भोटेओडार(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार दामोदर अधिकारीले ‘जन्मदिनमा बत्ती निभाउने, केक काट्ने हाम्रो संस्कार, संस्कृति हैन, हामीले त अष्ट चिरञ्जीवीको पुजा गरी, हामी पनि त्यस्तै चिरञ्जीवी हुन सकौं भनेर आशीर्वाद माग्ने हो जन्म दिनमा’ भन्नुभएको छ । उहाँले कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको लमजुङ/रुपाकोट जिल्ला समितिको आयोजनामा आज भएको नवौं जिल्लासभा, वनभोज तथा सम्मान कार्यक्रमको उदघाटन गर्दै असार ६ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले कश्यपका सन्तान हुन आचरण चाहिन्छ भन्नुभयो । त्यो भनेको संस्कार सहितको संस्कृति हो यदि कश्यपको संस्कार सरसर्ती आएन भने हामी कश्यपका सन्तान नभई वर्णशंकर हुन्छौं उहाँले शास्त्रीय मतको व्याख्या र उदाहरण सहति उल्लेख गर्नु भयो । उहाँले सात पुस्ताभित्रका सन्तान दशाहा भाइ हुन्छन्, चौध पुस्तासम्मका तीन दिने हुन्छन् भने अन्यको एक दिन जुठो लाग्छ भन्ने जानकारी दिदै के कस्तोमा कोरी पूजा र के कस्तोमा कसरी बली पूजा गर्ने भन्नेसमेत उदाहरण सहित प्रष्ट्याउनु भएको थियो । हिजोआज कोही कोही वैष्णवी भएका छन् तर हामी शैवी हौं उहाँले भन्नुभयो ।
उहाँले कश्यप भनेको श्राद्धको दिनमा पण्डितले जनै फेर्नु भो भनेर सोध्दा, ‘त्यो त छैन, तपाईले ल्याउनु भएको छ ?’ भनेर मागेर जनै भिरेर पनि कश्यप भएकै छौं तर त्यसरी कश्यपको असल सन्तान भइदैन, किनकि पछिल्ला वर्षहरूमा हामी धेरै संस्कारभन्दा बाहिर छौं भन्नुभयो । पोशाकको सन्दर्भमा उहाँले पोशाक बाना मिलाएर लगाउनु पर्छ । ब्राह्मणले पाइन्ट माथि धोती लगाएर हुन्छ ? भन्ने प्रतिप्रश्न गर्नु भयो । यस्ता कार्यक्रमले हामीलाई संस्कार जीवित गर्ने अवसर प्रदान गर्न सक्नु पर्छ उहाँले भन्नुभयो । आध्यात्मिक साधनरत अधिकारीले टिकाको महत्वमा प्रकाश पार्दै भन्नुभयो, ‘विहान टिका नलगाएको ब्राह्मण देख्यो भने दिनभर अशुभ हुन्छ भन्ने प्रचलन थियो तर आज ….. ? भन्ने प्रश्न उठाउँदै आचार हिनम् न पुनन् ति वेदा/देवा अर्थात् आचारहीनलाई आचरणहीनहरूलाई वेदहरूले, देवताहरूले पनि पवित्र गर्न र मोक्ष गर्न सक्दैनन् भन्ने उल्लेख गर्नुभयो ।
प्रतिष्ठानको शाखा भवन निर्माण अर्थ व्यवस्था समितिका संयोजक समेत रहनु भएका अधिकारीले हामी कश्यपलाई झापाका नरेन्द्रकुमार अधिकारी(हाल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष)ले जुटाइदिएको स्मरण गर्दै त्यो महापुरुषको योगदानले आज हामी यतिसम्म गर्न सक्ने भएका छौं, थप धेरै गर्न बाँकी छ । अब हामी छिट्टै आफ्नो भवन बनाएर यस्ता कार्यक्रम त्यसमै सम्पन्न गर्ने हैसियतको हुनुपर्छ, हामीले गैर अधिकारीको एक पैसा पनि नलगाई भवनको निर्माण कार्य सम्पन्न गर्नेछौं भन्नुभयो । उहाँले आफ्नो कुलमन्दिर निर्माणका लागि अरु कसैले अनुदान दिन्छ कि ? वा कुनै एनजिओले छाना हाली दिन्छ कि ? भन्ने तिर लाग्ने हुँदैन । हाम्रो संस्कार संस्कृतिले सके कमाईको ५१ प्रतिशत नभए पनि १० प्रतिशत पुण्यकर्ममा दान गर्नु पर्छ भनेको छ । त्यसैले हामी यो कुल मन्दिर निर्माणका