अमेरिकामा नागरिकता काण्ड : ‘विशेष प्राकृतिककरण खारेज अभियान तीब्र

अमेरिकामा नागरिकता काण्ड : ‘विशेष प्राकृतिककरण खारेज अभियान तीब्र

एजेन्सी

@antaranganews

२०८३ असार ३ गते बिहिबार ०८:५०

एक वरिष्ठ अधिकारीले भने, ‘यो कानुनी व्यवस्था दशकौँदेखि लागू छ । अमेरिकी नागरिकताको विश्वसनीयता जोगाउन र योग्य व्यक्तिले मात्रै नागरिकता पाऊन् भन्ने सुनिश्चित गर्न यस्ता मुद्दालाई प्राथमिकता दिइएको हो ।’

प्रशासनले आगामी अक्टोबरभित्र कम्तीमा २५० वटा डिन्याचुरलाइजेसन मुद्दा दायर गर्ने योजना बनाएको छ ।

एजेन्सी/अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्राकृतिककरण (नेचुरलाइजेसन) प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्तिहरूको नागरिकता खारेज (डिन्याचुरलाइजेसन) गर्ने अभियानलाई तीव्र बनाएको छ । प्रशासनले आगामी अक्टोबरभित्र कम्तीमा २५० वटा डिन्याचुरलाइजेसन मुद्दा दायर गर्ने योजना बनाएको असार ४ गते जनाएको हो ।
यो वर्षको पछिल्लो दुई महिनाभन्दा कम अवधिमै न्याय विभागले २९ वटा मुद्दा दायर गरिसकेको छ । ती सबै मुद्दा विदेशी मूलका अमेरिकी नागरिकविरुद्ध हुन्, जसले अमेरिकी नागरिकता प्राप्त गर्ने क्रममा ठगी वा झूटो विवरण दिएको आरोप लगाइएको समाचारमा जनाइएको छ ।
सन् २००८ देखि १२ जुन २०२६ सम्म १६६ वटा डिन्याचुरलाइजेसन मुद्दा दायर भएका थिए, जसको वार्षिक औसत १० भन्दा कम रहेको अमेरिकी न्याय विभागका एक वरिष्ठ अधिकारीले बताए । उनका अनुसार यसले ट्रम्प प्रशासनले विगतका वर्षहरूको तुलनामा यो अभियान निकै तीव्र बनाएको देखाउँछ । उनले भने, ‘यो कदम ट्रम्पको कडा आप्रवासन नीतिको हिस्सा हो ।’
प्रशासनले अब अवैध रूपमा बसोबास गर्नेहरूलाई मात्र नभई, प्राकृतिककरणमार्फत नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूमाथि पनि निगरानी र कानुनी कारबाही बढाएको सरकारी अभिलेख पहुँच तथा विश्लेषण केन्द्रले जनाएको छ । सो केन्द्रका अनुसार न्याय विभागले डिन्याचुरलाइजेसनका मुद्दा अघि बढाउन विभिन्न शाखामा कार्यरत नागरिक मुद्दा हेर्ने वकिलहरूलाई समेत परिचालन गरेको छ । त्यस कार्यका लागि अन्य विभागका वकिल पनि परिचालन गरिएको छ । साथै, अमेरिकी सरकारी वकिल (यूएस अटर्नी) कार्यालयहरूमा पनि थप मुद्दा पठाइँदैछ । ठगी अनुसन्धानमा खटिएका वकिलहरूलाई समेत यस्ता मुद्दामा लगाइएको बताइएको छ ।
एक वरिष्ठ अधिकारीले भने, ‘यो कानुनी व्यवस्था दशकौँदेखि लागू छ । अमेरिकी नागरिकताको विश्वसनीयता जोगाउन र योग्य व्यक्तिले मात्रै नागरिकता पाऊन् भन्ने सुनिश्चित गर्न यस्ता मुद्दालाई प्राथमिकता दिइएको हो ।’
कुन–कुन आधारमा हुन सक्छ नागरिकता खारेज ?
अमेरिकी कानुनअनुसार नागरिकता प्राप्त गर्ने क्रममा महत्वपूर्ण तथ्य लुकाइएको, झूटो विवरण दिइएको वा कानुनी रूपमा नागरिकता प्राप्त गर्ने योग्यता नै नभएको प्रमाणित भएमा संघीय सरकारले नागरिकता खारेज गर्न सक्ने अधिकार राख्छ । यस्ता मुद्दा परिस्थितिअनुसार दिवानी वा फौजदारी दुवै रूपमा अघि बढ्न सक्छन् । यद्यपि, अमेरिकामै जन्मिएका र जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिमा यो प्रक्रिया लागू हुँदैन ।
हालसम्म ट्रम्प प्रशासनले दायर गरेका मुद्दामा नागरिकता प्राप्त गर्ने क्रममा ठगी गरेको, नाबालिगमाथि यौन दुव्र्यवहार गरेको वा प्राकृतिककरणअघि वा त्यसक्रममा आतंकवादप्रति समर्थन जनाएको आरोप लगाइएका व्यक्तिहरू समावेश छन् ।
नेपालीलाई कस्तो प्रभाव पर्ला ?
ट्रम्प सरकारले ल्याएको नागरिकता वा ग्रीनकार्ड नभएका बुबाआमाबाट जन्मिएका सन्तानले जन्मसिद्ध नागरिकता नपाउने प्रावधान अदालतले स्वीकार्दै कार्यान्वयन भएमा यसको प्रभाव नेपालीहरूमा पनि ठूलै पर्ने स्थिति छ ।
ट्रम्प प्रशासनले गत वर्ष कानुनी स्थायी बासिन्दा (नागरिकता वा ग्रीनकार्ड) नभएका बुबाआमाबाट जन्मिएको सन्तानले नागरिकता नपाउने एक कार्यकारी निर्देशिका जारी गर्दै जन्मसिद्ध नागरितासँग सम्बन्धित नयाँ व्यस्था अघि बढाएको थियो ।
अमेरिकाको संविधानको १४ औं संशोधनमा उल्लेख गरिएको ‘अमेरिकाको भूमि वा क्षेत्रभित्र जन्मिएका जो कोहीले अमेरिकी नागरिकता पाउने’ संवैधानिक व्यवस्थालाई उल्ट्याउन ल्याइएको जन्मसिद्ध नागरिकतासँग सम्बन्धित नयाँ निर्णयविरुद्ध अदालतमा चरणबद्ध मुद्दा अघि बढाइएको थियो ।
अब आमा अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउने छैन । त्यसैगरी आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउने छैन । बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता नपाउने बताइएको छ ।

प्रकाशित मिति २०८३ असार ४, बिहीबार २०:५० गते
हजुरको प्रतिक्रिया