
भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले सुशासन र परिवर्तनका लागि रास्वपासँग आफ्नो विचार मिलेको बताएका छन् । कुनै दिन रास्वपा सिद्धान्त, दर्शन बिहीन छ भन्दै आलोचना गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले निकटता असार ७ गते देखाएका हुन् ।
पुराना राजनीतिक दलहरूले आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टीसँगै रहेको सन्देश दिन खोजेका हुन् ।
कांग्रेस रास्वपाको दुश्मन होइन, प्रतिस्पर्धी हो : गगन थापा
कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभई प्रतिस्पर्धी मात्र भएको बताउनु भयो । हामी अग्लो हुन चाहन्छौं,’ तर रास्वपालाई सानो बनाएर नभई आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा र अग्लो बन्ने कांग्रेसको चाहना रहेको स्पष्ट्याउनु भयो । रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको उहाँको अथन छ । थापाले भन्नुभयो, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’
कांग्रेसका सभापति थापाले जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ भन्नुभयो । उहाँले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्ना नेताहरूलाई भगवान् वा ‘बा’ बनाएर गल्ती नगर्न सुझाव दिनु भएको छ । थापाले कांग्रेसले विगतमा आफ्ना नेताहरूलाई देवत्वकरण गरेर गल्ती गरिसकेको स्वीकार गर्दै रास्वपाले त्यो गल्ती नदोर्होयाओस् भन्ने कामना गर्दै आफ्नै दलभित्र पनि प्रश्न उठाउन आग्रह गर्नु भयो । उहाँले आफ्नो पार्टी ‘दास र लासको पार्टी’ होइन भनेर कांग्रेसले समयमै भन्न नसक्दा ठुलो मूल्य चुकाउनुपरेको स्मरण गर्दै ‘गल्ती भएको बेला आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस राख्न रास्वपाका कार्यकर्ताहरूलाई आह्वान गर्नु भएको छ ।
शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि रास्वपाले फागुन २१ को निर्वाचनमा पाएको मतलाई सम्मान गरेर अझै १५÷२० वर्ष सरकार सञ्चालन गर्न शुभकामना दिनुभयो । उहाँले आफूले नेपालमा वैकल्पिक शक्तिको आवश्यक ठानेर नयाँ शक्तिको स्थापना गरेको पनि उल्लेख गर्नुभयो । उहाँले आफूले सुरु गरेको अभियानको संस्थागत रुप रास्वपा भएको पनि बताउनु भयो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो पार्टीसँग रास्वपाको तुलना गर्दै ‘तपाईंहरू र हाम्रा विषयमा कैयौं समानताहरू छन् । हामी दुवै शक्ति निरन्तरतालाई क्रम भंग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं ।’ भन्नुभयो । हालको नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी) पनि शान्ति प्रक्रियापछिको २०६४ सालको पहिलो संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा उदाएको हो ।
मैले आफैँले गत १०–११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ। अहिले म यो रास्वपालाई त्यही अभियानकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको छु । त्यसो भन्दा कतिपय साथीहरू, हाम्रो समाज अत्यन्तै न्यून चेतनास्तरको छ— ‘स्वार्थ के पाउन लाग्यो ? के ललिपप देखाइदियो ?’ भन्छन् । म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त ? सबैथोक प्राप्त गरेको मान्छे, तपाईंहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे । अनि मैले के ललिपप खाने यो उमेरमा ? म त ललिपप होइन, तपाईंहरू साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बीपी–पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान ग¥यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो । र, त्यसको अगुवा शक्तिको रूपमा रास्वपा जुन आएको छ, यसको निम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु पूर्वप्रधानमन्त्री भट्टराईले बताउनु भयो ।
एमालेका नेता प्रदीप ज्ञवालीले रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर रहेको बताउनु भयो । तपाईंहरू सेन्टरमा उभिनुस् वा राइट वा लेफ्टमा ढल्किनुस्, त्यो ठुलो कुरा होइन । मुख्य कुरा गरिखाने जनताका लागि केही गर्ने पार्टी बन्नुस् ।’ उहाँले भन्नुभयो ।
नेता ज्ञवालीले रवि लामिछाने सभापति र बालेन्द्र शाह वरिष्ठ नेता चयन हुनुभएकोमा बधाई ज्ञापन गर्दै महाधिवेशनले नेतृत्व मात्र नभई पार्टीको स्पष्ट नीति र कार्यदिशा तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
ज्ञवालीले रास्वपालाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् । उहाँले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गर्नुभयो । उहाँले गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताउनु भयो ।
यी पृष्ठभूमलाई एकै ठाउँमा राखेर नेता पुनले रास्वपा र आफूहरूको पार्टीलाई निरन्तरतालाई क्रमभंग गरेर आएको दल भनेका हुन् ।
पृष्ठभूमि भएपनि एजेण्डामा आफूहरू नजिक रहेको उनले बताए । विगतमा सरकारमा रहँदा सुशासनको पक्षमा काम गरेको पनि स्मरण गरे । ‘सुशासनको एजेण्डामा नेकपा र रास्वपा जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन’ उहाँले भन्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि रास्वपा र आफूहरूले फरक मोर्चाबाट एउटै मुद्दा उठाउँदै आएको दावी गर्नुभयो । चुनावमा जनताले रास्वपालाई विश्वास गरेको स्मरण गर्दै उनले रास्वपासँगको निकटता देखाउने प्रयास गर्नुभयो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले त आफूले रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लाग्दा त्यो राजनीतिक प्रतिशोध भएको भनेर चलेको हस्ताक्षर अभियानमा सरिक भएको स्मरण गर्नुभयो ।
उहाँले रास्वपालाई जस्तै देश बनाउने हुटहुटी लिएर राजनीतिमा लागेको स्मरण गर्नुभयो । यहाँनेर उहाँले रास्वपा सभापति लामिछानेलाई कांग्रेसका संस्थापक नेता विपी कोइरालासँग तुलना गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले एउटा सार्वजनिक कार्यक्रममा भनेको थिँए । तपाईं विपी कोइरालापछिको नेता हुन सक्नुहुन्छ जसले यो देशलाई डोर्याउन सक्दछ’ राउतले भने, ‘तपाईं आन्दोलन गर्नेतिर लाग्नुहोस्, सत्तातिर नलाग्नुहोस् भनेको थिएँ ।’
प्रकाशित मिति २०८३ असार ७, आईतवार २०:३६ गते