
भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ताको शुल्क सार्वजनिक गरेको छ । सभापति पदमा ५१ हजार, अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यमा २१ हजार उम्मेदवारी शुल्क तोकिएको छ । मतदान ९ गते बिहान हुने कार्यतालिका छ ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचना अनुसार सभापति पदमा उम्मेदवारी दिनका लागि ५१ हजार शुल्क तोकेको छ । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, पदाधिकारीका लागि ४१ हजार शुल्क तोकिएको छ । पदाधिकारीमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने उल्लेख छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिनका लागि रास्वपाले २१ हजार शुल्क तोकेको छ । त्यस्तै, १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको छ ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आज असार ७ गतेबाट यहाँ सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका हिजै सार्वजनिक गरिसकेको छ ।
सार्वजनिक कार्यतालिका अनुसार ९ गते बिहान साढे ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम तय गरिएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार असार ६ गते राति साढे ८ बजे महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । प्रतिनिधिहरूमाथि दाबी विरोधका लागि राति ८ः३० बजेसम्म पार्टी निर्वाचन आयोगको सम्पर्क सचिवालयमा जानकारी गराउनुपर्नेछ सूचित गरिएको छ ।
त्यसमाथि छानबिन गरी ७ गते राति ११ बजेसम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरू हुनेछ र दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
८ गते साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । उम्मेदवारविरूद्ध दाबी विरोधका लागि साँझ ६ देखि ७ बजेसम्मको समय तोकिएको छ ।
बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ । सोही रात ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पहिलो चरणको मतदान ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यतालिका छ । मतदान सम्पन्न भएको दुई घन्टापछि पहिलो चरणको मतपरिणाम घोषणा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनु भएको छ । उहाँका अनुसार दोस्रो चरणको उम्मेदवारी र अन्य थप निर्वाचन कार्यक्रम भने त्यसपछि प्रकाशन हुने भएको छ ।
पहिलो राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित १५८ केन्द्रीय समिति चयन गर्नेछ ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवशेनका आजदेखि चितवनमा रास्वपाको महाधिवेशन सुरू हुँदैछ । आज दिउँसो २ बजे भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ ।
प्रकाशित मिति २०८३ असार ७, आईतवार ०८:३२ गते