Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपा महाधिवेशन : एक दिन थपियो, बन्द सत्र भोलि विहान मात्र, केन्द्रीय सदस्यमा चुनाव हुने निश्चित, अन्य पदमा के होला ?
केन्द्रीय समिति १५८ सदस्यीय हुन्छ, जसमा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुने प्रावधान छ । रास्वपामा ९९ केन्द्रीय सदस्य पदमा चुनाव हुनेछ भने बाँकी मनोनीत हो ।
केन्द्रीय सदस्यमा करिब एक हजार जना आकांक्षी देखिएका कारण सहमतिमा जान गाह्रो पर्ने स्थिति छ ।
भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशनको समय एक दिन लम्बिने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशन असार १० गते(बुधबार)सम्म चल्ने जानकारी दिनु भएको हो । यसअघि ९ गते अधिवशेन सम्पन्न गर्ने कार्यतालिका थियो । आज बिहान ९ बजे हुने भनिएको बन्द सत्र पटक पटक सारिँदै आएकोमा अन्ततः स्थगित गरिएको हो ।
कार्यतालिका अनुसार हिजो उदघाटन सत्र निर्विवाद रुपमा सम्पन्न भए पनि आज ८ गते बिहानबाट सुरु हुने भनिएको बन्दसत्र सुरु नै हुन सकेन् । प्रतिनिधिको विवाद समाधानमा ढिलाइ हुँदा बन्द सत्र सुरु हुन नसकेको हो । बन्दसत्र आजलाई स्थगित गरेर भोलि ९ गते मात्रै सुरु हुने भनिएको छ । आज शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधिको विवादका कारण भोलिका लागि सारिएको हो । बन्द सत्रको कार्यक्रम पर सर्ने अवस्था सिर्जना भएपछि महाधिवेशनको अवधि पनि थप गरिनु परेको प्रवक्ता झाको भनाइ छ ।
प्राविधिक कारणले प्रतिनिधिहरूको नामावली रुजु र परिचय पत्र छपाईमा सोचेभन्दा बढी समय लागेकोले आजको कार्यतालिका प्रभावित भएको बताइएको छ । महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकोले प्रक्रियागत रूपमा कुनै पनि विवाद नआओस् भन्ने हेतुले सुक्ष्म ढंगले काम गर्दा समय लागेको पार्टीको भनाइ छ ।
भोलि बिहान ७ बजेदेखि वितरण गरिने र कार्ड वितरणको कार्य सम्पन्न भएलगत्तै बन्द सत्रको औपचारिक कार्यक्रम सुरु गरिने पार्टीले जनाएको छ । आजसम्म तीन हजार कार्ड छपाइ भइसकेको रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनु भयो । उहाँका अनुसार भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ । बन्दसत्र प्रभावित भएसँगै निर्वाचन कार्यतालिकामासमेत असर परेको छ ।
बन्द सत्रको समय परिवर्तनका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै रास्वपाले सबैलाई धैर्यता र सहयोगका लागि अपिल समेत गरेको छ । महाधिवेशन प्रतिनिधि सङ्ख्या ४५ सय पुग्ने :
रास्वपाको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या बढेको छ । जारी महाधिवेशनमा ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भएको पार्टीका सांसद एवं नेता मनिष झाले जानकारी दिनु भएको छ । उहाँका अनुसार यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने र प्रवासबाट अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता देखिन आयो ।
रास्वपामा १८२ जना सांसद छन् । महधिवेशन आयोजक समितिमा नरहेका सांसदहरू स्वतः महाधिवेशन प्रतिनिधि रहने विधानको व्यवस्था छ । तर कतिपय सांसदको नाम सूचीमा देखिदैन । ती सांसदहरू अहिले सूचीमा नाम राख्न दाबी विरोध गरिरहेका छन् । बिहान खाजाको बन्दोबस्तमा ढिलाइले पनि बन्दसत्र प्रभावित बनेको थियो ।
आजको बन्द सत्र सुरूमा डेढ घन्टा सारिएको थियो । त्यसपछि फेरि एक घन्टा थप गरियो । त्यसपछि बन्द सत्र कति बेला सुरू गर्ने भन्नेबारे आधिकारिक जानकारी दिइएन । बन्द सत्रका लागि तयार रहेकाहरू बन्द सत्रको हल खचाखच भरिएको छ भने बन्द सत्र बाहिरको परिसरमा पनि नेता÷कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति छ । हलभित्र सहभागी रहेकाहरू कोही नाचगान गरेर फुर्सद काटिरहेका छन्, कोही आपसमा गफ गर्ने, कोही थकाइ र गर्मीले आलसतालस भएर भुइँमा पल्टिरहेका पनि देखिन्थे । केन्द्रीय समिति र पदाधिकारीमा चुनाव होला ?
