
भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँ जारी पहिलो महाधिवेशनबाट लामिछाने अध्यक्ष पदमा निर्विरोध रुपमा असार ९ गते निर्वाचित हुनु भएको हो ।
सभापति पदमा रविको मात्रै उमेदवारी परेपछि निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । उहाँको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रहनु भएको थियो । रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ । त्यसको परिणाम आएपश्चात पदाधिकारीहरूको चुनाव हुन्छ ।
केन्द्रीय सदस्यका मतदान तयारी :
रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत ऐले बिहानबाट केन्द्रीय सदस्य पदमा मतदान हुने कार्यतालिका छ । केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक संशोधन गरेर जारी गरेको निर्वाचन कार्यतालिकामा गत रातभरिमा निर्वाचन प्रक्रिया सम्पन्न गरेर असार १० गते बिहान मतदान सुरू गर्ने उल्लेख छ । तर समय भने उल्लेख छैन । केन्द्रीय सदस्यका उम्मेदवारको रुजु प्रक्रिया जारी रहेको हुँदा अन्तिम नमावली प्रकाशन हुन सकेको छैन । त्यसैले मतदानको समय निर्धारण हुन नसकेको बताइएको छ ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको काम रातभरिमा सम्पन्न गरिने उल्लेख थियो । मौन अवधि सुरू भएको निर्वाचन आयोगले जारी रहेको छ । केन्द्रीय सदस्यका उम्मेदवारको रुजु प्रक्रिया जारी रहेको आयोगका प्रमुख भुवन केसीले बताउनु भयो ।
केन्द्रीय सदस्यका लागि हिजो साँझ ७ः३० देखि बेलुकी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता सकिएलगत्तै राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन, राति १०ः३० बजेसम्म उम्मेदवारहरू विरूद्ध दाबी–विरोध गर्ने समय दिइएको थियो ।
प्राप्त दाबी विरोधमाथि राति ११ बजेसम्म जाँचबुझ गरिने र उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ११ः१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको थियो । आजै राति ११ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सोही समयदेखि मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।
संशोधित विधान अनुसार केन्द्रीय समिति १५८ सदस्यको हुनेछ, जसमध्ये ९९ जना निर्वाचनबाट छानिने छन् । मतदान सम्पन्न भएको दुई घन्टापछि पहिलो चरणको मतगणना सुरू गरी मतपरिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
पहिलो चरणको परिणाम आएपछि दोस्रो चरणमा पदाधिकारीहरूको चुनाव हुनेछ । यसका लागि अर्को निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगको भनाइ छ ।
प्रकाशित मिति २०८३ असार १०, बुधबार ०७:१२ गते