रास्वपा महाधिवेशन : उपसभापतिमा सोबिता र महामन्त्रीमा विपिनकुमार आचार्य विजयी

रास्वपा महाधिवेशन : उपसभापतिमा सोबिता र महामन्त्रीमा विपिनकुमार आचार्य विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ११ गते शुक्रबार ०८:१९

रास्वपा केन्द्रीय सदस्यका लागि भएको पहिलो चरणको मतदानमा दुई हजार ९५९ मत खसेको थियो । तर पदाधिकारीका लागि भएको मतदानमा भने एक हजार २८९ मत मात्र खसेको थियो ।

रास्वपाको महाधिवेशन ६ दिनदेखि यहाँ जारी छ । असार ७ गतेदेखि जारी रास्वपाको महाधिवेशन आज नवनिर्वाचितहरूलाई शपथ खुवाउँदै समापन गर्ने तयारी छ ।

भरतपुर(चितवन)– रास्वपा उपसभापति पदमा सोबिता गौतम र महामन्त्रीमा विपिनकुमार आचार्य विजयी हुनु भएको छ । केही बेर अघि घोषणा भएको मत परिणाम अनुसार असार १२ गते त्यस्तो घोषणा गरिएको हो । आज ५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।
उपसभापति पदकी उम्मेदवार डा. तोसिमा कार्कीलाई हराउँदै सोबिता निर्वाचित हुनु भएको हो । पदाधिकारीका लागि आज यहाँ निर्वाचन भएको हो । आजको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित हुनु भएको घोषणा गरिएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले बताएको छ । उपसभापतिमा विजयी हुनु भएकी सोबिता प्रतिनिधि सभा सांसद र कानुन मन्त्री समेत हुनुहुन्छ । उहाँ यसअघि सांसद हुनुका साथै पार्टी सचिवालय सदस्य हुनुहुन्थ्यो ।
केन्द्रीय सदस्यमा सोबिताले दुई हजार ६४१ मत तथा तोसिमाले दुई हजार ३०२ मत पाउनु भएको थियो ।
पार्टीको संशोधित विधान अनुसार पदाधिकारी संख्या १९ जनाको छ । यसमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुने व्यवस्था छ । निर्वाचन हुने पदाधिकारीमा एक उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह–महामन्त्री (खुला) र एक महिला सह–महामन्त्री छन् ।
रास्वपामा ३ जना उपसभापति रहने व्यवस्था छ । उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध हुनु भएको छ । अर्को एक जना मनोनीत हुन बाँकी छ ।
पदाधिकारीका लागि भएको मतदानमा एक हजार २८९ मत खसेको थियो । मतदान नगरी प्रतिनिधिहरू फर्किएका कारण पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।
रास्वपा केन्द्रीय सदस्यमा दुई हजार ९५९ मत खसेको थियो ।
यसैगरी, महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित हुनु भएको छ । सो पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो ।
महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनु भएको थियो । महामन्त्री जितेका आचार्य यसअघि सहमहामन्त्री हुनुका साथै प्रतिनिधि सभा सांसद हुनुहुन्छ ।
निर्वाचित भएलगत्तै उहाँले तीन दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण पाँच दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि मागे । उहाँले रास्वपालाई चुनावमा नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् । महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा प्रत्यासी हुनुहुन्थ्यो । सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी हुनु भएको छ ।
सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रत्यासी हुनुहुन्थ्यो ।
दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन् :
रास्वपा पदाधिकारी चुनावमा ७० प्रतिशतभन्दा बढीले मतदान नगरेको खुलासा भएको छ । रास्वपाको पदाधिकारीका लागि भएको मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो । त्यसो त केहीले मतदान गर्न नपाएको भन्दै अधिवेशन स्थलमा धर्ना समेत दिएको बताइएको छ ।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भएको पदाधिकारी निर्वाचनमा ३० प्रतिशतभन्दा कम मत खसेको छ । केन्द्रीय सदस्यको भन्दा एक हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् । रास्वपाले महाधिवेशन प्रतिनिधिको औपचारिक तथ्यांक सार्वजनिक नगरे पनि चार हजार ३११ जना प्रतिनिधि रहेको बताइएको थियो । यही संख्यालाई आधार मान्ने हो भने पदाधिकारी निर्वाचनमा ३ हजारभन्दा बढीले मत नहालेको स्थिति छ । महाधिवेशन प्रतिनिधिहरूको तुलनामा अहिलेसम्म खसेको मत संख्या झन्डै ३० प्रतिशत मात्र हुन्छ ।
दोस्रो चरणको मतदानमा यति ठूलो संख्यामा प्रतिनिधिहरू किन भोट खसाल्न आएनन् भन्ने यकिन छैन । केही नेताले महाधिवेशन अवधि लम्बिँदै गएकाले बसोबास व्यवस्थापन गर्न अप्ठ्यारो परेर धेरै प्रतिनिधि फर्किएको हुनसक्ने बताएका छन् ।
महाधिवेशन प्रतिनिधिलाई आयोजक समितिकोतर्फबाट खाना र खाजाको प्रवन्ध गरिएता पनि लजको प्रवन्ध भने आफैले गर्नु पर्दथ्यो ।
रास्वपाको महाधिवेशन ६ दिनदेखि यहाँ जारी छ । असार ७ गतेदेखि जारी रास्वपाको महाधिवेशन आज नवनिर्वाचितहरूलाई शपथ खुवाउँदै समापन गर्ने तयारी छ ।

प्रकाशित मिति २०८३ असार १२, शुक्रबार २०:१९ गते

हजुरको प्रतिक्रिया