
कटहरबारी(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट स्थित कटहरबारी टोलमा बाह्रमासे कटहरका विरुवा रोपण गरिएको छ । स्थानीय कटहरबारी गाउँलाई कटहरको बगैंचा बनाउने लक्ष्य अनुसार स्थानीय रुद्र मा.वि.लाई समेत सहभागी गराई असार ७ गते कटहरका बिरुवा रोपण शुभारम्भ गरिएको हो ।
सर्वोदय सेवाश्रम धर्मनाथ धामको आयोजना लुम्बिनी विश्व शान्ति मञ्चको समन्वय संकल्पमा, कुमारी बैंक लिमिटेडको सहयोगमा राइनास नगरपालिका– ८ हर्राबोट कटहरबारी स्थित कटहरबारी सामुदायिक वन उपभोक्ता समितिसंगको सहकार्यमा राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनालको प्रमुख आतिथ्यतामा ती विरुवा रोपण कार्य भएको हो । उपमेयर खनालले कटहरको बिरुवा रोपेर उक्त कार्यको शुभारम्भ गर्नु भयो ।
कटहरबारी स्थित सर्वोदय सेवाश्रमको जग्गामा प्रमुख अतिथि उपमेयर खनाललगायत लुम्बिनी विश्वशान्ति मञ्चका संस्थापक बासु गौतम, कुमारी बैंकका बेसीशहर शाखाका प्रमुख रघुनाथ लौडारी र ठाँटीपोखरीका शाखा प्रमुख विनय अधिकारीसहित कर्मचारी, अमेरिकन पिस्कोर स्वयंसेवक सरिता, सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियालगायतका पदाधिकारीबाट कटहरको बिरुवा रोपिएको थियो । उहाँका अनुसार ती विरुवा लुम्बिनी विश्व शान्ति मञ्चले निःशुल्क रुपमा तराईका नर्सरीबाट उपलब्ध गराएको हो । उहाँले भन्नुभयो, ‘यो कटहरको बोट माझौला खालको हुन्छ, दुई सिजनमा यो फल्छ, जाडो मौसममा खासगरी तरकारी खानका लागि उपायोग ह्ुन्छ ।’ एक विरुवाको शुल्क एक सय रुपैयाँ पर्ने रहेछ उहाँले भन्नुभयो ।
कटहरबारी गाउँका प्रतिघर १० बोट हुर्काउने गरी पाँच सय विरुवाको प्रवन्ध गरिएको ओलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एकै ठाउँमा लगाउँदा करिब ४५ रोपनी जग्गा भरिने हो, तरगाउँ, सामुदायिक वन, त्यही रहेको सर्वोदय सेवाश्रमको जग्गामा ५० बोट रोपण गरिएको छ ।’
उक्त कार्यक्रममा अतिथिहरू लगायत कटहरबारी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू, रुद्र मा वि का कक्षा– ८ का विद्यार्थी तथा शिक्षक र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । सो अवसरमा कटहरबारी सामुदायिक वन उपभोक्ताहरूलाई २/२ वटा र रुद्र मा वि का कक्षा ८ का विद्यार्थीहरूलाई २/२ वटा गरी कुल दुई सय बिरुवा वितरण गरिएको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार रुद्र मा.वि.का विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा अनुसार बिरुवा उपलब्ध गराइएको छ । उहाँले भन्नुभयो, ‘सर्वोदय सेवाश्रमको जग्गामा र कटहरबारी टोलमा बढी संख्यामा बगैंचा बनाउने गरी साँच सय बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।’
प्रकाशित मिति २०८३ असार ७, आईतवार १३:३६ गते