
काठमाडौं– पूर्वउपप्रधान, अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी दोमाया पौडेलद्वारा बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न असार १० गते माग गरिएको हो ।
पौडेल पत्नी दोमाया पौडेलले रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको दाबीसहित थुनामुक्तिको माग गरिएको छ । पौडेललाई विशेष अदालतबाट हिजोमात्र सात दिनको थुना म्याद थप भएको थियो । सो रिटमा भालि ११ गतेका लागि सुनुवाइको पेसी तय भएको छ ।
सो रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरणकै अनुसन्धानको क्रममा पुर्पक्षको लागि थुनामा रहेका दिपक भट्टको सेयर कारोबारमा उपाध्यक्ष पौडेललाई पनि जोडेर अनुसन्धानका लागि असार ८ गते प्रहरीले पक्राउ गरेको थियो । पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै विशेष अदालतको आदेशले अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद प्रहरीलाई दिएको छ ।
प्रकाशित मिति २०८३ असार १०, बुधबार २१:०१ गते