो ।
यतिबेला भने हामीलाई त्यही गाउँका बासिन्दा हामी हौँ भनेर गर्व गर्ने कि लाजले मुख छोप्ने भन्ने प्रश्नले आफैँलाई एकपटक नियाल्न बाध्य बनाउँछ । यो अवस्थाको जिम्मेवारी कसले लिने ? हलो क्रान्तिका नायकहरूले, शिक्षा अभियानका अगुवाहरूले, २०४६ साल पछिका हामी भनिएका नेताहरूले, हामीजस्ता सामान्य नागरिकहरूले, नीति निर्माताहरूले, वा ‘लमजुङमा दुराडाँडा आउट, दुराडाँडा मा ……. आउट’को मानसिकता बोक्नेहरूले ? केही व्यक्तिहरूले पढे, जागिर खाए र बाहिरिए भनेर उनीहरूप्रति रिस पोखेर मात्र गाउँको समस्या समाधान हुँदैन । परिवर्तनको नारा दिनेहरूले पनि समस्याको सम्बोधन गर्न निकास दिन नसकेपछि ‘बाँदरले सतायो, अब कहिले हिँड्ने ?’ भन्ने सोच गाउँ यतिबेलासम्म त्यो विरासत थाम्दै गरेकाहरूको दिल दिमागभर फैलिएको जस्तो देखिन्छ ।
यस्तै यस्तै निराशा, कुण्ठा अनि चिन्ताका बीच आशा र सम्भावनालाई आत्मसात् गर्ने उद्देश्यले २०८३ साल जेठ महिनाको अन्तिम २९ र ३० गते दुराडाँडा सेवा समाज काठमाडौंका केही साथीहरू एक गाडी लिएर दुराडाँडा पुग्यौँ । भ्रमणको सुरुआत सुन्दरबजार नगरपालिकाबाट भयो । नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालासहित नगरपालिकाको टोलीसँग विकास, समृद्धि र ‘वेलनेस’ सम्बन्धी विषयमा छलफल गरियो । मेयरबाट सबैका कुरा सुन्ने काम भयो तर आफ्ना कुरा कम खुलाउने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ मेयर भन्ने सुन्दै आएको र त्यसमा पनि दुराडाँडाका विषय उठ्दा टाउको दुख्ने गरेको भन्ने टिप्पणीहरू पनि कहिलेकाहीँ सुनिन्थ्यो ।
यद्यपि दुराडाँडाको विकासमा अवरोध सिर्जना गर्नेहरू केवल बाहिरका मात्र होइनन्, भित्रकै केही मतियारहरू पनि रहेको यथार्थ लुकाउन सकिँदैन । केन्द्रबाट बन्न लागेको सडक आफ्नो प्रभाव क्षेत्रतर्फ तान्ने, फाइलहरू विभिन्न कार्यालयमा अल्झाई राख्ने र स्रोतविहीन योजनामा सीमित पार्ने प्रवृत्तिले दुराडाँडाको विकासमा गम्भीर असर पुर्याएको छ । यस्ता गतिविधिको वास्तविकता कुनै न कुनै दिन अवश्य उजागर हुनेछ ।
यी सबै परिस्थितिका बीच हामीले दुराडाँडाको आस्था, संस्कार, संस्कृति, परम्परा र सम्भावनालाई पुनर्जीवित गर्ने प्रयासस्वरूप कालिका मन्दिरमा नियमित पूजा, महाआरती तथा पूर्णकदको काली मूर्ति स्थापना गर्ने योजना अघि बढायौँ । यससँगै ‘आरोग्य धर्मपथ’ अर्थात् स्वास्थ्य र धर्मलाई जोड्ने अवधारणा माथि विशेष छलफल गरियो । नगर प्रमुखदेखि साविकका छ वटै वडाका अध्यक्षहरूसँग भेट्ने योजना रहे पनि धुसेनी, सिन्दुरे, चन्द्रेश्वर र नेटा वडाका अध्यक्षहरूसँग सार्थक छलफल सम्भव रह्यो ।
पाणिनीका गुरु तथा बटुकहरूको सहयोगमा कालिका, मालिका, वरथुम्की, पुरानकोट देवी, गाउँशहर काली, करापुटार महादेव र तिलनदी महादेव लगायत धार्मिक केन्द्रहरूलाई जोडेर धार्मिक आस्था, आन्तरिक पर्यटन, स्थानीय उत्पादन र होमस्टे प्रवद्र्धनका विषयमा व्यापक छलफल भयो । विद्यालयहरूको अवस्था सुधार, आवश्यक विषय छनोट तथा गुणस्तरीय शिक्षाका सवालहरू पनि उठाइए ।
