
नौथर(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड ७२ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको छ । गाउँसभाको १९औँ अधिवेशनअन्तर्गत प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका आधारमा निर्माण गरिएको बजेट सर्वसम्मतिले असार १५ गते पारित गरेको हो ।
चालु तथा प्रशासनिक खर्चका लागि ८ करोड ६८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ । सो अनुसार स्वास्थ्य तथा आयुर्वेदतर्फ ५४ लाख ४६ हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ ७४ लाख ९५ हजार, कृषि तथा पशुपन्छी विकासतर्फ ४८ लाख तथा महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक र अपांगता लक्षित कार्यक्रमका लागि २८ लाख ९५ हजार रुपैयाँ छुट्याइएको छ । त्यस्तै, वडागत चालु तथा पुँजीगत कार्यक्रमका लागि ३ करोड ८३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनु भयो ।
उहाँका अनुसार न्यायिक समितिको सचिवालय तथा कानुनतर्फ ३ लाख ५० हजार, वन, वातावरण, विपद् व्यवस्थापन, पुनःस्थापना, राहत तथा उद्धारका लागि ६२ लाख ५० हजार र समपूरक कोषका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ७६ लाख ४ हजार रुपैयाँको आय–व्यय अनुमान गरेको थियो। जेठ मसान्तसम्म आन्तरिक आम्दानी ८६ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ भने वित्तीय समानीकरण अनुदानतर्फ अनुमानित बजेटको ९१.७ प्रतिशत मात्र निकासा भएको जनाएको छ ।
बजेटमा संघीय सरकारबाट प्राप्त हुने सशर्त चालु अनुदान २७ करोड ८० लाख, सशर्त पुँजीगत अनुदान ३० लाख, विशेष अनुदान १ करोड ५५ लाख र समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ समावेश गरिएको छ। प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख र विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिका स्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि १७ करोड ३३ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, चालु अवको खर्चतर्फ चालु शीर्षकमा विनियोजित ४० करोड ५९ लाख ५० हजार रुपैयाँमध्ये जेठ मसान्तसम्म २८ करोड १८ लाख ७५ हजार रुपैयाँ अर्थात् ६९ दशमलव ४३ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित १९ करोड १६ लाख १९ हजार रुपैयाँमध्ये ५ करोड ८९ लाख ५९ हजार रुपैयाँ अर्थात् ३० दशमलव ७७ प्रतिशत मात्रै खर्च भएको छ । यस अवधिसम्म कुल ३४ करोड ८ लाख ३५ हजार रुपैयाँ अर्थात् ५७ दशमलव ३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभाको सम्पन्न बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक– २०८३, विनियोजन विधेयक– २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन समेत पारित गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि आउँदो आर्थिक वर्ष २०८३/८४ का नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित विषयहरू असार १० गते प्रस्तुत गरिएको थियो । सोही अवसरमा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको समग्र विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगार प्रवद्र्धनका विषयमा समेटिएको छ ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरूले भाग लिनु भएको थियो ।
प्रकाशित मिति २०८३ असार १६, मंगलवार ०९:५२ गते