
काठमाडौँ– मुलुकमा मनसुन क्रमशः सक्रिय हुन थालेको छ । फलस्वरुप भोलि र पर्सी अर्थात असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने सम्भावना बढेको असार १४ गते साँझ सार्वजनिक गरिएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै उक्त पूर्वानुमान सहितको जानकारी दिएको हो । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि थप फैलिने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी (मुसलधारे) वर्षा हुने सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागले भनेको छ, गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा अबको ३–४ दिनमा मनसुन फैलिने सम्भावना रहेको छ ।
असार १४ देखि १७ गतेसम्ममा थप सक्रिय हुँदै (मनसुन) पश्चिम नेपालमा पुग्नेजस्तो देखिन्छ, असार १६ गतेदेखि १८ गतेसम्म थप सक्रिय हुने र मध्यमदेखि केही ठाउँमा भारी वर्षाको सम्भावनाले रोपाइँको वातावरण बनाउनेजस्तो पनि देखिन्छ भनिएको छ ।
महाशाखाले देशमा मनसुन प्रवेश गरिसके पनि सबै भूभागमा पुगेको छैन । कोसी, मधेस, वाग्मतीका सम्पूर्ण, गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानसम्म मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान जनाएको छ ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला–साना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
यो वर्ष यही असार ५ गते कोसी प्रदेशमा मनसुन प्रवेश गरेको थियो ।
प्रकाशित मिति २०८३ असार १५, सोमबार ०६:३६ गते