
सुन्दरबजार(लमजुङ)– महिलाहरूलाई सीपमूलक धुप बनाउने तीन दिने तालिम यहाँ सुरु भएको छ । सुन्दरबजार सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तथा सुन्दरबजार नगरपालिकाको आर्थिक सहयोगमा सो तालिम असार ७ गते सुरु भएको हो ।
केन्द्रका संस्थापक अध्यक्ष राधादेवी श्रेष्ठले धुप निर्माण गरी सो तालिमको उदघाटन गर्नुभएको थियो । उहाँले तालिममा सहभागीहरूलाई गुणस्तरीय रुपमा बाटेको धुप बनाउने विधि, आवश्यक कच्चा पदार्थको छनोट, उत्पादन प्रक्रिया, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिने जानकारी दिनु भयो ।
सरस्वतीदेवी थापाले प्रशिक्षकको रूपमा सहजीकरण गरिरहनुभएको तालिममा सुन्दरबजार कृषि हाटबजार परिसरमा सुरु भएको केन्द्रका सदस्य श्यामका घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार तथा आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ३० जना महिलाहरूको सक्रिय रुपमा भाग लिनु भएको छ ।
सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन, घरेलु उद्योगको विकास गर्न तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहभागी तथा दिदीबहिनी कृषक समूहकी अध्यक्ष बालकुमारी गुरुङले तीनदिने तालिमपछि सहभागी महिलाहरूले व्यावसायिक रूपमा धुप उत्पादन गरी आयआर्जन गर्न सक्ने सीप हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, सहभागी मिना श्रेष्ठले यस्ता तालिमले महिलाहरूलाई स्वरोजगार बन्न प्रेरणा मिल्ने र सीप सिकेपछि उत्पादन गरी बिक्री– वितरण गर्न सहज हुने बताउनुभयो ।
प्रकाशित मिति २०८३ असार ७, आईतवार २१:०९ गते