रास्वपा महाधिवशेन : दिउँसो २ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका सार्वजनिक, समर्थकका कारण उम्मेदवार घट्ने संकेत

रास्वपा महाधिवशेन : दिउँसो २ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका सार्वजनिक, समर्थकका कारण उम्मेदवार घट्ने संकेत

एजेन्सी

@antaranganews

२०८३ असार ८ गते मङ्गलबार ०१:०५

रास्वपाको संशोधित विधान अनुसार १५१ जनाको केन्द्रीय समिति हुनेछ । महाधिवेशनबाट ९९ जना निर्वाचित केन्द्रीय सदस्य आउने छन् भने सभापतिलाई मनोनित गर्ने अधिकार ५१ जना छुट्याइएको छ । विधान अनुसार १९ पदाधिकारीको व्यवस्था गरिएको छ । सभापति, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना पदाधिकारी हुनेछन् । सर्वसम्मत हुने अवस्था बन्न नसके उपसभापति १, महामन्त्री १, सहमहामन्त्री ३ जनामा निर्वाचन हुनेछ ।

अहिलेसम्म महाधिवेशन प्रतिनिधि संख्या ४३ सय नाघेको छ । तीमध्ये झन्डै हजार जना केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् ।

भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र तेस्रो दिन असार ९ गते दिउँसो २ बजे मात्र सुरु हुने भएको छ । बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका आजै सार्वजनिक गरिएको छ ।
बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य सुरु भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भयो । उहाँका अनुसार दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ ।
उहाँले भन्नुभयो, ‘बन्दसत्र सुरु भएलगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।’ रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिएको महामन्त्रीको भनाइ छ ।
पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराउने कार्य सम्पन्न भएपछि मात्र बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गनुर्् हुनेछ । घोषित तालिका अनुसार दिउँसो २ः१० बजे अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ, २ः३० बजे कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । दिउँसो ३ः०० बजे पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेपछि ती प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच विस्तृत छलफल गराइने छ ।
अपराह्न ३ः४५ बजे पार्टीका सहमहामन्त्री विपिन आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् र त्यसलाई बन्द सत्रबाट अनुमोदन गराइनेछ ।
विधान संशोधनपछि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा हेरिएको महत्त्वपूर्ण अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले बेलुकी ४ः४५ बजे प्रस्तुत गर्ने कार्यक्रम छ ।
आजको बन्द सत्रको अन्तिम चरणमा साँझ ५ः१५ बजे पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै बेलुकी ६ः३५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने छन् र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ ।
बन्दसत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको गठनको घोषणा गर्नु हुनेछ । त्यससँगै आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने छ । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समयतालिका प्रकाशन गर्नेछ, त्यसपछि मात्र नेतृत्व चयनको प्रक्रिया निरन्तर अगाडि बढ्ने पार्टीको भनाइ छ ।
उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने : उम्मेदवार घट्ने संकेत
यसैबीच, रास्वपा निर्वाचन आयोगले एक सूचना जारी गरेर उम्मेदवारको प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने जनाएको हो । निर्वाचन आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ । यस्तै अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्ताव र २१ जना समर्थक चाहिन्छ । त्यस्तै, रास्वपाको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ बुझाउनु पर्दछ ।
प्रस्तावक र समर्थकहरुको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनुपर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ नियमले एक जनाका लागि २२ जनाको उम्मेदवारी रोकिने स्थिति उत्पन्न भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दिन चाहने व्यक्तिले एक जना प्रस्तावक र २१ जना समर्थकसहित २२ जना महाधिवशेन प्रतिनिधि जुटाउनुपर्नेछ । ती २२ जनाले आफू उम्मेदवारी दिन पाउने छैनन् ।
उम्मेदवारका प्रस्तावक र समर्थकहरूका लागि लागू गरिएको नियमले केन्द्रीय सदस्यमा बढ्दै गएको आकांक्षीहरूको लर्को कटौती हुने संकेत देखिएको छ । रास्वपाको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी लगातार बढ्दै गएपछि त्यसलाई कटौती गर्ने उद्देश्यले यो नियम ल्याइएको नेताहरूको भनाइ छ ।
अहिलेसम्म महाधिवेशन प्रतिनिधि संख्या ४३ सय नाघेको छ । तीमध्ये झन्डै हजार जना केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् ।
एक जनाको प्रस्तावक बसेपछि अर्को व्यक्तिको प्रस्तावक बस्न पाइँदैन तर समर्थक बस्न भने रोक लगाइएको छैन । प्रस्तावक र समर्थक हुने व्यक्ति पार्टीको महाविधेशन प्रतिनिधि भएकै हुनुपर्दछ ।
रास्वपाको संशोधित विधान अनुसार १५१ जनाको केन्द्रीय समिति हुनेछ । महाधिवेशनबाट ९९ जना निर्वाचित केन्द्रीय सदस्य आउने छन् भने सभापतिलाई मनोनित गर्ने अधिकार ५१ जना छुट्याइएको छ ।
विधान अनुसार १९ पदाधिकारीको व्यवस्था गरिएको छ । सभापति, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना पदाधिकारी हुनेछन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र एक उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत चयन हुने बताइएको छ ।
रास्वपाको विधान अनुसार पदाधिकारीका अन्य पदमा पनि सर्वसम्मत बनाउने प्रयत्न भइरहेको छ । सर्वसम्मत हुने अवस्था बन्न नसके उपसभापति १, महामन्त्री १, सहमहामन्त्री ३ जनामा निर्वाचन हुनेछ ।
रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापति र निर्वाचनबाट आउने केन्द्रीय सदस्यका लागि मतदान गर्नुपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यमा निर्वाचित भएर पदाधिकारीमा प्रतिस्पर्धा गर्न नेताहरूले मत माग्ने कार्यलाई तीव्रता दिएका छन् ।
महाधिवेशनको व्यवस्थापन पक्ष फितलो हुँदा र समय लम्बिदै जादा प्रतिनिधिहरूमा चिन्ता छाउन थालेको छ । उम्मेदवार दर्ता र निर्वाचन प्रक्रियामा जाँदा पनि कार्यतालिका यसै गरी प्रभावित भयो भने प्रतिनिधिको बसाईं थप लम्बिन सक्ने स्थिति छ ।
बन्दसत्र भरतपुरको उद्योग सङ्घ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।

प्रकाशित मिति २०८३ असार ९, मंगलवार १३:०५ गते
हजुरको प्रतिक्रिया