मर्स्याङदी गाउँपालिकाद्वारा फुटबल तथा भलिबलका २५ खेलाडी सम्मानित

मर्स्याङदी गाउँपालिकाद्वारा फुटबल तथा भलिबलका २५ खेलाडी सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १० गते बिहिबार १२:३२

‘महिला पुरुष गरी २५ जना सम्मानित भएकोमा, फुटबलमा पाँच जना महिला समेत १८ तथा भलिबलतर्फ महिला चार जना गरी सात जनालाई सम्मान गरिएको हो ।’ गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनु भएको छ ।

प्रति खेलाडी नगद १०/१० हजार रुपैयाँ र १० हजार रुपैयाँ बराबरका सामग्रीहरू वितरण गरिएको हो ।

भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका भित्रका २५ जना खेलाडीहरूलाई सम्मान गरेको छ । गाउँपालिकाले उक्त गाउँपालिकामा स्थायी बासिन्दा भई विभिन्न तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका फुटबल तथा भलिबलका २५ जना खेलाडीहरूको प्रोत्साहनका लागि असार १५ गते सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा राष्ट्रकवि माधवप्रसाद घिमिरे सभाहलमा आयोजित कार्यक्रममा ती खेलाडीलाई सम्मान गरिएको हो । खेलाडीहरूलाई जुत्ता, जर्सी, ट्र्याकसुट, झोला, सक्स लगायतका खेल सामग्रीसँगै नगद रकम वितरण गरिएको थियो । कार्यक्रममा फुटबल र भलिबल विधाका २५ जना खेलाडीलाई खेल सामग्री तथा नगदसहित प्रोत्साहन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । चालु आवको स्विकृत कार्यक्रम अन्तरगत खेलाडीहरूलाई सम्मान गरिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रति खेलाडी नगद १०/१० हजार रुपैयाँ र १० हजार रुपैयाँ बराबरका सामग्रीहरू वितरण गरिएको हो । उनले भने, ‘महिला पुरुष गरी २५ जना सम्मानित भएकोमा, फुटबलमा पाँच जना महिला समेत १८ तथा भलिबलतर्फ महिला चार जना गरी सात जनालाई सम्मान गरिएको हो ।’
सो अवसरमा ती सामग्री वितरण पछि गाउँपालिकाका अध्यक्ष गुरुङले खेलकुद युवाहरूको क्षमता विकास, अनुशासन, नेतृत्व विकास तथा स्वस्थ समाज निर्माणको महत्वपूर्ण माध्यम भएको हुँदा खेलाडीहरूको हौसला अभिवृद्धि गर्न यो कार्यक्रम गरिएको हो भन्नुभयो । उहाँका अनुसार स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर आफ्नो उत्कृष्ट प्रतीभा प्रदर्शन गरेका खेलाडीहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो । अध्यक्ष गुरुङले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गाउँपालिकाले यस कार्यक्रमले खेलाडीहरूको मनोबल वृद्धि गर्नुका साथै खेलकुद क्षेत्रप्रति स्थानीय सरकारको प्रतिबद्धता झल्काएको रुपमा लिइएको छ ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, जिल्ला तथा पालिका खेलकुद विकास समितिका पदाधिकारी, खेलाडीहरूका साथ खेलप्रेमीहरूको भारी संख्यामा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८३ असार ११, बिहीबार १२:३२ गते
हजुरको प्रतिक्रिया