रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि : वरिष्ठ नेता र सभापतिले संयुक्त रुपमा दिउँसो २ बजे उदघाटन गर्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि : वरिष्ठ नेता र सभापतिले संयुक्त रुपमा दिउँसो २ बजे उदघाटन गर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ६ गते आईतबार ०८:०४

प्रारम्भिक तथ्यांक अनुसार महाधिवेशनमा भाग लिने प्रतिनिधि ४ हजार २१० हुने केन्द्रीय सचिवालयले जनाएको छ । त्यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उहाँले जानकारी दिनु भयो । सभापतिले मनोनय गर्ने संख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठको भनाइ छ ।

विधानमा केन्द्रीय समितिको संख्या १५१ सदस्यीय हुनेमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् ।

भरतपुर(चितवन)– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज असार ७ देखि यहाँ सुरु हुँदैछ । महाधिवेशनको सो दलका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेले संयुक्त रुपमा दिउँसो २ बजे उदघाटन गर्ने कार्यक्रम छ ।
हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको अधिकांश व्यवस्थापनको काम पूरा भएको सो दलका प्रवक्ता मनिष झाले जानकारी दिनु भयो । उहाँका अनुसार भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम तय भएको छ । उहाँले भन्नुभयो, ‘महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । रास्वपाले पार्टी सदस्य पाँच लाख पुगेको बताइएको छ । महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिले भाग लिनेछन् ।
रास्वपाले अधिवेशनको तयारीका लागि विभिन्न १८ उपसमिति बनाएर काम बाँडफाँट गरेको थियो । चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको उहाँको भनाइ छ । उहाँका अनुसार राजनीतिक, आर्थिक, सांगठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् ।
सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको समेत सहभागितालाई सुनिश्चित हुनेगरी विधान परिवर्तनको निर्णय गरेको हो ।
प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले बताउनु भयो । विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । उहाँका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुईजना रहनेछन् ।
अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ ।
रास्वपाले ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ । यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
चार हजार बढी प्रतिनिधिले भाग लिने :
प्रारम्भिक तथ्यांकमा तीन हजार ८१० प्रतिनिधि देखिएको सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक तथ्यांक अनुसार ४ हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ । त्यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उहाँले जानकारी दिनु भयो । सभापतिले मनोनय गर्ने संख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, ‘आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।’
श्रेष्ठले दिनु भएको जानकारी अनुसार प्रारम्भिक तथ्यांकअनुसार कोशी प्रदेशबाट प्रतिनिधि संख्या ५२० रहेको छ । मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।
चुनावी कार्यतालिका :
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत चुनावी कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशन प्रतिनिधिका नामावली प्रकाशनदेखि मत परिणाम घोषणासम्म कार्यतालिकामा समेटिएको छ । सो अनुसार भोलि असार ८ गते दिउँसो २ देखि अपराह्न ४ बजेसम्म उमेदवारी मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।
प्रक्रिया पूरा गरी सोही दिन राति ११ बजे उमेदवारका अन्तिम नामावली प्रकाशन गरिने विभागका प्रमुख भुवन केसीले बताउनु भयो । उहाँका अनुसार असार ९ गते बिहान साढे ८ देखि दिउँसो ३ बजेसम्म मतदान गरिने कार्यतालिका छ । मतदान सम्पन्न भएको दुई घण्टापछि मत परिणाम घोषणा गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
चिकित्सकसहित तीन एम्बुलेन्सको तयारी :
रास्वपा महाधिवेशन स्थलमा चिकित्सकसहित तीन एम्बुलेन्सको तयारी गरिएको छ । चितवनमा चर्काे गर्मी र भीडभाड हुने भएकाले सहभागीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्ने तयारी गरिएको स्वास्थ्य उपसमितिका संयोजक डा. मनोहर प्रधानले बताउनु भयो । उहाँका अनुसार, महाधिवेशन उद्घाटनसत्रमा तीन सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, ‘उद्घाटनस्थलका तीन ठाउँमा स्वास्थ्य डेस्क रहने व्यवस्था मिलाइएको छ ।’ उहाँका अनुसार त्यसमध्ये एक अतिथिदीर्घातर्फ र दुईवटा दर्शकदीर्घातर्फ राखिने भएको छ ।
उद्घाटनसत्र चौरमा गरिने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ ।
दूरसञ्चार सेवाको क्षमता विस्तार :
यसैबीच, नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको निमित्त प्रमुख चन्दनकुमार झाले बताउनु भयो । उहाँका अनुसार भरतपुरस्थित मुख्य र आसपासका अरू टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ ।
उद्घाटनसत्र भरतपुरको गेस्टहाउस चौरमा हुनेछ । बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्दसत्र भित्र हुने भएकाले बढी जोखिम नहुन सक्छ ।
आज असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति २०८३ असार ७, आईतवार ०८:०४ गते
हजुरको प्रतिक्रिया