यसैबीच, केन्द्रीय समिति र पदाधिकारीमा चुनाव हुने कि नहुने भन्ने पनि अन्यौल नै छ । रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि चुनाव हुन्छ । अहिलेसम्मको अवस्थामा सभापतिमा रवि लामिछाने नै दोहोरिने निश्चित देखिएको छ ।
सभापति पदमा उम्मेदवारी दिन ५१ जना समर्थक र एक जना प्रस्तावक र ५१ हजार शुल्क लाग्छ । यति धेरै समर्थक जुटाउन जोकोही नेतालाई मुश्किल पर्ने प्रतिनिधिहरूको भनाइ छ ।
त्यसपछि पदाधिकारी बन्न सबभन्दा पहिला केन्द्रीय समितिको निर्वाचन जित्नुपर्छ ।
केन्द्रीय समिति १५८ सदस्यीय हुन्छ, जसमा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुने प्रावधान छ । रास्वपामा ९९ केन्द्रीय सदस्य पदमा चुनाव हुनेछ भने बाँकी मनोनीत हो ।
एक प्रतिनिधिले भने, ‘जो भेट्यो त्यो नेता केन्द्रीय सदस्यमा उठेको छु भनेर भोट मागिरहेका छन्, पदाधिकारी हुन पनि केन्द्रीय सदस्य बन्नुपर्ने भएकोले धेरै नेताहरू केन्द्रीय सदस्य पदमा उम्मेदवार छन् ।’ केन्द्रीय सदस्यमा हजार जनाभन्दा बढी आकांक्षी देखिन्छन् । तिनलाई रोकेर सहमतिमा केन्द्रीय सदस्य छान्न कठिन छ । तर केन्द्रीय सदस्यमा चुनाव गर्दा माथि पदाधिकारीमा पनि गर्नुपर्ने दबाब पनि छ ।
गत फागुन २१ को निर्वाचनअघि विभिन्न समूहबाट रास्वपामा समाहित भएकाहरूलाई पदाधिकारीमा समेटिन्छ कि समेटिँदैन भन्ने प्रश्न पेचिलो बनेको छ । रास्वपामा सबैभन्दा पहिला विवेकशील साझाको समूह रास्वपामा समाहित भएको हो । त्यसपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको समूह समाहित भयो । लगत्तै खगेन्द्र सुनार नेतृत्वको हामी नेपाल पार्टीको समूह र थरूहट आन्दोलनका लक्ष्मण थारूको समूह समायोजन भएको थियो ।
यी चार समूहमध्ये पूर्व विवेकशील साझा समूहबाट समीक्षा बाँस्कोटाले उपसभापतिमा दाबेदारी छ भने रञ्जु दर्शना र पुकार बमले महामन्त्री वा सह–महामन्त्रीमा दाबेदारी गरेको स्थिति छ ।
त्यस्तै, बालेन शाहको समूहबाट भूपदेव शाहको महामन्त्रीमा र सुनील लम्सालको सह–महामन्त्रीमा दाबेदारी छ ।
महामन्त्रीमै कबिन्द्र बुर्लाकोटी, बिपिन आचार्य र मनिष झाको पनि दाबी छ ।
पदाधिकारीमा त्यस्ता विभिन्न समूहबाट आएकाहरूलाई समेटेर लैजान यसपालि सहमति गरेर जाने कोसिस भइरहेको एक नेताले जानकारी दिए । केन्द्रीय सदस्यमा करिब एक हजार जना आकांक्षी देखिएका कारण सहमतिमा जान गाह्रो पर्ने उनले पनि स्विकार गरेका छन् ।
बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिएको हो । रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।
चितवनमा जारी महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले हिजो असार ७ गते उद्घाटन गर्नु भएको हो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..