लागि एक पटक आफ्नो कमाईको १० प्रतिशत दान गर्न सबै कुल बन्धुबान्धवा तयार हुनुपर्छ, त्यसो भयो भने अन्य कसैसँग हात फैलाउनु पर्ने छैन उहाँले भन्नुभयो । उहाँले हामीलाई यो अवसर प्रदान गर्नु हुने घडेरी दाताहरूको जति प्रशंसा गरेपछि थोरै हुने भन्दै विशेष धन्यवादको पात्र हुनुहुन्छ भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय सचिवालय सदस्य नवराज पहाडीले आफ्नो संक्षिप्त मन्तव्यमा हामीले प्रतिष्ठानमार्फत केही भिन्न तर सबैका लागि अनुकरणीय कार्य गरिआएका छौं भन्दै छात्रवृत्ती कार्यक्रम, त्यसका लागि अक्षयकोषको प्रवन्ध, दाताको खोजी, वर्षै पिच्छे हुने यो वनभोज यसमा समेटिएका सम्मान लगायतका विविध कार्यक्रम अनुकरणीय रहेको उल्लेख गर्नु भयो । अब हाम्रो अर्जुन दृष्टि भवन निर्र्मणमा केन्द्रीत हुनेछ उहाँले उल्लेख गर्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले वंशावलीको दोस्रो भोलुम जो पाँच केजीभन्दा बढी तौलको छ र मूल्य मात्र २५ सय रुपैयाँ रहेको छ, वेद र गीतको पुस्तकझैं घरघरमा सजाएर राख्न जरुरी छ । त्यसका केही प्रति अझै हामीले विक्री गर्नु पर्ने स्थिति रहेको उहाँले जानकारी दिदै अब अर्को भोलुम वंशावली ननिस्कने र डिजिटलमा अपडेट गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य पं. मुक्ति अधिकारीले विन्दू– विन्दू मिलेर सिन्धु बन्दछ भन्दै हाम्रा गतिविधि सन्तोषजनक रहेको र आगामी दिनमा कमीकमजोरी सुधार्दै अघि बढेमा नतिजा राम्रो आउने आफ्नो विश्वास रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा पूर्व वैंकर विमल अधिकारीले पुर्खाहरूबाट सिकेर गर्व गर्नु पर्नेमा जोडदिदै षडानन्द बाल ब्रम्हचारी पनि अधिकारी हुनुहुन्थ्यो, तर उहाँको चर्चा पाइदैन । त्यस्तै, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी जस्ता व्यक्तित्वहरू हाम्रा आदर्श हुनुहुन्छ उहाँले भन्नुभयो । उहाँले आफ्नो गाउँ ठाँटीचौरका अधिकारी ११ पुस्ताका रहेको र त्यो माथि जोडिन नसकेको स्मरण गर्दै हामी जोडिन चाहन्छौं त्यो प्रयास होस् भन्नुभयो । उहाँले नगद धेरै नराख्ने र बैंकमार्फत काम गर्ने कोषाध्यक्षको प्रतिवेदनमा आएका कुरा राम्रो रहेको छ यस्तै पारदर्शी ढंगले अघि बढ्नु पर्छ भन्ने सुझाव समेत राख्नु भएको थियो ।
एक महिनाको पेन्सन ४० हजार रुपैयाँ भवन निर्माणका लागि दान :
त्यस्तै, निवृत्त वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले आफू यस्तो कार्यक्रममा तेस्रोपटक सहभागी भएको भन्दै देशभर सबैभन्दा बढी पौडेल र त्यसपछिको संख्या अधिकारीको छ तर अधिकारीको किन आफ्नै भवन छैन ? भन्ने कौतुहल लागिरहेको बेलामा भवन बन्न लागेको खबरले धेरै खुशी लागेको बताउनु भयो । उहाँले राम्रो कार्यक्रम ल्याएर जागिरे तथा पेन्सनवालाबाट एक महिनाको तलब वा पेन्सन दिने वातावरण बनाउन सुझाव दिनु भयो ।