हामी स्पष्ट थियौँ कि दुराडाँडा सेवा समाज विकासको प्रत्यक्ष कार्यान्वयनकर्ता होइन, सहजकर्ता मात्र हो । स्थानीय नेतृत्व, सरोकारवाला निकाय र राजनीतिक प्रतिनिधिहरूलाई झक्झक्याउने तथा बजेट निर्माणको पूर्वसन्ध्यामा दुराडाँडाका प्राथमिक आवश्यकता र सम्भावनाहरूलाई उजागर गर्ने हाम्रो मुख्य उद्देश्य थियो ।
तुर्लुङका गुठीका पदाधिकारी, क्लबका प्रतिनिधि, आमा समूह, विभिन्न तहमा रहेका दुराडाँडा समाजका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूसँग कालिका मन्दिरमा पूर्णकदको काली मूर्ति स्थापना तथा महाआरती कार्यक्रमका विषयमा भएको छलफल अत्यन्त उत्साहजनक र सकारात्मक रह्यो । सबै पक्षले कार्यक्रम सफल बनाउन खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन दुराडाँडा सेवा समाजको संयोजकत्वमा दुरा सेवा समाज, दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान, कालिका गुठी व्यवस्थापन समिति, कालिका क्लब तथा अन्य सरोकारवालाहरूको सहभागितामा कार्यसमिति गठन गर्ने तथा छ वटै वडाका अध्यक्षहरूको सहभागितामा समन्वय तथा सल्लाह समिति गठन गर्ने निर्णय गरियो ।
यस कार्यक्रममार्फत नगरपालिका तथा सम्बन्धित वडासमक्ष निम्न मागहरू प्रस्तुत गरिएको छ :
१. फेदी– किरिञ्चे– नाल्मा तथा दुराडाँडा– नेटा लिंक सडक स्तरोन्नति र कालोपत्रे गर्ने ।
२. दुराडाँडा क्षेत्रका मठमन्दिरहरूमा नियमित पूजा–आराधनाको व्यवस्था गर्ने ।
३. मालिका र कालिका मन्दिरमा नियमित महाआरती सञ्चालन गर्ने ।
४. ‘आरोग्य धर्मपथ’ अवधारणाअन्तर्गत सुन्दरबजारको च्यानपाटा, मध्यनेपालको नेटा र बेसीशहरको पुरानकोटमा आरोग्य आवास गृह स्थापना गरी व्यवसायिक सञ्चालन गर्ने ।
५. खानेपानी, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार गर्ने ।
६. सर्वोदय क्याम्पसका भवनहरूलाई आवासीय तालिम केन्द्रका रूपमा विकास गर्न पहल गर्ने ।
७. ‘ग्रिन दुराडाँडा : स्थानीय उत्पादन, दुराडाँडा जाऔँ– अर्गानिक खाऔँ’ अभियान सञ्चालन गर्ने ।
८. विकासमा ‘भ्यालु चेन’ अवधारणालाई आत्मसात् गरी कृषि, पर्यटन, धार्मिक आस्था, स्थानीय उत्पादन र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने । आदि ।
दुराडाँडाको भविष्य केवल सडक वा भवनले मात्र बदलिँदैन । यसको पुनर्जागरणका लागि आस्था, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय उत्पादन र रोजगारीलाई एउटै विकास शृङ्खलामा जोड्न आवश्यक छ । यदि हामीले आफ्नो गाउँलाई केवल सम्झनाको विषय मात्र बनायौँ भने इतिहासले हामीलाई क्षमा गर्ने छैन । तर यदि हामीले साझा प्रयासमार्फत दुराडाँडालाई पुनः जीवन्त बनाउने अभियान सुरु ग¥यौँ भने यही भूमि फेरि शिक्षा, चेतना र सम्भावनाको केन्द्र बनाउन सकिन्छ ।
प्रकाशित मिति २०८३ असार ४, बिहीबार १०:५० गते