
सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ७, कटरबोटमा स्थानीयले नुहाउने साबुन उत्पादनमा जुटेका छन् । उहाँ स्थित दिदीबहिनी कृषक समूहले आफ्ना सदस्यहरूको आय आर्जन वृद्धि गर्ने उद्देश्यले तालिम दिएर साबुन उत्पादन सुरु गरेको हो ।
कच्चा पदार्तको रुपमा निम, पाती, घ्यु, बेसन र मह प्रयोग गरी नुहाउने साबुन उत्पादन तथा बिक्री–वितरण सुरु गरेको दिदीबहिनी कृषक समूहकी अध्यक्ष बालकुमारी गुरुङले बताउनु भयो । उहाँका अनुसार स्थानीय स्रोत–साधनको उपयोग गर्दै गुणस्तरीय साबुन उत्पादन कार्य थालिएको हो । उत्पादनको प्रयोगकर्ताहरूबाट राम्रो प्रतिक्रिया आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब हर्पिक र फिनेल पनि उत्पादन गर्ने तयारी भइरहेको छ ।’
साबुन उत्पादनअघि त्यो समूहले मसलाजन्य सामग्री र तरकारी उत्पादन गरेको थियो । अदुवा, घिरौला, बोडी, काक्रो लगायतका तरकारी उत्पादन गरी स्थानीय बजारमा बिक्री–वितरण गर्दै आएकोमा त्यो कार्यलाई सुचारु राख्दै समूहले थप काम गर्ने तयारी गरको हो ।
यसप्रकार कृषि उत्पादन र घरेलु उद्योगलाई सँगसँगै अघि बढाउँदै सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको समुहका सदस्य गोमा घलेले बताउनु भयो । उहाँका अनुसार समूहमा २७ जना सदस्य हुनुहुन्छ, उहाँहरू सबैले तरकारी उत्पादन गरिरहनु भएको छ । ऐले सावुन उत्पादनमा लाग्नेहरू १० जना हुनुहुन्छ उहाँले जानकारी दिनुभयो ।
दिदीबहिनी कृषक समूहबाट उत्पादन भएको सावुन निकै राम्रो लागेको स्थानीय मेनुका श्रेष्ठले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८३ असार ७, आईतवार १०:०७ गते