उहाँले आफ्नो एक महिनाको पेन्सन ४० हजार रुपैयाँ भवन निर्माणका लागि प्रदान गर्दछु भन्ने घोषणा गर्नु हुँदा कार्यक्रमका सहभागीहरूले तालीको गडगडाहटले उहाँको सम्मान गररेको थिए । उहाँले हिसाव पारदर्शी हुनुपर्नेमा विशेष जोड दिनु भएको थियो । आजको जमाना मिडियाको हो, त्यसको भरपुर प्रयोग गर्नुपर्नेमा जोड दिदै, दाताको नाम मिडियामा आउने प्रवन्ध गर्नु पर्ने, हामीले ३/३ महिनामा हिसाब पारदर्शी गर्ने परिपाटीको विकास गर्नुपर्छ उहाँले सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा अधिकारी कुल वंशबाट माविस्तरको प्रधानाध्याक बनेर वंशको गौरव बढाउने कार्य गरेकोमा प्रधानाध्यापक त्रय प्रतिष्ठानको कार्यकारी सदस्य समेत रहनु भएका नवराज अधिकारी, शान्ता पौडेल अधिकारी र भिष्मकान्त अधिकारीलाई सम्मान गरिएको थियो ।
सम्मानित भएपछि मन्तव्य व्यक्त गर्दै प्रअ भिष्भकान्त अधिकारीले करिब तीन घण्टाको यो कार्यक्रम निकै प्रभावकारी लाग्यो भन्दै उहाँले भवन निर्माणका लागि हरतरहले आफू सहयोग गर्न तयार रहेको भन्दै ११ हजार १११ रुपैयाँ प्रदान गर्नुभयो । त्यस्तै, अर्का प्रअ शान्ता पौडेल अधिकारीले आत्रेय गोत्रमा जन्मिएर कश्यप गोत्रमा प्रवेश गर्न पाएकोमा गौरवबोध भएको छ भन्दै शिक्षकका रुपमा धेरै वर्ष काम गरेपनि प्रधानाध्यापकको जिम्मेवारी यही असार १ गतेदेखिमात्र पाएको बताउनु भयो । उहाँले केही गरेपछि सम्मान पाएको भए बेस हुन्थ्यो तर पनि मलाई यो सम्मानबाट थप जिम्मेवार हुन र केही गर्नका लागि उर्जा प्राप्त भएको र उत्साह बढाएको छ । यति राम्रो कार्यक्रम हुन्छ भन्ने जानकारी थिएन । त्यो भएको भए आफ्नो गाउँबाट पनि केही सहभागी ल्याउन सक्ने भन्दै उहाँले आफ्नो गाउँमा २२ घरपरिवार अधिकारी रहेको जानकारी दिनुभयो । उहाँले कुल वंशको इज्जत र गौरवबोध हुने कार्य गर्नेछु भन्नुभयो ।
निवर्तमान जिल्ला अध्यक्ष तुलसीविलास अधिकारीले विरुवा नरोपी फल खान नपाईने भन्दै त्यसका लागि हामी तयार हुनुपर्छ भन्नुभयो । उहाँले सदस्यहरूले आफ्नो जिम्मेवारी र कर्तव्यलाई बुझ्न र त्यस अनुसारको व्यवहार गर्न जरुरी छ भन्नुभयो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एसईईमा कश्यप गोत्रीय परिवारमा सर्वाधिक चार जिपिए ल्याई उतीर्ण हुने सौजन्य अधिकारी(भोटेओडार) र अंकीता अधिकारी(दुराडाँडा) लाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा जिल्ला अध्यक्ष प्रकाशचन्द्र अधिकारीले भावि कार्यक्रमबारेमा प्रकाश पार्नु भएको थियो भने जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा निवर्तमान जिल्ला सहसचिव पार्वता अधिकारी, भवन निर्माण व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद अधिकारी(भोटेओडार), आजको कार्यक्रमका संयोजक एवम् हर्कदेव वंश प्रतिष्ठान कुसुण्डेका अध्यक्ष सूर्यकान्त अधिकारी, मध्यनेपाल नगरका सचिव शिवराम अधिकारीलगायतले आआफ्नो धारणा सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका जिल्ला उपाध्यक्ष सिर्जना बराल अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव गोविन्दप्रसाद अधिकारी र कोषाध्यक्ष कमल अधिकारीले गर्नु भएको थियो भने कार्यकारी सदस्य दिपेन्द्र अधिकारीले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
प्रकाशित मिति २०८३ असार ६, शनिबार २०:५७ गते