आज असार १५, पूर्णिमा तिथि : राष्ट्रिय धान दिवसका कारण अझेलमा

आज असार १५, पूर्णिमा तिथि : राष्ट्रिय धान दिवसका कारण अझेलमा

एजेन्सी

@antaranganews

२०८३ असार १४ गते सोमबार ०७:३८

यो वर्ष असार १५ गने मनाइने धान दिवसका दिन लोपोन्मुख ‘असारे भाका’को संरक्षण गर्नका लागि छायाँकंनको कार्यक्रम राख्ने तयारी गरेको थियो । तर पूर्णिमा तिथि परेको जानकारी आएपछि उक्त कार्यक्रम रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो ।

यो वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

लमजुङ– आज असार १५ गते वैदिक सनातन संस्कृति अनुसार पूर्णिमा तिथि परेको छ । तर राष्ट्रिय धान दिवसका कारण पूर्णिमा तिथिको महत्व भने अझेलमा परेको छ । पूर्णिमा तथा औंशीको दिनमा खेतबारीमा खन, जोत गर्न ढिंकी, जाँतो चलाउन हुँदैन भन्ने सांस्कृतिक मान्यता रहेको छ ।
पूर्णिमाको दिनमा चन्द्रमाबाट पृथ्वीमा अमृतको वर्षा हुने हुँदा पृथ्वीमा खनजोतका कार्य गर्न शास्त्रले निषेध गरेको पं. घनश्या सुवेदीले बताउनु भएको छ । उहाँका अनुसार खनजोत गर्दा अमृत पृथ्वीको माथिल्लो सतहमा सिंचित हुन पाउँदैन खनीखोस्री गरेको स्थानबाट पातालतर्फ जाने हुँदा त्यस्तो कार्यले देवताहरू र पितृहरू रिसाउछन्, जसका कारण अनिष्ट हुन्छ भन्ने शास्त्रमा उल्लेख छ । उहाँले भन्नुभयो, ‘देवता र पितृहरू रिसाउँदा अकाल मृत्यु हुने, भोकमरी पर्ने, खडेरी पर्ने जस्ता अनिष्ठ हुन्छन् भन्ने छ ।’
‘असारे भाका’को संरक्षण गर्नका लागि छायाँकंनको कार्यक्रम रद्द :
यो वर्ष ‘असारे भाका’को संरक्षणका लागि छायाँकंनको कार्यक्रम गर्ने तयारी गरेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालले असार १५ गते पूर्णिमा तिथि परेको थाहा पाएपनि सो कार्यक्रम रद्द गरेको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले लोपोन्मुख लोक संस्कृतिको संरक्षण अभियान सञ्चालन गरिरहेको छ । यो वर्ष असार १५ गने मनाइने धान दिवसका दिन लोपोन्मुख ‘असारे भाका’को संरक्षण गर्नका लागि छायाँकंनको कार्यक्रम राख्ने तयारी गरेको थियो । तर पूर्णिमा तिथि परेको जानकारी आएपछि उक्त कार्यक्रम रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको मूल उद्देश्य लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने हो । संस्कृतिकै महत्वको दिन पूर्णिमा परेर खनजोत गर्न हुन्न भनेपछि संस्कृतिका विरुद्धको कार्य कसरी गर्न सकिन्छ ? भन्ने भयो र कार्यक्रम नै रद्द गरियो उहाँले भन्नुभयो ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ :
यो वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।
आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बिच महोत्सव मनाउन लागिएको हो ।
कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ ।
जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सही रुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।
नेपालीहरू दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ ।
खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् ।
नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार (करिब ६७ प्रतिशत) धान खेतीमा आबद्ध छन् । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत भूभागमा धान खेती हुने गरेको छ ।
नेपालमा वार्षिक १० लाख टन धान अपुग :
नेपालमा वार्षिक १० लाख टन धान अपुग हुने गरेको छ । कृषि विभागका अनुसार पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा धानको क्षेत्रफल क्रमशः घट्दै गए पनि उत्पादकत्वमा भने सुधार आएको छ ।
आ.व. २०७६/७७ मा प्रतिहेक्टर ३.८० मेट्रिक टन रहेको उत्पादकत्व वृद्धि भई आव २०८१/८२ मा ४.१९ मेट्रिक टन पुगेको छ । पछिल्लो वर्ष १४ लाख २० हजार हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
नेपालको कुल आवश्यकता करिब ७० लाख मेट्रिक टन रहेको विश्लेषण छ । त्यसरी हेर्दा अझै वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने स्थिति छ ।

प्रकाशित मिति २०८३ असार १५, सोमबार ०७:३८ गते
हजुरको प्रतिक्रिया